वियर सबैभन्दा पूरानो र धेरै उपभोग्य वस्तु, कुन मदिरा कस्तो हुन्छ ?

डा. राजन खनाल

राज्यको विकास सँगसँगै दैनिक राज्य सञ्चालनको लागि आम जनताबाट कर उठाउने प्रचलनको इतिहास निक्कै पूरानो छ । मानव सभ्यताको थालनीसँगै समुदायको हितको लागि प्रत्येक व्यक्तिले केही योगदान/त्याग (Sacrifice) गर्नुपर्ने र त्यो योगदान सामुहिक हितका लागि (Common Interest) उपयोग हुनुपर्ने आधारभूत पक्षलाई स्वीकार गरेर नै सामाजिक सम्झौताको (Social Contract Theory) सिद्धान्तको विकास गरिएको कुरालाई यहाँ मनन गर्नु आवश्यक छ । सामाजिक हितका लागि व्यक्तिले गर्ने योगदान कि त श्रम थियो कि त वस्तु नै थियो भनेर यहाँ विश्लेषण गर्न सकिन्छ ।

Advertisement

श्रमको विषयको योगदान सबै र सधैं उपयोग गर्न सम्भव नहुने भएकोले त्यसबापत वस्तु (Commodity) को उपयोग समेत गरियो । कालान्तरमा मुद्रा (पैसा) को विकास भएपछि यस्तो योगदान मुद्रामा गरिएको र त्यही अभ्यास व्यक्ति आफूले राज्य सञ्चालनका लागि गर्ने योगदान करको रूपमा दिदैं आएको देखिन्छ ।

व्यक्तिले राज्यलाई तिर्नुपर्ने कर वापतको रकम के कस्तो आर्थिक क्रियाकलाप गर्दा भुक्तानी गर्ने भन्ने सन्दर्भमा आधुनिक कर प्रणालीका संरचनामा धेरै क्षेत्रलाई समेटिदै गएको देखिन्छ । वस्तु तथा सेवाको उत्पादन, ओसारपसार एवं विक्री वितरण गर्दा लाग्ने करलाई उपभोगमा आधारित कर भनेर बुझिन्छ । तर पनि सबै उपभोग्य वस्तुमा समान किसिमले कर लगाएको पाइदैन ।

यसो हुनुको कारण कतिपय त्यस्ता वस्तु मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने, सामाजिक मर्यादामा खलल पार्न सक्ने, उपयोग गर्ने व्यक्तिको निश्चित उमेर समूहलाई मात्र प्रयोग गर्न दिनुपर्ने हुँदा यस्ता वस्तुलाई राज्यले नै नियमन र नियन्त्रण गरेको हुन्छ । यसरी व्यक्तिको स्वास्थ्यलाई हानी पुऱ्याउन सक्ने, वातावरणमा प्रतिकुल असर पार्ने, सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्ने ती वस्तुको उपयोगलाई कर माथिको कर लगाएर (Repricing Tax) त्यस्ता वस्तुको उपभोगमा निरुत्साहन गर्ने प्रयास गरिन्छ । यस्ता उपभोग्य वस्तुलाई पूर्णत: बन्देज त गर्न सकिदैन तर त्यसको उत्पादनदेखि अन्तिम विक्री तहसम्म नियमन र नियन्त्रण गर्न भने सकिन्छ । यस किसिमका वस्तुमा लगाइने करलाई अन्तःशुल्क कर (Excise Duty) भनिन्छ ।

मदिरा, चुरोट, सिगार, पेट्रोलियम पदार्थ, फलामको डण्डी, सवारी साधन आदिमा सरकारले अन्तःशुल्क लगाउने गरेको पाइन्छ । शुरुमा चुरोट विडी, मदिरा जस्ता वस्तुमा मात्र सीमित रहेको अन्तःशुल्क पछिल्लो चरणमा गएर पेट्रोलियम पदार्थ, सिमेन्ट, छड, प्लास्टिकजन्य पदार्थ, खेलौना, सौन्दर्यका सामाग्री, खानी, पानी जस्ता वस्तुमा पनि लगाउने अभ्यास विश्वमा नै बढ्दै गएको छ ।

अन्तःशुल्क लाग्ने वस्तु मध्ये प्रस्तुत लेखमा मदिरा र मदिराजन्य पदार्थको विषयमा चर्चा गरिनेछ । यसमा खासगरी मदिरा कसरी बन्दछ ? मदिराको प्राविधिक पक्ष के हुन्छ? यसलाई कुन वस्तुबाट बनाइन्छ ? अल्कोहलको मिश्रणको मात्रा कति हुन्छ भन्ने सन्दर्भहरूमा बहस गरिनेछ ।

अन्तःशुल्क प्रशासनमा भौतिक नियन्त्रण र स्वयं निष्कासन प्रणाली अन्तःशुल्क लाग्ने वस्तुको उत्पादनमा सामान्यतया दुईवटा प्रणालीको अभ्यास गरिएको देखिन्छ। वस्तु उत्पादन गर्दा ती वस्तुको कच्चा पदार्थ, उत्पादन प्रकृया, निकासी प्रकृयादेखि अन्तःशुल्क टिकट टाँस गर्नुपर्ने सम्मको अवस्थामा सोको प्रशासन गर्ने निकाय वा अन्तर्गतको निकायको प्रत्यक्ष नियन्त्रण र अनुगमनमा उत्पादन हुने अन्तःशुल्क जन्य वस्तुलाई भौतिक नियन्त्रण प्रणाली अन्तर्गत बुझ्नुपर्ने हुन्छ भने त्यस्ता वस्तु स्वयम् इजाजतपत्रवालाबाट नियमन र नियन्त्रण गरी उत्पादन गरी सोको विवरण मात्र सम्बन्धित निकायमा बुझाउन पर्ने भएमा त्यस किसिमको प्रणालीलाई स्वयम् निष्कासन प्रणाली भनेर बुझिन्छ ।

भौतिक नियन्त्रण प्रणाली (Physical Control System) मा अन्तःशुल्क अधिकृत वा निजले तोकेको सरकारी कर्मचारीको नियन्त्रणमा अन्तःशुल्क लाग्ने वस्तुको उत्पादन, निष्काशन, पैठारी वा निकासी गरिने प्रणालीलाई बुझ्ने गरिन्छ । भौतिक नियन्त्रण प्रणाली बाहेक अन्तःशुल्क लाग्ने वस्तु वा सेवाको उत्पादन, निष्काशन, पैठारी तथा निकासी गरिने प्रणालीलाई स्वयम् निष्काशन प्रणाली (Self—Regulation System) भनेर सरल रूपमा बुझ्नुपर्ने हुन्छ ।

