बैंकहरू मिटरब्याजी जस्तो भएः केपी ओली, ‘पोखराबाट उडान गर्न कस्ले रोक्यो ?’

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालका बैंकहरू मिटरब्याजी जस्तो भएको भन्दै त्यस्तो हुननहुने बताएका छन् । नुवाकोटमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले बैंकले निर्मम साहु, मिटरब्याजी तरिकाले नभएर विकासको लागि सहयोगी र अनकुल संस्थाको रुपमा काम गर्नुपर्ने बताए । 

ओलीले बैंकहरुले जुन शर्तमा व्यवसायीहरुलाई ऋण दिएको हो त्यो शर्त पालना गर्न आवश्यक रहेको बताए । उनले बैंक र ऋणहरुबीच ब्याजदर लगायतका विषयमा शर्त पालना नभएर दुवैपक्षबीचको सहमतिमा ब्याजदर घटबढ गर्नुपर्ने बताए । ओलीले पछिल्लो समय बैंक र ऋणीहरुबीचको सहमतिमा ब्याजदर घटबढ गर्ने नियमावलीमा लेखिएको भएपनि घट्ने हुँदै नहुने तर बढ्ने मात्रै भइरहेको टिप्पणी गरे । 

Advertisement

ओलीले बैंकले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै बैंकहरुले कर्जाको ब्याजदरलाई एकल अंकमा ल्याउनुपर्ने बताए । उनले अफ्ठ्यारोमा परेका व्यवसायीहरुलाई केही समयको लागि म्याद थप गरेर उद्यम व्यवसायहरू सहयोग गर्न आग्रह गरे । 

ओलीले बैंकहरुले व्यवसायीको व्यवसाय डुब्न लाग्यो भने साहेयता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने अवस्था सिर्जना गर्नुपर्ने बताए । उनले अफ्ठ्यारोमा परेको बेला ऋणीहरुको गज्जबको जग्गा रहेछ भन्दै लिलामीमा राख्ने तरिका उपयुक्त नभएको बताए । 

निक्षेपकर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार भएको बताउँदै ओलीले बैंकमा ऋण लिनेहरू फालाफाल भएकाले अहिले बैंकहरूले ऋण लिनेहरूको महत्व बुझ्न नसकेको बताए । उनले ऋण लिनेहरुले नै बैंकहरु चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने भएको भन्दै बैंक र ऋणीहरुको सम्बन्ध तनावको रुपमा नभएर सुमधुर हुन आवश्यक रहेको बताए । 

ओलीले भने, ‘बैंकहरुबाट जुन शर्तमा ऋण दिएको छ त्यो शर्त पालना हुनुपर्छ । कुनै कारणवस त्यो शर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुई पक्षको सहमतिपछि मात्रै बैठकले घटबढ गर्नेछ भन्ने लेख्या हुन्छ । तर, घट् भन्ने त लेख्या मात्रै हो कहिल्यै हुँदै हुँदैन । बढमात्रै हुने हो । त्यो बढ एकलौटी बढ्न नपाउने व्यवस्था हुनुपर्छ । अहिलेको अवस्थामा रहेको ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्छ । रिस्टक्चरिङ गर्नुपर्छ । अलिकति म्याद थप गरेर उद्यम व्यवसायहरू अपm्ठ्यारोमा परेको बेलामा सहयोग गर्नुपर्छ  । कहिले कहिले व्यवसाय डुब्न लाग्यो भने साहेयता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने गर्नुपर्छ । अफ्ठ्यारोमा प¥यो भनेदेखि धकलदियो भने यो गज्जबको जग्गा रहेछ लिलामीमा गयो भने यो कम्पनीले किन्छ,यस्तो मान्छेले किन्छ,महँगोमा बेच्न सकिन्छ लिलाम गरिहाल्यौं भन्ने खालको भन्ने तरिका उपयुक्त हुँदैन । बैंकले निर्मम साहुजी होइन, मिटरब्याजी तरिका होइन बैंकले विकासको लागि सहयोगी र अनकुल संस्थाको रुपमा काम गर्नुपर्छ ।’ 

