काठमाडौं । बीमा गराएका बीमितहरुले सक्कली हकवाला नराख्दा बीमा क्षेत्रमा समस्या हुने गरेको पाइएको छ । बीमा गर्दा एउटालाई हकवाला राख्ने तर बीमा दावी लिने बेला अर्को हकवाला अगाडि आउँदा समस्या हुने गरेको हो ।
कतिपय बीमितले हकवालामा आफ्नी श्रीमतीको नाम राख्नुपर्ने ठाउँमा अन्य स्त्री वा प्रेमिकाको नामसमेत राख्ने गरेको पाइएको छ । यसले गर्दा घरपरिवारमा समेत विवाद नभएर कम्पनीले समेत झन्झ व्यहोर्नुपर्ने गरेको छ । यस्तो विवाद समाधानको सहज उपाय खोज्नुपर्ने ठाउँमा कम्पनीहरु पनि सोही विवाद थाँकी राखेर दावी भुक्तानीमा ढिलाई गर्ने गर्छन् ।
तर नेपाल बीमा प्राधिकरणले भने यस्तो विवादमा जीवन बीमा कम्पनीहरुलाई मात्रै दोष दिन नमिल्ने तर्क गर्छ । प्राधिकरणका अनुसार हकवाला तोक्ने अधिकार पूर्णरुपमा सम्बन्धित बीमितलाई नै हुने भएकाले त्यस्ता बीमितले नै राख्न रुचाएको नामका कारण समस्या उत्पन्न हुने गर्छ । यस्ता घटना एकाधरुपमा देखिए पनि यो ठूलो समस्या रहेको प्राधिकरणको स्वीकारोक्ति छ ।
प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले भने, ‘आफ्नै मान्छेले छानेका ‘नोमिनि’ (हकवाला)का कारण उनको वास्तविक श्रीमतीहरुले समस्या भोग्नुपर्ने स्थिति सिर्जना भएको छ । हामीले त सुरुमै एकाघर परिवारको सदस्यले मात्रै बीमितको हकवाला बस्न मिल्ने प्रावधान लागू गरिसकेका छौं । त्यस्तो प्रावधान जारी भए पनि यसमा समस्या भनेको बीमा कम्पनीले पैसा दिने कुरामा नभई बीमितको मनोविज्ञानमा नै आधारित भएको जस्तो देखिन्छ ।’
यस हिसाबले हेर्दा बीमा गर्दा हकवाला राख्नै पर्छ तर ती हकवालको सन्दर्भमा अब कसैको बीमा गरिएको छ भने उनका वास्तविक हकवालाले केही चनाखो हुनुपर्ने देखिन्छ । हालसम्म बीमा गराएका व्यक्तिले आफ्नो हकवाला तोक्दा त्यस्ता व्यक्ति बीमा कम्पनीमा उपस्थित हुनुपर्दैन । बीमा गर्न बीमित स्वयम मात्रै उपस्थित हुनुपर्ने र निजको हकवाला अमेरिका वा अष्ट्रेलिया जहाँ भए पनि त्यस्ता व्यक्तिको बीमा हुने प्रावधान रहिआएको छ ।
यसरी हेर्दा बीमा प्राधिकरणले पनि एकातिर नामै किटेर बीमित स्वयमले गडबढी गर्यो भनेर पनि भन्न सक्दैन भने अर्कातिर सक्कली हाकवालाले दाबी भुक्तानी नपाउँदा त्यसको पनि कानुनी उपचार गर्ने विशेष ठाउँ छैन् । बीमा क्षेत्रमा नक्कली हकवालाहरुको नाम हावी हुँदा वास्तविक सरोकारवालाहरुले अधिकार पाउनबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको एक जीवन बीमा कम्पनीका पुराना अभिकर्ताले कर्पोरेट नेपाललाई बताए ।
उनका अनुसार बीमितले कहिले हतारमा कहिले जानेर नै आफ्नो नजिकको हकदार श्रीमान वा श्रीमतीलाई हकवाला नराखेर अर्कोलाई राखिदिने तर दावी लिन आउनेबेला नजिकको हकदार आउने गर्दा समस्या सिर्जना हुने गरेको छ । यसको फाइदा बीमा कम्पनीहरुलाई हुने गरेको छ । यही विवादमा बीमा कम्पनीले दावी भुक्तानी दिन झुलाएर राख्ने गर्छन् ।
स्रोतका अनुसार एकै व्यक्तिले चार–पाँच करोड रुपियाँसम्म बीमांक बराबरको बीमा गर्न मिल्ने भएकाले त्यस्ता बीमितको निधनपछि पनि उनका वास्तविक हकवालाहरु समस्यामा पर्न थालेको छ । त्यसरी पीडामा पर्दा एकातिर वास्तविक हकवालासँग आफ्ना घरमूली नरहने अवस्था रहेको छ भने अर्कातिर उनीहरुले आफूले पाउनु पर्ने बीमांक रकम (बीमाबाट पाईने अन्तिम भुक्तानीको पैसा) पनि पाउन नसकेको अवस्था छ ।
नक्कली इच्छाईएको व्यक्तिको सन्दर्भमा प्राधिकरण र जीवन बीमा कम्पनीहरुले प्रभावकारी भूमिका खेल्नु पर्ने देखिन्छ ।