भौतिक नियन्त्रण प्रणाली लागु गर्नुपर्ने कारण भनेको नै सरकारले त्यस्ता वस्तुको उत्पादनका सबै चरण र प्रकृयामा आफ्नो भौतिक उपस्थितिको आवश्यकता ठान्नु हो । कच्चा पदार्थ, सहायक कच्चा पदार्थ तथा तयारी वस्तुको कारोवारदेखि अन्तःशुल्क टिकट टाँस गर्ने सम्मको प्रकृयामा अन्तःशुल्क कर्मचारीको भौतिक उपस्थिति रहने भएकोले नै यसलाई भौतिक नियन्त्रण प्रणाली भनिएको हो । भौतिक नियन्त्रण प्रणालीको आवश्यकता किन गर्नुपर्यो भन्ने पनि जिज्ञासा हुन्छ । यसको सन्दर्भमा निम्न कारणहरूले कुनै अन्तःशुल्कजन्य वस्तु भौतिक नियन्त्रण प्रणाली अन्तर्गत राख्नुपर्ने आवश्यकता रहेको देखिन्छ :

१) त्यस्ता वस्तुहरू मानव स्वास्थ्यका लागि जोखिमयुक्त छन्, तर पनि त्यसको पूर्ण नियन्त्रण गर्न सकिन्न । यसका लागि निश्चित मापदण्डको निर्माण गरी त्यस्ता वस्तु उत्पादन गरी प्रयोगमा ल्याउन सकियोस् र त्यस्तै किसिमको अन्यवस्तु कुनै अनधिकृत व्यक्तिले उत्पादन नगरोस् भन्ने यकिन गर्न ।

२) इजाजतपत्रवालाले त्यस्ता वस्तुको उत्पादनमा सरकारलाई पूर्ण रूपमा त्यसको परिणाम, गुणस्तर, प्रतिलब्धि, टुटफुट (Breakage) को यथार्थ विवरण दिन सक्छन् वा दिनेछन् भन्ने विश्वास गर्न सक्ने आधार नभएमा ।

३) त्यस्ता वस्तुको कच्चापदार्थ, सहायक कच्चा पदार्थको दुरूपयोग गरी गैरकानुनी रूपमा त्यस्तै वस्तु उत्पादन गरी राजस्व रकम हिनामिना हुन सक्ने भएकोले ।

४) कच्चा पदार्थ, सहायक कच्चा पदार्थको उत्पादन, पैठारीदेखि अन्तिम उत्पादनसम्म नियमन गर्न । भौतिक नियन्त्रण प्रणाली अन्तर्गत सुर्तीजन्य पदार्थहरू मध्ये चुरोट र मदिराजन्य पदार्थहरूमा वियर, विभिन्न अल्कोहल शक्तिका मदिरा, वाइन, साइडर, स्पिरिट उद्योगहरूले उत्पादन गर्ने विभिन्न स्पिरिटहरूलाई समावेश गरिएकोमा पछिल्लो चरणमा मदिराजन्य वस्तुहरू एवं स्पिरिट उत्पादन गर्ने उद्योगहरूको उत्पादनलाई मात्र भौतिक नियन्त्रण प्रणाली अन्तर्गत राखिएको देखिन्छ ।

नेपालको सन्दर्भमा भौतिक नियन्त्रण प्रणाली अन्तर्गत उत्पादन हुने विभिन्न स्पिरिट तथा अल्कोहल युक्त मदिराजन्य पदार्थहरूको नियमन र नियन्त्रण गर्ने सन्दर्भमा नै अन्तःशुल्क ऐन एवं नियमावलीले आवश्यक प्रकृयाहरू निर्धारण गरेको छ । तयारी मदिरा र सोको लागि आवश्यक स्पिरिटका सन्दर्भमा अन्तःशुल्क ऐन र मदिरा ऐनले नै ती वस्तुहरू भौतिक नियन्त्रण प्रणालीमा आबद्ध हुन्छन् भनेर स्पष्ट गरेको छ । ती वस्तुहरूका सन्दर्भमा यहाँ केही चर्चा गर्नु आवश्यक छ। संसारमा अत्याधिक रूपमा मानिसले प्रयोग गर्ने मदिराजन्य पदार्थ र सुर्तिबाट बनेका सुर्तिजन्य वस्तुबाट राज्यले उल्लेख्य राजस्व परिचालन गर्ने गरेका छन् ।

तर यी दुवै वस्तुहरू आम मानिसको स्वास्थ्यका लागि हानिकारक भने छन् । मदिराजन्य वस्तुमा अल्कोहल मिसिएको हुन्छ । यस्तो अल्कोहलबाट विभिन्न वस्तुहरू तयार गरिन्छ । अन्तःशुल्क प्रशासन गर्ने वा सो सम्बन्धी अध्ययन गर्ने व्यक्तिले त्यस्ता वस्तुहरूको बारेमा आवश्यक जानकारी राख्नु जरुरी छ । तल ती वस्तुको संक्षिप्त चर्चा गर्नु सान्दर्भिक हुनेछ :

१) औधोगिक अल्कोहल ( Industrial Alcohol): अल्कोहललाई नेपालीमा रक्सी भनेर बुझिन्छ । तथापि सबै रक्सी खानयोग्य हुँदैनन् । त्यसैले अल्कोहललाई रक्सीमात्र भन्दा त्यसको अर्थ सीमित हुने सम्भावना हुन्छ । त्यसैले यहाँ अल्कोहललाई सोही शब्दको रूपमा लेखिएको छ । औद्योगिक अल्कोहल भन्ने शब्दले नै बुझाउँदछ कि यो अल्कोहल औद्योगिक उत्पादनका लागि प्रयोग हुन्छ । यो शुद्ध इथानोलको मात्राको रूपमा रहेको हुन्छ। यसको संरचना भनेकै इथाइल अल्कोहल (Ethyl Alcohol) मा पानी र डिनेचर्डको मिश्रण रहेको हुन्छ । यसलाई शुद्ध गरिएको इथानोल (Distilled Ethanol) पनि भनिन्छ । सामान्यतयाः औद्योगिक अल्कोहल औषधी उत्पादनमा, विभिन्न रङ्गहरूको उत्पादनमा, कागजको मुद्रणमा, मसी लगायतमा प्रयोग गरिन्छ । यस्तो अल्कोहलको सेवन गर्न निषेध गरिएको हुन्छ । त्यसैले यसमा नियमन आवश्यक हुन्छ ।

