चालु बजेट नै प्रभावकारी कार्यान्वयन हुन नसकेको बेला नयाँ बजेट निर्माणको तयारीमा सरकार

Advertisement

काठमाडौं । सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताएका छन् । चालु आर्थिक बर्षको बजेटको कार्यान्वयन नै प्रभावकारी हुन नसकेको बेला सरकारको ध्यान आउँदो बजेटतर्फ गएको हो । 

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा अर्यालले आगामी माघदेखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट निर्माणको कामलाई सरकारले अघि बढाउने बताए । 

Advertisement

उनले बजेट, नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव सरकार दिन पनि सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आग्रह गरे । अर्यालले १६ औं योजनाको दस्तावेजलाई पूरा गर्ने कामलाई पनि सरकारले अघि बढाएको पनि बताए । उनले बजेट, नीति तथा कार्यक्रमबारे सुझाव दिँदा कारण खुलाएर दिन सम्बन्धित क्षेत्रका विज्ञहरुको ध्यानाकर्षण गराए । 

अर्यालले संघीयतासम्बन्धी कानून निर्माणको काममा सरकार लागे पनि सोचेअनुसार काम हुन नसकेको स्वीकार गरे । आर्थिक मन्दीका कारण लक्ष्यअनुसार राजश्व उठ्न नसक्दा चालु वर्षको पहिलो चार महिना २४ दिनमा सरकारको आम्दानीको तुलनामा खर्च ८७ अर्बले बढि भएको छ । 

स्रोत व्यवस्थापनमा दबाबमा रहेको सरकारले चालु खर्च धान्न पनि चर्को ब्याजदरमा आन्तरिक ऋण लिने र विदेशी ऋणका लागि दाताहरुसँग हारगुहार गर्दै आएको छ । यस बर्ष चालु शीर्षकमा तीन खर्ब ४१ अर्ब ६८ करोड खर्च भएको छ । यस्तै, विकास खर्चतर्फ ३३ अर्ब ६४ करोड खर्च भएको छ भने वित्तिय व्यवस्थातर्फ ५६ अर्ब ९३ करोड खर्च भएको छ । 

खर्च धान्नका लागि सरकारले कार्तिक महिनासम्म एक खर्ब १३ अर्ब १६ करोड आन्तरिक तथा बाह्य ऋण लिइसकेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार कार्तिकसम्म आन्तरिक ऋणको ९७ अर्ब ३१ करोड र बाह्य ऋण १५ अर्ब ८५ करोड सरकारले लिएको छ । जसमध्ये ८७ अर्ब ऋणको पैसा सरकारले खर्च गरिसकेको छ । 

हालसम्म सरकारको कुल ऋण दायित्व २३ खर्ब ५७ अर्ब ६ करोड पुगिसकेको छ । जसमा आन्तरिक ऋणको हिस्सा ११ खर्ब ८३ अर्ब ५७ करोड र बाह्य ऋण ११ खर्ब ७३ अर्ब ४९ करोड पुगिसकेको छ । चालु आर्थिक वर्षमा आन्तरिक ऋण दुई खर्ब ४० अर्ब उठाउने सरकारको लक्ष्य छ । 

Advertisement

Advertisement