भारतको तुलनामा नेपालमा चर्को बीमा शुल्क, एक्चुरीले गर्दा होः प्राधिकरण

Advertisement

काठमाडौं । छिमेकी भारतको तुलनामा नेपालमा बीमाशुल्क निकै बढी छ । नेपाली बीमा कम्पनीहरुले अशुल्ने बीमाशुल्क महङ्गो भए पनि यसको कारण खोजी गर्ने र शुल्क घटाउन भने कुनै पहल भएको छैन् । 

सरोकारवाला पक्षहरु यसमा बहस गर्न पनि खोज्दैनन् । नियामक नेपाल बीमा प्राधिकरणले भने एक्चुरीलाई दोष थोपर्दै आफू भने पन्छिने गरेको छ । बीमा शुल्क महंगो भएकै कारण नेपालमा बीमा व्यवसाय वृद्धिमा समस्या सिर्जना भएको प्रभु महालक्ष्मी लाइफ स्रोतले बतायो । 

Advertisement

स्रोतको भनाई छ, ‘बीमाशुल्क भनेको जनताको क्रयशक्ति हेरेर निर्धारण गरिनुपर्ने कुरा हो । मानिसहरुले आफ्नो आम्दानीअनुसार सहजरुपमा बीमा पोलिसि किन्नसक्ने भयो भने न व्यवसाय पनि बढ्ने हो । अहिले त जबरजस्ती बीमा पोलिसि बिक्री गर्नुपर्ने बाध्यता छ । महंगो भएकाले मानिसले किन्न सक्दैन् । कन्टिन्यु गर्न नसकेर सरेन्डर गर्ने क्रम बढ्दो छ । जब बीमा गरेर मानिसले लाभ पाउन सक्दैनन् भने बीमा महत्व पनि भएन नि ।  

छिमेकी भारतमा बीमाशुल्क महङ्गो भयो भन्ने गुनासो खासै आउँदैन् । तर नेपालमा भने आर्थिक अवस्थाका कारण अधिकांश जनता बीमालेख किन्नसक्ने अवस्थामा छैनन् । बीमा गर्न मानिसले खासै रुची नराख्नुमा बीमाशुल्क महंगो भएन् पनि हो । अर्कोतर्फ बीमा कम्पनीहरुले आफ्ना प्रोडक्टहरुलाई परिस्कृत गर्ने र नवीन प्रोडक्टहरु जारी गर्न पनि खासै सकेका छैनन् । 

के भन्छ बीमा प्राधिकरण ?
नेपाल बीमा प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी निर्मल अधिकारीले बीमाशुल्क (प्रिमियम) निर्धारण निकै गम्भीर विषय रहेको बताए । उनले बीमाशुल्क निर्धारण गर्न अन्य कुनै सामानहरुको जस्तो दर, भाउ तोक्न त्यति सहज पनि नरहेको दाबी गरे । 

अधिकारीले बीमाशुल्क घटबढ ‘ल अफ लार्ज नम्बर’को मान्यताअनुसार धेरै संख्याको बीमा हुँदा बीमाशुल्क घट्ने सम्भावना रहने बताए । नेपालमा बीमाको संख्यात्मक क्षमताभन्दा पनि अहिले पहुँच बिस्तारकै क्रममा रहेको पनि उनले बताए । भारतमा बीमा गर्नेको संख्या धेरै रहेको तर कम्पनी कम रहेको अधिकारीले उदाहरण दिए । 

उनले भने, ‘भारतलाई तपाइँहरुले के–कसरी बुझ्नुभएको छ र ? भारतमा त एउटा पान पसलमा जानु भयो भने पनि त्यही पसलेले पनि बीमा बेचेको हुन्छ । थोरै प्रिमियम पानमा कटाउँछ अनि ग्राहकको केही रकमको जोखिम बहन हुन्छ । नेपालमा यस्ता कुरा सुन्दा पत्याउने नागरिकहरु पनि सायदै कमै हुनुहुन्छ ।’

उनले बीमाशुल्क निर्धारण गर्न एक्चुरी (बीमांकी)को हिसाबमा भर पर्ने भएकाले त्यसमा आफूहरुको कुनै हात नरहने पनि बताए । बीमांकी आफैमा स्वतन्त्र हुने भएकाले बीमांकीले दिएको निर्णयमा नै कुनै पनि बीमा कम्पनीहरुको बीमाशुल्क निर्धारण हुने अधिकारीले बताए । 

उनले बीमाशुल्क निर्धारण गर्ने कुरालाई रक्तदानसँग जोडन रुचाए । रगत धेरै जनाले दान गरेजस्तै त्यसको प्रतिफल कसले र कहाँ पाउँछ ? भन्ने कुरा निश्चित नभए जस्तै बीमा कम्पनीको कुन सूचांकले बीमाशुल्क निर्धारणमा सघाउने बताए । 

दाबीको दरले प्रभाव पार्ने, महङ्गीले प्रभाव नपार्ने
कुनै पनि देशको महङ्गीमा आउने फेरबदलकै कारण बीमाशुल्क निर्धारणमा त्यति धेरै असर नपर्ने प्राधिकरणको भनाई छ । तर, सम्बन्धित देश वा क्षेत्रको मृत्युदर र दाबीको संख्याले बीमाशुल्क निर्धारणमा ठूलो असर पार्छ । धेरै दाबी पर्नुको अर्थ जोखिमभार पनि धेरै बढेको हो भन्ने बुझिने भएकाले बीमाशुल्क ह्वात्तै बढ्न सक्ने प्राधिकरणको भनाई छ । 

अधिकारीका अनुसार कसैको देशमा कोही गरिब छन् भनेर बीमाशुल्कमा छुट हुँदैन । यसको मतलब केही सामानको मूल्य महङ्गो छ र त्यसलाई अरुले खरिद गर्न सकेन भने त्यसलाई घटाउने वा सित्तैमा दिनसक्ने सम्भावना रहँदैन् । 

Advertisement