२) रेक्टिफाइड स्पिरिट (Rectified Spirit) यसलाई विभिन्न नामले पनि चिनिन्छ -Neutral Spirits, Rectified Alcohol, Ethyl Alcohol आदि । यसमा इथानोलको मात्रा अत्याधिक (९५.६१) रहेको हुन्छ भने त्यसमा पानी पनि मिश्रण गरिन्छ र पटक पटक यसलाई उमालेर शुद्ध बनाइन्छ । यसमा दुवै वस्तुलाई मिश्रण गरेर समान किसिमले उमालिन्छ । रेक्टिफाइड स्पिरिट Blended Whisky, Cut Brandy, Liquors मा प्रयोग हुन्छ । केही औषधीहरूमा पनि यसको प्रयोग गरिन्छ ।

३) इथानोल (Ethanol): यसलाई Grain Alcohol, Drinking Alcohol तथा सामान्यतया अल्कोहल (Alcohol) मात्र भनेर पनि बुझिन्छ । यसको रासायनिक बनोट (Chemical

Composition or Formula) लाई हेर्दा C, HO CH-CH भनेर पनि लेखिएको पाइन्छ । इथानोलको रङ्ग हुँदैन, यो बाल्नयोग्य र चलायमान (Volatile) हुन्छ । अर्को मनोद्विपक पनि हुन्छ । यसलाई खाने मदिराको अभिन्न अंगको रूपमा लिइन्छ । इथानोल चिनी र मर्चा (Sugar and Yeast) बाट बनाइन्छ । यसको प्रयोग खाने मदिरा, पेट्रोकेमिकल, औषधी, सोल्भेन्ट आदिमा हुन्छ ।

४) माल्ट स्पिरिट (Malt Spirit) : माल्ट जौ (Barley) वा राय (Rye) लाई एकपटक मात्र उमालेर शुद्ध गरिएको (Distillery) स्पिरिट हो । यो एकपटक मात्र शुद्धीकरण गरिने भएकोले यसबाट तयार भएका मदिरा (ह्विस्की भन्न नमिल्ने) तीन वर्ष भित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ । यो पूर्ण रूपमा ह्विस्की होइन, विस्की बन्ने प्रकृयाको मात्र हो । यसैबाट Single Malt Whisky को नयाँ Brand ल्याइएको थियो । यसलाई Single Malt Spirit पनि भनियो ।

५) साइलेन्ट स्पिरिट ( Silent Spirit ) : यो एक किसिमको शुद्ध पारिएको स्पिरिट हो, जसको आधारभूत मिश्रणको विषयमा भनिएको (Silent) हुँदैन । केबाट यो स्पिरिट तयार हुन्छ सो विषयमा केही नभनिनु नै यसको विशेषता हो । गहुँ, जौ, राई, चिनी, मकै कुनै पनि वस्तुको कुहाई (Fermentation) गरेर यसको तयारी गर्न सकिन्छ वा स्पिरिट बनाउन सकिन्छ । स्पिरिट बनाइसकेपछि जुनसुकै वस्तुबाट बने पनि स्वाद एउटै हुने गरी यसलाई शुद्धीकरण (Distillation) गरिन्छ ।

तर कुन वस्तुको स्वाद (Flavor) हो भन्न सकिन्न । सामान्यतया जुन वस्तुबाट तयारी मदिरा बनाउने हो, सोको केही न केही गन्ध वा स्वाद (Taste or Flavor) थाहा हुन्छ । तर साइलेन्ट स्पिरिटमा त्यो थाहा हुन्न वा त्यसमा मौन हुन्छ । साइलेन्ट स्पिरिटको प्रयोग गरी बनाइएको मदिराको प्रयोग क्यानाडाबाट भएको भनिए पनि बेलायत र संयुक्त राज्य अमेरिकामा समेत यसको लोकप्रियता भइसकेको थियो भन्ने पनि दावी गरिन्छ ।

६) डिनेचर स्पिरिट (Denatured Spirit / Alcohol) : डिनेचर स्पिरिटलाई डिनेचर अल्कोहल, वुड अल्कोहल वा डिनेचर रेक्टिफाइड स्पिरिट (Denature Alcohol / Wood Alcohol or Denature Rectified Spirit) पनि भनिन्छ । यो स्पिरिट सही रूपमा व्यक्तिको लागि खतरनाक हुन सक्दछ । यसको स्वाद पनि नमिठो र गन्ध पनि नराम्रो हुन्छ । त्यसैले यसको उपयोगलाई दुरुत्साहन गरिन्छ । यसको प्रयोग सरसफाइमा, ज्वलनशील पदार्थमा, सोल्भेन्ट उत्पादनमा, सानिटाइजर (Hand Sanitizer) मा प्रयोग गरिन्छ। मिथाइलेटेड स्पिरिट समेत भनिने यसको प्रयोग खासगरी मदिराजन्य उत्पादनमा नगर्ने सुझाव दिइन्छ ।

७) हेड्स स्पिरिट (Heads Spirit): स्पिरिट बनाउने प्रकृयामा पहिलो चरणमा प्रशोधन (Distillation) को क्रमको बनेको अल्कोहल निकै कच्चा किसिमको हुन्छ । त्यस्तै गरी

सबैभन्दा पछि गरिएको प्रशोधनमा पनि यस्तो अल्कोहल तयार भएको हुन्छ । यसलाई 'Heads & tails' भनेर पनि बुझिन्छ । तुलनात्मक रूपमा Heads & tails को अवस्था भनेको प्रशोधनको प्रारम्भिक अवस्था हो । यसलाई Young Stage पनि भनिन्छ । कतिपय अवस्थामा Heads and Tails लाई फाल्ने र थप प्रशोधन गरेर त्यसलाई राम्रो गुणस्तरको मदिरा बनाउने पनि गरिन्छ । अझ स्कच ह्विस्कीलाई थप स्वाद र सुगन्धको लागि ओक (Oak) को काठमा वर्षौंसम्म राख्ने व्यवस्था पनि छ । जति वर्ष पूरानो भयो उति नै राम्रो मान्ने पारखीहरू पनि थुप्रै छन् । Heads Spirit त्यति काम लाग्ने Spirit होइन, तथापि यसरी Heads & tails को थेग्रानलाई पुनः प्रशोधन गर्ने र त्यसबाट फेरि राम्रो Spirit तयार गर्ने पनि चलन छ Spirit प्रारम्भिक र अन्त्यमा निस्केको Cuts लाई जहाँ पायो त्यहाँ बिसर्जन गर्न (Dumping) पनि नमिल्ने भएकोले पुनः प्रशोधन गर्नुभन्दा आफ्नै उत्पादन स्थलमा त्यसलाई बाल्ने, हात धुने सानीटाइजर (Sanitizer) को बोतल बनाउने लगायतका काम गर्दछन् । Heads, Heart र Tails को रूपमा मदिराको उत्पादनमा सबैभन्दा राम्रोसँग प्रशोधन भएको स्पिरिट बनाउनका लागि प्रयत्न गरिन्छ ।

