यस्तो मौद्रिक नीति समयमै आइदिएको भए हजारौं साना व्यवसाय विस्तापित हुनुपर्थेन्ः ढकाल

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही हदसम्म लगानीकर्ताको मनोबल बढाउने र अर्थतन्त्र लयमा ल्याउन सहयोग पुग्ने दावी गरेका छन् । 

सुदूरपश्चिम महोत्सव २०८० को उद्घाटन कार्यक्रममा शनिबार उनले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका धेरै विषयहरु मौद्रिक नीतिको समीक्षामा समेटिएको र यसले लगानीकर्ता र निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने आशा व्यक्त गरे । 

Advertisement

ढकालले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा बैंक दर, नीतिगत दर, कर्जाको पुनरसंरचना र घर तथा शेयर कर्जामा लचकता अपनाएको देखिन्छ । यी विषयहरु हामीले विगत लामो समयदेखि निरन्तर उठाउँदै आएका थियौँ । राष्ट्र बैंकले अहिले आएर यसको सुनुवाई गरेको देखिन्छ । यसले लगानीकर्ताको मनोबल बढाउन, लगानी प्रवर्द्धन गर्न सहयोग गर्नसक्छ ।’

अहिले राष्ट्र बैंकले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्तापित हुन पर्थेन भन्दै उनले थपे, ‘निजी क्षेत्रको तर्फबाट उद्योग वाणिज्य महासंघले विगत लामो समयदेखि पटकपटक नेपाल राष्ट्र बैंकलाई अर्थतन्त्रलाई लयमा ल्याउन मौद्रिक नीतिमा विशेष व्यवस्था गर्न आग्रह गरेका थियौ । अहिले आएर हाम्रा मागको सम्बोधन भएको छ । ढिलो गरी आएको सम्बोधनले अर्थतन्त्रलाई लयमा ल्याउन के कति सहयोग गर्छ । त्यो हेर्न बाँकी नै छ । अहिले राष्ट्र बैंकले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्तापित हुन पर्दैन्थ्यो ।’ 

राज्यका निकायबीच समन्वयको अभावमा लगानीको वातावरण बन्न नसकेको ढकालको भनाई छ । उनले उनले अर्थतन्त्र लयमा ल्याउन सकिएन भनेर निजी क्षेत्रले आवाज उठाएको र त्यसलाई प्रधानमन्त्री आफैले सकारात्मकरुपमा लिई समन्वयकारी भूमिका निर्वाह गरेको बताए । 

ढकालले भनृे ‘राज्यका सबै निकायले राम्रो काम गरिरहेको बताइरहँदा पनि अर्थतन्त्र बिग्रिँदै गएको अवस्था थियो । हामी निजी क्षेत्रले यसलाई सम्बोधन गर्न प्रधानमन्त्रीज्यूलाई आग्रह गर्यौ । उहाँले सर्वपक्षीय छलफलको आयोजना गरी सम्वाद परिषद्लाई सक्रिय बनाउनुभयो । यसले निजी क्षेत्र र राज्यका निकायबिच समन्वय र सहकार्य सहज हुने अपेक्षा गरेका छौ ।’ 

उनले निजी क्षेत्र मुलुकभित्र लगानीको वातावरण बनाउन र लगानी प्रवर्द्धन गर्न प्रतिवद्ध रहेको बताए । ढकालले निजी क्षेत्रले प्रत्यक्ष वैदेशिक लगानी भित्राउन प्रधानमन्त्रीको भारत, चीन तथा युएई भ्रमणका अवसरमा लगानी सम्मेलनहरुको आयोजना गरेको बताउँदै सुदूरपश्चिममा यही फागुन महिनामा आयोजना हुने लगानी तथा विकास सम्मेलनले यस क्षेत्रको विकास र सम्मृद्धिमा नयाँ खुड्किलो बन्ने आशा व्यक्त गरे । 

सरकारी प्रक्रियाको कारण धेरै आयोजनाहरु समस्यामा पर्ने गरेको ढकालले बताए । उनले त्यस्ता समस्यामा परेका आयोजनाहरुलाई अगाडि बढाउन सक्नुपर्ने बताउँदै आफूले पनि सुदूर पश्चिममा करिब पाँच अर्ब रुपियाँ लगानीको प्रस्ताव अगाडि बढाएको बताए । यदि सरकारी प्रक्रियालाई समयमै टुङ्याउन सकियो भने आगामी फागुनमा आयोजना हुने लगानी तथा विकास सम्मेलनदेखि त्यो आयोजना सुरु गर्न सकिने उनले बताए । 

Advertisement

Advertisement