लगानी सम्मेलन अघि कन्ट्री रेटिङको काम गर्छौंः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनुअगावै कन्ट्री रेटिङको प्रक्रिया सम्पन्न गर्ने बताएका छन् । 

सोमवार अर्थ मन्त्रालयमा विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा जानकारी दिन भएको छलफलमा वैशाखअघि नै कन्ट्री रेटिङ गरिसक्ने बताएका हुन् । अर्थमन्त्री महतले नेपालमा लगानी गर्न आवश्यक पर्ने सबै खालका नीतिगत ऐन नियमहरु परिमार्जन गर्न सरकारले प्रमुख प्राथमिकता दिने बताए । 

Advertisement

उनले काम गर्ने प्रक्रियागत झन्झट,काम गर्ने कार्यशैली सम्मेलन अगावै परिवर्तन हुने उल्लेख गरे । महतले सरकारले निजी क्षेत्रको लगानी ल्याउन कठिन भएपनि लगानी भित्र्याउन सहजिकरण गर्न प्रतिवद्ध रहेको बताए । सम्पत्ती शुद्धीकरणसम्बन्धी बलियो कानून बनाउनुपर्ने र अन्य कानुनमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि पनि सरकार प्रतिवद्ध रहेको बताए । 

अर्थमन्त्री महतले  लगानी सम्मेलनमा निजी क्षेत्रलाई आकर्षित गर्ने मुख्य उद्देश्य रहेको बताए । उनले  वैदेशिक लगानीका लागि नेपाल सबै भन्दा उपयुक्त रहेको दाबी गरे । नेपालमा जलविद्युत, पर्यटन, सफ्टवेयर लगायतका क्षेत्रमा लगानी गरेर नाफा कमाउने सम्भावना रहेको बताए । 

उनले लगानी भित्र्याउनको लागि सरकार नीति र कानूनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर सिर्जना गर्न तयार रहेको बताए । उनले लगानीकर्ताका खराब अनुभवलाई हटाउँदै जानसके पनि नेपालमा लगानी आकर्षित गर्न सकिन्छ भन्नेमा सचेत रहेको बताए ।  

 

Advertisement