यसैले हेड्स स्पिरिटलाई सुरु प्रशोधनको प्रकृयामा रहेको स्पिरिट भनेर बुझ्नुपर्ने हुन्छ । Heart भनेको सबैभन्दा राम्रो गरी तयार गरिएको मानिन्छ । माथि उल्लेख गरिएका प्रशोधन गरी बनाइने शुद्ध अल्कोहल हुन्। सबै मदिरामा केही नै केही मात्रामा अल्कोहल रहेको हुन्छ-कुनैमा बढी कुनैमा कम । कुन वस्तु (फलफूल, चिनी, आलु, अन्न) बाट के के मदिरा (विभिन्न किसिमका) बन्दछ भन्ने विषयमा पनि यसका पारखीहरू चासो राख्दछन् । अन्तःशुल्कसम्बन्धी नीति निर्माण गर्ने, सो को प्रशासन गर्ने, मदिराजन्य वस्तुको उत्पादन एवं अन्य कारोवार गर्ने र यससम्बन्धी अध्ययनमा चासो राख्नेहरूका लागि केही जानकारी यहाँ प्रस्तुत गरिएको छ :

१) ह्विस्की (Whisky): विस्की भन्ने वित्तिकै यो अन्नबाट बन्दछ भनेर हामीले बुझ्नुपर्दछ । त्यसमा पनि मुलतः जो एवं युरोपमा राई (Rye) बाट यसको उत्पादन गरिन्छ । अन्नलाई माल्ट बनाउने र सो माल्टलाई प्रशोधन गरी स्पिरिट तयार गरी ह्विस्कीको उत्पादन हुन्छ। ह्विस्की जौ, मकै, रे र गहलाई रासायनिक प्रकृयाबाट कुहाई (Fermented) त्यसलाई उमालेर प्रशोधन गरिन्छ । तयार भएका अल्कोहललाई ओक भन्ने काठको विशेष भाडोमा कति वर्षसम्म राख्ने भन्ने तय गरिन्छ । यसरी लामो समय (१२-१८ वर्षसम्म पनि) काठको भाडामा राख्दा सो ह्विस्की विशेष स्वाद र रङ्गको भई वेग्लै ढंगले​ सुगन्धित हुन्छ ।

ह्विस्कीलाई त्यसको प्रशोधन प्रकया, बनेको आधारवस्तु र बनेपछि काठको व्यारल (Barrels) मा राखेको अवधि समेतका आधारमा वर्गीकरण पनि गरिएको पाइन्छ । Scotch Whiskey संसार भरि नै प्रसिद्ध छ | Single Malt Whiskey पनि रूचाइएको ब्रान्ड मानिन्छ । माल्ट ह्विस्की जौको माल्टबाट बनाइन्छ भने Grain Whiskey अन्य अन्नबाट बनाइन्छ । ह्विस्कीलाई Single Malt, Blended Malt, Blended, Cask Strength, Single Cask भनेर उत्पादन प्रकृया, त्यसमा अल्कोहलको मात्रा र त्यसको गुणस्तरको आधारमा छुट्टयाउने गरिन्छ । Scotch Whiskey लाई विश्वकै प्रसिद्ध ह्विस्की मानिन्छ ।

अमेरिकन, अस्ट्रेलियन, क्यानेडियन, डेनिस, बेलायती, फिनिस, जर्जियन जर्मन, आइरिस मेक्सिकन, जापानी, स्वीडिस, ताइवानी आदि ह्विस्की बढी चर्चामा आउँछन् । Scotch Whiskey, Bourbon Whiskey, Single Malt, Irish, Rye, Japanese, Blended Malt, Canadian, Tennessee, Grain, Single Pot Whiskey संसारमा चलेका ह्विस्की ब्रान्ड हुन् ।

२) रम (Rum): उख्खुको जुस एवं तयार गरिएको खुदो (Sugarcane Juice or Sugarcane Molasses) बाट तयार गरिने रम मुलत: उखुको बढी उत्पादन गरिने मुलुकमा हुन्छ र प्रसोधन गरिएको स्पिरिटलाई उख्खुको जुस एवं खुदोको प्रशोधन अल्कोहलसँग मिश्रण गरिन्छ। उख्खुको धेरै उत्पादन क्यारेवियन क्षेत्र (क्यारेबियन समुद्र, गल्फ अफ मेक्सिको, पूर्वी मध्य अमेरिका र दक्षिण अमेरिकाको उत्तरी क्षेत्र) मा हुन्छ । फिलिपिन्स र भारतमा पनि उख्खुको उत्पादन राम्रो हुन्छ । ब्राजिल, संसारकै सबैभन्दा बढी उखु उत्पादन गर्ने देश हो भने मेक्सिको, कोलम्बिया पनि उखु धेरै उत्पादन हुने ठाउँ हो । भारत, चीन, थाइल्याण्ड, पाकिस्तान, इन्डोनेसिया, फिलिपिन्स, संयुक्त राज्य अमेरिकामा पनि प्रशस्तै उखुको उत्पादन हुन्छ । रमलाई बनाउनु अघि प्रशोधन गरिएको अल्कोहललाई ओक (Oak) को भाडोमा राखिन्छ ।

