‘एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ नभएको भए सिधा कारबाही हुनुपर्थ्यो’

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ रहेको दावी गरेका छन् । 

शुक्रवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ भएको दाबी गर्दै राजनीतिक र प्रशासनिक नेतृत्वको भरथेग र भरोसा बिना एनसेलको शेयर खरिद बिक्री नभएको बताए । 

Advertisement

सरकारले छानबिन समिति बनाएको अवस्थामा सो समितिको काम, कारबाहीलाई राज्य व्यवस्था तथा सुशासन समितिले हेर्नुपर्ने थापाले बताए । उनले छानविन समितिले यो प्रकरणलाई ढाकछोप गर्नसक्ने भन्दै त्यसको अनुगमन संसदीय समितिले गर्नुपर्ने बताए । 

थापाले सो प्रकरणको ढाकछोप हुन खोजे संसदीय समितिले सो प्रयत्नलाई तोड्नुपर्ने बताए । उनले भने, ‘म के कुरा दाबाका साथ भन्नसक्छु, मेरो दाबा गलत हुनसक्छ कि एनसेलको सन्दर्भमा जे कुराहरु भएको छ, त्यो रातारात अहिले भएको होइन । यसमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ, ठूलो भरथेग, ठूलो भरोसा नभइकन यी प्रकरणहरु भएको छैन् । यो गलत हो भन्ने कुरा लागेको भए सरकारलाई, सिधा कारबाहीको कुरामा जानुपथ्र्यो । किनभने करको विषय भनेको त यति धेरै अधिकार दिएको आयकर ऐनले पनि, कर अधिकृतले पनि त्यसको बारेमा टुंगो लगाउन सक्छ ।’ 

थापाले थपे, ‘मन्त्रिपरिषद्ले निर्णय गरेर समिति बनाएको छ । अब बल समितिको कोर्टमा छ । समितिले हेर्छ । त्यो समितिले ठिक ढंगले काम गर्छ कि गर्दैन ? समितिको बनोटदेखि आफैँमा ठिक छ कि छैन ? यसलाई ढाकछोप गर्न पो समितिले लिएर जाने हो कि ? यो सबै फुस्सा बनाउनेतिर पो जाने हो कि भन्ने हो कि ? यसलाई कसले हेर्छ त ? यो समितिले हेर्नुपर्छ । सरकारले समिति बनाएर हेरेको हुनाले त्यो समितिलाई त्यसले ठिक ग¥यो कि गरेन, ठिक ढंगले गयो कि गएन ? न्यायोचित ढंगले हेर्नेगरी गएको छ कि छैन भनेर हेर्ने काम हाम्रो हो । यो विषय हाम्रो क्षेत्राधिकारभित्र आयो ।’

सांसद थापाले प्रमुख प्रशासकीय अधिकृतहरु नहुँदा स्थानीय तहको प्रभावकारितामा ठूलो असर परिरहेको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताए । 

Advertisement

Advertisement