अमेरिकाको कारण गाजामा युद्धविराम गर्ने प्रयास विफल

Advertisement

काठमाडौं । युद्धग्रस्त क्षेत्र गाजामा युद्धविराम गर्ने प्रयास अमेरिकाको कारण विफल भएको छ । गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने अमेरिका एक मात्रै राष्ट्र हो । सुरक्षा परिषद्‌का १५ मध्ये १३ देशहरूले संयुक्त अरब इमिरेट्सले अघि सारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए । 

Advertisement

मतदानमा बेलायत अनुपस्थित थियो भने फ्रान्सले प्रस्तावको पक्षमा मतदान गरेको बीबीसीले जनाएको छ । सुरक्षा परिषद्‌का पाँच स्थायी सदस्य राष्ट्रमध्ये कुनै पनि देशले भिटो प्रयोग गरे प्रस्ताव पारित हुन नसक्ने व्यवस्था छ । अमेरिकाले यूएईको प्रस्ताव ‘असन्तुलित’ र ‘अवास्तविक’ भएको तर्क गरेको छ । 

अमेरिकाले प्रस्तावमा ‘बिनासर्त युद्धविराम’का लागि गरिएको अपिल र अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणको निन्दा नगरिएका कारण आफ्नो समर्थन नरहने बताएको छ ।

अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणमा एक हजार दुई सयको मृत्यु भएको थियो भने त्यसको जवाफी कारवाहीमा इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा झण्डै १७ हजारभन्दा धेरैको ज्यान गएको बताइन्छ । 

अमेरिकाले प्रस्तावको प्रक्रियालाई ‘हतारको’ भन्दै त्यसअघि ‘उचित सल्लाह’ नलिइएको बताएको छ ।प्यालेस्टाइनले भने अमेरिकी भिटो ‘खेद जनाएर मात्रै नपुग्ने’ बताएको छ । 

Advertisement