धेरै जस्तो रमको उत्पादन क्यारेबियन मुलुकहरूमा गर्ने गरिन्छ । रमलाई क्यानाडाको न्युफाउन्डल्याण्ड, क्यारेबियन क्षेत्रको वेस्ट इन्डिज र मेरीटाइम राज्यमा संस्कृतिको अभिन्न अंगको रूपमा लिइन्छ । त्यसैगरी यसलाई बेलायतको जलसेनाको लोकप्रिय मदिरा समेत मानिन्छ । रमको उत्पादन क्यारेबियन मुलुक (बारबाडोसबाट) हरूबाट भएपनि पछि उखु उत्पादन हुने देशहरूमा यसको विस्तार भएको मानिन्छ । रमलाई ककटेल बनाउन पनि निक्कै मन पराइन्छ। जमैकामा उत्पादित Captain Morgan विश्व प्रसिद्ध रम मध्येको एउटा हो । क्यारेबियन बाहेक दक्षिण अफ्रिका, केन्या, जमैका, मदागास्कर, मौरिसस, मोजाम्बिक, सेसेल्स, कंगोमा समेत रमको उत्पादन प्रशस्त हुन्छ । नेपालको Khukuri Rum, Khukuri Spice लाई विदेशमा समेत मन पराइन्छ ।

 

३) जीन (Jin): जीन खानयोग्य मदिराको रूपमा तयार गरिंदा यसको आधार वस्तुको रूपमा जेनिपर बेरी (Juniper Berry) को उपयोग गरिन्छ । Berry आफैमा फलफूल मात्र हो । तर जेनिपर बेरी एक किसिमको जडिबुटीजन्य उत्पादन (Herbs) हो । जेनिपर बेरीको पात र बीउबाट त्यसको स्वादमा विभिन्न Fermentation र Distillation प्रकृया पूरा गरी जीन बनाइन्छ । जेनिपर बेरीको अर्थ नै जेनिपरको उत्पादन गर्न मिल्ने बीउ (Seed Cone) हो । यसको स्वादमा जीन बनाइन्छ । जीनको प्रारम्भ औषधीय गुणको लागि प्रयोग भएको मानिन्छ । उच्च पहाडी भूभागमा झाडीको रूपमा विकास भएका जेनिपरका विरुवाबाट जीन बन्ने भएकोले यो औषधीय गुणको रूपमा त्यो क्षेत्रका व्यक्तिहरूले प्रयोग गर्थे । पछि गएर अन्य फलफूलबाट समेत यसलाई बनाइयो । जीनलाई Tonic Water सँग Mix गरेर खाने गरिन्छ ।

यसको गन्ध पनि अन्य मदिराको जस्तो हुँदैन । कतिपय सन्दर्भमा Gin र Genever Geneva पनि भनिने Holland Gin or Geneva Gin जेनिपर स्वादको मदिरा नेदरल्यान्डस र बेल्जियममा एवं त्यसको नजिकका फ्रान्स र जर्मनीमा यसको नाम Genever को रूपमा भएको देखिन्छ । खासमा Gin को उत्पादन बेलायतमा हुनुअघि नै Genever को उत्पादन यी क्षेत्रमा भइसकेको मानिन्छ । जेनिपर जातको विरुवा उत्तरी ध्रुव, अफ्रिका, पाकिस्तान, तिब्बत, मध्ये अमेरिका उत्तरी हिमालयमा पाइन्छ। स्पेन, बेल्जियम, नेदरल्याण्डस, बेलायत, आयरल्याण्ड, संयुक्त राज्य अमेरिका, इटाली, जर्मनी, फ्रान्स, क्यानाडा जस्ता मुलुकहरू जीनको उत्पादनमा अगाडि छन् ।

४) ब्रान्डी (Brandy) : ब्रान्डी भन्ने बित्तिकै यसको आधार स्रोत फलफूल भन्ने बुझ्नु पर्दछ। यो पनि अल्कोहलको स्पिरिट हो जसको तयार फलफूललाई बायोकेमिकल प्रकृयाबाट गलाई स्पिरिट तयार गरिन्छ । त्यसैले ब्रान्डी बनाउने आधार स्रोत फलफूल भएपनि ब्रान्डी नै बनाउने चाँही वाइनबाट हो । अर्को भनेको अन्य फलफूलबाट हो । यसले कुनै पनि फलफूलबाट बनाउने ब्रान्डीलाई फलफूलको ब्रान्डी (Fruit Brandy) भनिन्छ । Momace (फलफूलको छोका) लाई थिचेर त्यसको जुसबाट पनि ब्रान्डी बनाइन्छ, जसलाई Pomace Brandy भनिन्छ । ब्रान्डीलाई रातको खाना पछिको खाना पचाउने (After dinner digestive) को रूपमा पनि बुझिन्छ ।

ब्रान्डीको लागि फ्रान्स प्रसिद्ध छ । Cognac र Armagnac दक्षिण फ्रान्सका लोकप्रिय उत्पादन हुन् । वाइनबाट ब्रान्डी उत्पादन हुने भएकोले खासगरी अंगुर र स्याउलाई यसको आधार स्रोतको रूपमा हेरिन्छ। फ्रान्स, चीन, मेक्सिको, जर्मनी, इटाली, बेलायत संयुक्त राज्य अमेरिका ब्रान्डी उत्पादन हुने प्रमुख देशहरू हुन् । ब्रान्डीको प्रारम्भ फ्रान्सबाट औषधीय प्रयोगको लागि भएको थियो । जसको नाम 'The Water of Life' थियो । पछि अन्य मुलुकमा पनि यसको उत्पादन विस्तार हुँदै गयो ।

५) भोड्का (Vodka) : भोड्का पनि एक किसिमको अल्कोहल स्पिरिट नै हो । यसको शुरुवात रुस र पोल्याण्डबाट भएको हो । यो पनि गहुँ, राई र आलुलाई विशेष किसिमले कुहाई त्यसलाई शुद्धीकरण गरेर बनाइन्छ । भोड्का रुसको प्रसिद्ध मदिरा हो । भोड्काको मिश्रण इथानोल र पानीबाट भएको हुन्छ । आलु, जौ, गहुँबाट बन्ने भएपनि यसलाई नवीन स्वाद दिन फलफूल अथवा चिनीको पनि मिश्रण बनाउने गरिएको छ । भोड्का बढी चिसो ठाउँमा प्रयोग गरिने भएकोले यसमा चिसो वा पानी (Ice or Water) नमिसाई प्रयोग गर्ने चलन छ। भोड्का जस्तो छ त्यही रूपमा केही मिश्रण नगरी शुद्ध

