मौद्रिक नीतिको त्रैमासिक समीक्षाः व्यवसायीको मागअनुसार बैंक दर र नीतिगत दर घटाइयो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायीहरुको मागअनुसार बैंक दर र नीतिगत दरहरु घटाएको छ । चालु वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंक मौद्रिक नीतिमा लचकता अपनाउन तयार भएको हो । 

समीक्षा अनुसार बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको छ भने नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ । त्यस्तै, निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारिएको छ । 

Advertisement

यसले लगानी विस्तार गर्न र व्यवसायिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ । शेयर धितो कर्जा र घरजग्गा कर्जामा लचकता अपनाएको राष्ट्र बैंकले घरजग्गासम्वन्धी कर्जा र ५० लाख रुपियाँभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेको छ । 

पचास लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत कायम गरिएको छ । यसले निर्माण कार्यहरु बढाउन मद्दत गर्नेछ । साथै, भूकम्पले क्षति पुर्याएका घरहरुको लागि कर्जा सुविधाको व्यवस्था गरिएको छ । पच्चस लाखसम्मको आवासीय घर कर्जामा आधार दरमा दुई प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्था गरिएको छ ।

त्यसबाहेक बैंक तथा वित्तीय संस्थाले निष्काशन गर्ने डिवेञ्चरलाई २०८० पुससम्मको स्रोतको रुपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्थालाई संशोधन गर्दै ५० प्रतिशतसम्म गणना गर्न पाउनेगरी २०८१ असारसम्म समय लम्ब्याइएको छ । 

Advertisement

Advertisement