सैन्य सन्धी भएका मुलुकबाहेक अरु देशको सेनामा नेपालीलाई भर्ना गर्ने सरकारको नीति छैनः परराष्ट्रमन्त्री

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले परम्परागत सैन्य सन्धी भएका मुलुकहरु भन्दा बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति नरहेको बताएका छन् । 

शुक्रवार बसेको संसदीय समितिको बैठकमा बोल्दै उनले रुस युद्धमा मारिएका नेपालीहरुको शव स्वदेश फर्काउन र सुविधा, सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि पहल भइरहेको बताए । 

Advertisement

साउदले कुनै पनि मानिस सेनाबाट छुट्टिएर बाहिर आएका खण्डमा पनि फिर्ता गराउने काम भइरहेको पनि बताए । उनले रुस जाने र सेनामा भर्ती हुने अधिकांशहरु विद्यार्थी भिसा, भिजिट भिसा र केही कामदार भिसामा गएको पाइएको बताए । 

मन्त्री साउदले जुन प्रयोजनले गएका हुन्, त्यो प्रयोजन बाहेक काम गरेको देखिएको हुनाले सरकारको तर्फबाट कन्सुलर डिपार्टमेण्टले दिने गरेर एनओसी लिनुपर्ने प्रवन्ध मिलाइएको बताए । 

उनले भने, ‘रुसमा नेपालीहरु भर्ना भएको सन्दर्भमा पनि केही साथीहरुले जिज्ञासा राख्नुभएको छ । रुसमा केही नेपालीहरु हताहत भएको बारेमा यो रुस सरकारले हाम्रो राजदुतावाससँग कन्भर्सेसन गरेको छ । कन्भर्सेसनपछि हामीले वक्तव्य नै निकालेर वक्तव्य दिइसकेका छौँ । हामीले केही परम्परागत सैन्य सन्धी भएका मुलुकहरु भन्दा बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति छैन् । जुन दिवंगत युद्धमा मारिएका व्यक्तिहरु छन्, उनीहरुलाई नेपाल फिर्ता गर्नको लागि पाउने सुविधा, सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि लेखि पठाइसकिएको छ ।’ 

साउदले थपे, ‘नेपालीहरु जुन सेनामा भर्ना भएका छन्, कति संख्यामा छन्, भर्ना भएका नेपालीलाई नेपाल फर्काउन आग्रह गरिसकेका छौँ । कुनैपनि मानिस सेनाबाट छुट्टिएर बाहिर आएका खण्डमा पनि फिर्ता गराउने काम भएरहेको छ । यसो डिटेल हेर्दा विद्यार्थी भिसामा, केही मानिसहरु भिजिट भिसामा र केही कामदार भिसामा गएको पाइएकाले जुन प्रयोजनले गएका हुन्, त्यो प्रयोजन बाहेक काम गरेको देखिएको हुनाले सरकारको तर्फबाट कन्सुलर डिपार्टमेण्टले दिने गरेर एनओसी लिनुपर्ने प्रवन्ध मिलाइएको छ ।’

Advertisement

Advertisement