खाने भनिन्छ । बढी भोड्काको प्रयोग गर्ने देशहरू बेलारुस, इस्टोनिया, फिनल्याण्ड, आइसल्याण्ड, लिथुवानिया, लात्भिया, नर्वे, पोल्याण्ड, रुस, स्विडेन तथा युक्रेनलाई भोड्का क्षेत्र (Vodka Belt) भनेर पनि चिनिन्छ । भोड्कालाई ककटेल (Cocktails) को रूपमा अन्य मदिरा एवं टोनिकसँग मिश्रण गरेर पनि प्रयोग गरिन्छ । भोड्काको प्रारम्भ पोल्याण्डमा औषधीय रूपमा भएपनि पछि गएर यो रुसमा थप विकसित भयो । पोल्याण्ड, रुस र स्विडेन भोड्का उत्पादन गर्ने प्रमुख मुलुकहरू हुन् । नेदरल्याण्ड्स, फ्रान्स र संयुक्त राज्य अमेरिकाले पनि भोड्का उत्पादन गर्ने गरेका छन् । परिणामको हिसाबले भने स्विडेनले सबैभन्दा बढी भोड्का उत्पादन गर्ने गरेको छ ।

६) टाकुला (Tequila) : टाकुला प्रशोधन मदिरा हो, जुन निलो केतुके प्रजाति (Blue Agava) को वनस्पतिको जीव रासायनिक प्रकृयाबाट कुहाएर तयार गरिन्छ । यो मदिराको नाम मेक्सिकोको Santiago de Tequila नगरको नामबाट राखिएको हो । Tequila मदिराको लागि जननी मेक्सिको नै मानिन्छ । Blue Agava यो क्षेत्रमा प्रशस्तै पाइन्छ । यो शहरको लोगोमा नै Agava को विरुवा र Tequila Mountain को चित्र अंकित गरिएको छ । मुलुकको पश्चिम उत्तर क्षेत्रमा पर्ने Tequila क्षेत्र विश्व सम्पदा सूचीमा समेत रहेको छ । रातो भोल्कानिक माटोबाट बनेको यो ठाउँमा Agava प्रशस्त मात्रामा हुन्छ ।

Tequila लाई मेक्सिकोको विशेष उत्पादन मानिन्छ र यस्तो उत्पादनको आधारको रूपमा अन्तर राष्ट्रिय रूपमा स्वीकार पनि गरिएको छ । यसमा ३५ देखि ५५ प्रतिशत अल्कोहल (ABV. 70-110) रहने गरेको छ । न्यूनतम पनि ४० प्रतिशत (80 ABV) अमेरिकामा बिक्री गर्नका लागि हुनुपर्नेछ । ४० भन्दा बढी मुलुकमा यसको उपभोग गरिन्छ ।

७) मजकल (Mazcal) : मजकल पनि तयारी मदिरा नै हो । यो पनि मेक्सिकोमा नै उत्पादन हुन्छ । मजकलको प्रारम्भिक आधारवस्तु पनि Agava नै हो । तर यसलाई Blue Agava नै चाहिदैन । जुनसुकै Agava को स्पिरिटबाट यसलाई बनाइन्छ। मेक्सिकोको ओक्साका (Oaxaca) राज्यमा बन्ने मजकल मध्य अमेरिकी र दक्षिण अमेरिकामा लोकप्रिय छ । Oaxaca मा हरू सबै नराम्रो Mazcal राम्रो भन्ने भनाइ नै छ मदिरा पारखीहरू बीचमा । मजकलको अर्थ स्पेनिश भाषामा अगाभालाई धेरै पकाउनु (Over Cooked Agava) भन्ने हुन्छ । स्पेनिशहरूको औपनिवेश अघि मजकल Agava Plant बाट बन्छ भन्ने थिएन । पछि स्पेनिशहरूबाटै यो प्रयोग सफल भयो । Mazcal मुलतः जापान र संयुक्त राज्य अमेरिकामा बिक्रीको लागि निर्यात गरिन्छ । Mazcal मा ५५ प्रतिशत अल्कोहलको मात्रा रहेको हुन्छ। यसलाई टाकुला जस्तो दुईपटक प्रशोधन (Distilled) गरिन्छ ।

) सेरी (Shery) : सेरी एक किसिमको शक्तिशाली वाइन हो जुन स्पेनको दक्षिण पश्चिम क्षेत्रको विशेष उत्पादन हो । Shery को नाम (ठाउँको नाम) बाट यो उत्पादनको नाम राखिएको देखिन्छ । सेरी विभिन्न किसिमको रङ्ग र स्वादमा बनाइन्छ । कुनै बढी कडा (Strong) त कुनै ठिकै किसिमको । साथै रंगमा पनि र मिठास (Taste) मा पनि

खानापछि खाने किसिमको मिठो वाइन (Sweet Wine) मा ताजा गुलियो खीरसँग खाने किसिमले पनि यसलाई बनाइन्छ । कडिज प्रान्तको Sherry Triangle बाट यसको नाम जुराइएको अनुमान गर्न सकिन्छ । ठाउँ विशेषको उत्पादन (Area Specific Product) भए पनि यसको लोकप्रियता धेरै तिर पुगेको छ ।

सामान्य भन्दा बढी शक्तिशाली वाइनको रूपमा सेरीले परिचय पाएको छ । वाइन बनेपछि त्यसलाई बढी शक्तिशाली बनाउन अल्कोहलको मात्रा मिसाउने भएकोले सेरीलाई Fortified Wine भनेर पनि चिनिन्छ । गुणस्तरीय र थप स्वादका लागि छुट्टै रूपमा पूरानो बनाउने (Aging) कार्य समेत हुन्छ। सामान्य वियर बनाउने प्रकृया भन्दा यसमा थप प्रकृयाको समेत अवलम्बन गरिन्छ । यसैले स्पेनको यो वाइन स्पेन भित्र मात्र होइन युरोप भरी नै लोकप्रिय बनेको छ ।

९) साइडर (Cider) : स्याउलाई विशेष किसिमले सडाएर साइडर बनाइन्छ । कतै भने अल्कोहलको मिश्रण नगरी पनि साइडर बनाइन्छ । साइडरको चर्चा गर्दा साइडर स्याउ (Cider Apple) को नाम आउँछ। यो स्याउ विशेष किसिमको स्याउ हो। स्याउलाई स्वादको आधारमा दुई वर्गमा वाइन बनाउन सकिन्छ । एउटा गुलियो र अर्को टर्रो। Cider Apple लाई Hard Cider को रूपमा पनि बुझिन्छ भने गुलियो Apple लाई Dessert Apple को रूपमा Apple को Fermentation बाट साइडर बनाउन सकिन्छ । Cider संयुक्त अधिराज्य बेलायतमा विशेष रूपमा हुने Cider Apple बाट Cider बनाउने कार्यको थालनी भएको हो ।