उनले थपे, ‘बैंकले के बुझ्नुपर्छ भने डिपोजिटकर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार हुन् । लोन लिए न बैंक चल्छ पैसा थुपारेर बैंकले के गर्छ ? डिपोजिट गर्नेहरुको ब्याज कसरी फिर्ता गर्छ । त्यसकारण अहिले ऋण लिनेहरू फालाफाल भएको हुनाले अहिले बैंकहरूले ऋण लिनेहरूको महत्व बुझेका छैनन् । ऋण लिनेले नै हो बैंकहरु चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने त्यसकारण यो सम्बन्ध तनावको रुपमा होइन सुमधुर सम्बन्धनको रुपमा बनाउनुपर्छ । आईएलओको सिद्धान्तको रुपमा विकास गर्नुपर्छ । सरकार लगानकर्ता रोजगारदाता र मजदुरहरुबीचको सांवादबाट आइएलओको सिद्धान्तले सहमति निकाल्छ । त्यो हामीले गरेका पनि छौं ।’

नेता ओलीले वर्तमान सरकारले सार्वभौमसत्ताको सम्मान गर्न नसकेको टिप्पणी गरे । उनले आफू प्रधानमन्त्री भएको बेला बनाएको पोखरा विमानस्थलमा वर्तमान सरकारले उडान भर्न नसकेको भन्दै आपत्ति जनाए । पोखरा विमानस्थलबाट जहाज उडान गर्न सरकारलाई कसले रोक्यो ? भन्दै ओलीले प्रश्न गरे । 

उनले पोखरा मात्रै नभएर भैरहवा विमानस्थलमा समेत वर्तमान सरकारले जहाज उडाउन नसकेको बताए । चिनियाँ ठेकेदारले विमानस्थल बनायो भन्दैमा उडान गर्न नदिने विषयलाई सरकारले मान्ने काम राम्रो नभएको ओलीले बताए । उनले भने, ‘हामीले हाम्रो सर्वभौम सत्ता हामी सर्वभम देश हौं  । सार्वभौम सत्ताको आफैले सम्मान गर्न सकेनौं अरु कसले गरिदिने ? हाम्रो स्वाधिनता र स्वतन्त्रताको आफैँले सम्मान गर्न सकेनौं र त्यसमा आफैँ उभिन चाहेनौं भने कसले उभिने ? हामीले पोखरामा विमानस्थल बनायौं । यो अहिलेको लुते सरकारले किन प्लेन उडाउँदैन त्यहाँबाट ? नउडाएको किन ? मेरो आपत्ति यो हो । हामीले भैरहवामा विमानस्थल बनायौं । किन उडाउँदैन । चिनियाँ ठेकेदार कम्पनीले सस्तोमा ठेक्का पार्यो उसले निर्माण गर्यो । त्यसकारण हुन दिन्न । उडान भर्न दिन्न कसैले भन्छ भने त्यो कुरा नेपालले मान्ने ? जसले सस्तोमा बनाई दिन्छ त्यसैलाई बनाउन दिनुपर्छ । जसले सस्तोमा सामान दिन्छ त्यसैको सामान किन्नुपर्छ । जसले हाम्रो सामान महँगोमा किन्छ त्यसैलाई हाम्रो सामान बेच्नुपर्छ । हाम्रो शान्ति,न्याय र समानता केन्द्रित परराष्ट्र नीति छ । हाम्रो असंग्लन, तटस्थ कतैतिर नलाग्ने,कसैको कर दबाबमा नपर्ने न्यायमा जल्ने हाम्रो परराष्ट्र नीति त्यही हो । हामीले भनेका छौं हाम्रा कोही शत्रु छैनन् । सबै मित्र मात्रै छैनन् । कोही पनि मित्रहरुले मित्र जस्तै व्यवहार गर्नुपर्छ । त्यसका लागि हाम्रो सरकारले कुरा वा वार्ता गर्नुपर्छ । बोल्नै नसक्ने भयो भनेर हिजो पनि भनेको थिए  ।’

अध्यक्ष ओलीले नेपाल विकासको फड्को मार्न चाहेकाले जसले सस्तोमा बनाइ दिन्छ उसैलाई बनाउन दिनुपर्ने बताए । उनले जसले सस्तोमा सामान दिन्छ उसको किन्ने र महँगोमा जसले हाम्रो सामान किन्छ उसैलाई सामान बेच्नुपर्ने बताए । 

Advertisement

Advertisement