वेलायतका औपनिवेशिक राष्ट्रहरू Canada, Australia, India आदि देशमा यसको बढी प्रयोग भयो । Cider मा अल्कोहलको मात्रा न्युनतम कति हुने र बढीमा कति हुने भन्नेमा पनि मुलुकपिच्छे फरक फरक मान्यता रहेको छ । संयुक्त राज्य अमेरिकामा साइडरलाई Hard Cider देखि Sweet Cider सम्म छुट्याइएको छ । Non-Alcoholic Cider पनि बनाउने गरिएको छ । बेलायतमा साइडरको सबैभन्दा बढी खपत हुने मात्र होइन सबै भन्दा बढी उत्पादन पनि हुने गरेको छ । सबै स्याउ साइडर बनाउन उपयुक्त हुन्छन् तर साइडर एप्पललाई साइडर बनाउन अत्यन्तै आवश्यक मानिन्छ ।

१०) सेम्पेन (Champagne) : फ्रान्सको पूरानो र एउटा ऐतिहासिक शहर छ नाम हो सेम्पेन (Champagne)। मुलुकको उत्तर पूर्वीभागमा रहेको Champagne Region मा उत्पादन हुने बढी कार्बनडाइअक्साइड भएको वाइन (Sparkling Wine) लाई Champagne (सेम्पेन) नामले चिनिन्छ । यो वाइन धेरै पूरानो र परम्परागत प्रणालीको साख जोगाउने गरी उत्पादन गरिएको हुन्छ । फ्रान्सको Champagne Region लाई एउटा छुट्टै वाइनको क्षेत्र मानिन्छ । यहाँ उत्पादन हुने Sparkling White wine ले नै यो क्षेत्रको नाम प्रसिद्ध गरेको छ । यो क्षेत्रमा उत्पादन भएको वाइनलाई Champagne विषयमा विभिन्न सहमति भई कानून पनि बनेको छ ।

यसको अर्थ जुनसुकै वाइनलाई Champagne भन्न पाईदैन भन्ने नै हो । तत्कालीन फ्रान्सका राजाहरूको राज्याभिषेक हुने यो क्षेत्रलाई विश्व सांस्कृतिक सम्पदा सूचीमा समेत राखिएको छ । यो वाइनमा बढी मात्रामा Carbon Dioxide समावेश गरिएकोले Champagne लाई मनोरञ्जनको रूपमा या विजयोत्सवमा हल्लाएर फीज़ निकाल्ने गरी रमाइलो गरी मनाइन्छ । अन्य युरोपियन मुलुकहरूले पनि Sparkling Wine त बनाउछन् तथापि Champagne Region को लाई विशेष किसिमको वाइन मानिन्छ । यसैले पनि French Champagne भनेर पनि यसको चर्चा गरिन्छ ।

११) मीड (Mead) : यो पनि एउटा अल्कोहल युक्त पदार्थ हो । यसको उत्पादन मह र पानीबाट गरिन्छ । महमा पानी मिसाई विशेष जैविक रासायनिक प्रक्रियाबाट कुहाई अल्कोहल बनाइन्छ । महबाहेक विभिन्न खालको फलफूलहरू, मसला, अन्न र युरोपमा पाइने विशेष प्रकारको फूल (HOPS) बाट समेत मिड तयार गरिन्छ । तर पनि यसको उत्पादनमा महको नै धेरै प्रयोग गरिन्छ । तर मिडमा अल्कोहलको मात्रा धेरै हुन्न । यसैले यसको परिचय नरम (Mild) अल्कोहलको रूपमा पनि गरिन्छ । सामान्यतया; अल्कोहलको मात्रा ३.५ प्रतिशत देखि २० प्रतिशत (ABV- Alcohol by Volume) सम्मको बनाइन्छ ।

महबाट तयार गरिने भएकोले यसको स्वाद गुलियो वा अर्ध-गुलियो हुन्छ । कतिपय सन्दर्भमा यसलाई Honey Wine पनि भनिन्छ । मिडको प्रयोग पूर्वीय दर्शनमा वेदमा भएको एवं पश्चिममा एरिस्टोटलले समेत चर्चा गरेको सन्दर्भहरू पनि पाइन्छ । प्राचीन समयदेखि नै मीडको उत्पादन युरोप, अफ्रिका र एशियाका मुलुकहरूमा भएको देखिन्छ । मीड वाइन हो कि वियर हो भनेर पनि जिज्ञासा राखिन्छ । तर यसलाई यही हो भनेर परिभाषा गरिएको छैन । तर पनि मीडलाई वाइनको रूपमा लिइएको पाइन्छ ।

तर हामीले वाइनलाई फलफूलको रसबाट बनाउने भन्ने बुझेको सन्दर्भमा महबाट बन्ने भएकोले मिडलाई वाइन भन्न पनि कठिन देखिन्छ । तथापि, यसलाई वाइनको रूपमा हेरिएको छ । यसैले मीड पनि साइडर जस्तै आफ्नै विशेषता लिएर उत्पादन भएको देखिन्छ । वास्तवमा यसलाई विश्वकै पूरानो मदिराको रूपमा पनि लिने गरिन्छ । यसैले यसलाई Royal Drink को रूपमा पनि चिन्ने गरिन्छ ।

१२) माल्ट मदिरा (Malt Liquor) : हामीले मदिराको अध्ययन गर्ने सन्दर्भमा दुईवटा शब्दलाई छुट्टाछुटै बुझ्नुपर्ने हुन्छ- लिकर र लिक्वायर (Liquor and Liqueur) । Liqueur अल्कोहलयुक्त मदिरा त हो तर यसमा अन्य कुराको पनि मिश्रण गरेर तयार गरिन्छ । मिठो स्वाद बनाउन गुलियो फलफूल, जडिबुटी एवं मसलाहरूको मिश्रण गरी त्यसको उत्पादन गरिन्छ । यो बनाएर लामो समय (Aging) राख्ने गरिन्न । सामान्यतया खानापछि अन्तिम स्वाद (Dessert) का लागि गुलियो बनाई यो उपयोगमा ल्याउने गरिन्छ । साथै कफी, चिसो वस्तु, ककटेलमा यसको प्रयोग हुन्छ । तर यहाँ प्रस्तुत गर्न खोजिएको Liquor शब्दको हो । माल्ट मदिरा (Malt Liquor) लाई बियरको रूपमा पनि बुझिन्छ । तर यो मदिरामा बियरमा भन्दा अल्कोहलको मात्रा बढी रहेको हुन्छ।

उत्तर अमेरिकामा यसलाई High Alcohol Content भएको वियरको रूपमा लिइन्छ । यो जौको माल्ट बनाएर सोबाट तयारी मदिरा बनाउने गरिन्छ । माल्ट लिकरको प्रारम्भ वेलायतबाट भए पनि क्यानाडामा यसको थप विस्तार भयो । संयुक्त राज्य अमेरिकामा उत्पादित Country Club लाई निक्कै सफल ब्रान्डको रूपमा लिइन्छ । यसको खास उत्पादन र प्रवर्धन अमेरिकी मुलुकमा भए पनि युरोपमा पनि यसको लोकप्रियता रहेको छ । माल्ट लिकर वियर भन्दा अलि बढी कडा (Strong) हुन्छ । यसमा अल्कोहलको मात्रा ६ प्रतिशत ABV भन्दा बढी हुन्छ । वियर भन्दा बढी क्यालोरी युक्त हुने भएकोले यसलाई स्वास्थ्यकर मानिदैन ।

१३) पेरी (Perry) : एप्पल साइडरबाट साइडरको अल्कोहल बनाए जस्तै नासपातीबाट पेरी

(Perry) बनाइन्छ। पेरीलाई विशेष किसिमबाट कुहाई त्यसलाई प्रशोधन गरी पेरी तयार गरिन्छ । रोमन साम्राज्यको समयदेखि नै यसको उत्पादन भएको उल्लेख पनि कतै कतै पाइन्छ। खासमा वेलायत र सोको औपनिवेशिक देशमा यसको लोकप्रियता छ । पछिल्लो समय Perry Cider को पनि उत्पादन हुन थालेपछि यसमा थप विवादहरू पनि देखिए। अल्कोहलको मात्रा पेरीमा ५ देखि ८ प्रतिशत सम्म हुने गरेको छ। यसलाई पनि वियरको रूपमा मानिदैन किनकी यो फलफूलबाट (पेरी) बाट बन्दछ । बरु यो वाइनको स्वादको रूपमा लिन सकिन्छ। पेरी मुलतः वेलायत, फ्रान्स, क्यानाडा, न्यूजिल्याण्ड र अस्ट्रेलियामा उत्पादन गरिन्छ ।

१४) वियर (Beer) : वियरलाई सबै भन्दा पूरानो र बढी उपभोग हुने मदिरा जन्य वस्तुको रूपमा लिइन्छ । मकै, गहुँ, चामल एवं जौलाई विशेष किसिमले कुहाएर त्यसलाई स्वादिलो बनाइन्छ। अन्य मदिरा जस्ता वियरमा धेरै प्रशोधन गरिदैन । हेर्दा पनि यो अर्ध तयारी जस्तो देखिन्छ । वियर फर्मेन्टेशनको प्रक्रियाबाट उत्पादन गरिने ०.५ प्रतिशत देखि ८ प्रतिशतसम्म अल्कोहलको मिश्रण भएको पेय पदार्थ हो ।

खासगरी जौ, हप्स र मर्चा (Malt, Hops, Yeast) को मिश्रणलाई जैविक रासायनिक प्रक्रियाबाट कुहाएर छानेपछि त्यसको प्रशोधन रस वियर बन्दछ । मकैको ग्रीट, चामलको कनिका र चिनीलाई समेत कच्चा पदार्थको रूपमा प्रयोग गरिन्छ । Pub Culture का Pub Crawling एवं Pub Games मा वियरको अनेक रूपबाट उपभोग गर्ने चलन छ । वियरमा अल्कोहलको मात्रा कति हुने भन्ने सन्दर्भमा ४-७ प्रतिशत ABV र औषत ५ प्रतिशत ABV हुनुपर्दछ भन्ने मानिएको छ। चीन, संयुक्त राज्य अमेरिका, ब्राजिल, जर्मनी, रुस, मेक्सिको, जापान, वेलायत, पोल्याण्ड तथा स्पेन अत्याधिक वियर उत्पादन गर्ने मुलुकमा पर्दछन् ।

अन्तःशुल्क प्रशासकले सिक्नुपर्ने कुरा

राजस्व प्रशासनमा काम गर्ने हरेक व्यक्तिले माथि प्रस्तुत गरिएको विषयमा गहिरो अध्ययन गरी जानकारी लिनुपर्ने हुन्छ । मदिराको कच्चा पदार्थको आयात गर्दा सो पदार्थको यकिन गर्न, पूर्ण तयारी मदिराको आयात गर्दा सोमा लाग्ने राजस्वको निर्धारण गर्न, कुन मदिराको अल्कोहल शक्ति कति छ भन्ने यकिन गर्न, वस्तुको हार्मोनाइज कोड यकिन गर्न पनि मदिराजन्य वस्तुको प्राविधिक बनोटका बारेमा यथेष्ट तथ्य केलाउनुपर्ने हुन्छ ।

त्यस्तै गरी आन्तरिक रूपमा अन्तःशुल्कजन्य वस्तुको उत्पादनदेखि निष्काशनसम्म अन्तःशुल्क अधिकृतले निगरानी गरी सो को प्रमाणीकरण समेत गर्नुपर्ने कर्तव्य हुन्छ। उत्पादनका क्रममा हुने हानी नोक्सानीको समेत यथार्थ हिसाब अधिकृतले राख्नुपर्दछ । भन्सार अधिकृतले आयात निर्यातमा र अन्तःशुल्क अधिकृतहरूले इजाजत अनुमतिपत्रको स्वीकृति दिँदादेखि प्रतिष्ठानहरूमा अन्तःशुल्क जन्य मदिराको उत्पादनदेखि निष्काशन, गोदाम निरीक्षण, अन्तःशुल्क टिकटको नियमनसम्मका लागि यी माथि प्रस्तुत भएका प्राविधिक विषयमा दक्षता राख्नु जरुरी छ ।

अन्तःशुल्क लाग्ने मदिरामा धेरै करको भार हुने भएकाले आन्तरिक राजस्व विभागले यसको प्रशासन गर्दा, कर छलीको मुद्धा प्रस्तुत गर्दा पनि यो विषयका प्राविधिक पक्षमा क्षमता विकास गर्नुपर्ने हुन्छ। आयात निर्यातका सन्दर्भमा भन्सार प्रशासन र राजस्व चुहावटका सन्दर्भमा राजस्व अनुसन्धान विभागमा कार्य गर्ने कर्मचारहीरूका लागि पनि यो विषय उपयोगी हुने विश्वाश गर्न सकिन्छ ।

(कर स्मारिका २०८० बाट साभार)

Advertisement