सहकारीमा चरम राजनीतिकरणः नेफ्स्कुनको अध्यक्षको उम्मेदवार एमालेको विभागद्धारा घोषणा

Advertisement

काठमाडौं । सहकारी क्षेत्रमा कायम रहँदै आएको चरम राजनीतिकरणको नमुना यस पटक बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को निर्वाचनमा पनि देखिएको छ । 

नेफ्स्कुनको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनका लागि नेकपा एमालेले बैठक बसेर नै अध्यक्षको उम्मेदवार छनोट गरेको छ । मंगलबार हार्दिक होटलमा एमालेको सहकारी विभागका प्रमुख खगराज अधिकारीको नेतृत्वमा बसेको बैठकले नेफ्स्कुनको पुस ७ र  ८ गते राजधानीमा हुन लागेको निर्वाचनका लागि परितोष पौडेललाई अध्यक्षको रुपमा प्रस्तुत गर्ने निर्णय गरेको हो । 

Advertisement

नेफ्स्कुनमा मात्रै नभएर राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, अरु केन्द्रीय तथा जिल्ला संघमा एमालेले पकड कायम गर्दै आएको छ । गैरसरकारी संस्था (एनजीओ) महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ जस्ता क्षेत्रलाई आफ्नो कार्यकर्ता उत्पादनको माध्यम बनाउँदै आएको एमालेले सहकारी क्षेत्रमा पनि नियन्त्रण गर्दै आएको छ । यस्ता संघसंस्थाहरुमार्फत एमालेले आफ्ना कार्यकर्ताहरुलाई जागिर खुवाउने, उनीहरुलाई आम्दानीको माध्यम बनाउने, राज्यस्रोतको दोहोन गर्ने र सोहीमाध्यमबाट आफ्नो भोट बैंक सुरक्षित गर्ने काम गर्दै आएको छ । 

अर्को ठूलो दल नेपाली कांग्रेसले न त्यो क्षेत्रमा पडक कायम गर्न सकेको छ, न एमालेको यो सिण्डिकेटलाई तोड्न नै सकेको छ । नेफ्स्कुनमा पनि आफ्नो पठक कायम राख्न एमालेले परितोषलाई दोहोर्याएर अध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत गर्ने निर्णय गरेको हो । एमालेकै बफादार कार्यकर्ता रहेका राष्ट्रिय सहकारी महासंघका अहिलेका अध्यक्ष मिनराज कंडेल पनि नेफ्स्कुनकै प्रोडक्ट हुन् । त्यसअघि महासंघको अध्यक्ष नेकपा एमालेका नेता केशब बडाल थिए ।  सहकारी क्षेत्रलाई दलहरुले नियन्त्रण गर्ने नाममा व्यवसायिक ढंगले चल्न नदिँदा यो क्षेत्र अस्थिर र बदनाम बन्दै गएको छ । 

यद्यपि परितोषलाई यस पटक भने चुनाव जित्न चुनौतिपूर्ण देखिन्छ । पौडेलसँग नेफ्स्कुनकै हालको वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् । विगत चार बर्षे कार्यकालमा नेफ्स्कुनको स्रोत साधनको अध्याधिक दुरुपयोग गरेको भन्दै धेरै सदस्य उनीदेखि रुष्ट छन् । उनले नेफ्स्कुनको अध्यक्ष भएर पाँच वटा सहकारीको मर्जर गराए पनि पाँच वटै असफल भएका छन् । सहकारी अभियान्ताको नाममा तालिम दिने र किताव निकाल्ने नाममा सहकारी संघसंस्थाहरुबाट ठूलो रकम अशुल गर्दै अकुत आम्दानी गरेका पौडेलमा सहकारीको ज्ञान भए पनि नेतृत्व क्षमता नभएको नेफ्स्कुनका प्रतिनिधिहरुको भनाई छ । 

देशभर बचत तथा ऋणको कारोबार गर्ने संस्था १४ हजारको संख्यामा रहे पनि नेफ्स्कुनमा सदस्य भने चार हजार नौ सय जति मात्रै छन् । तीमध्ये पनि अद्यावधिक भएका संस्था तीन हजार पाँच सय रहेको नेफ्स्कुनको भनाई छ । यस पटक नेफ्स्कुनको बार्णिक साधारणसभामा दुई हजार ६४० प्रतिनिधि मात्रै सहभागी हुने निश्चित भएको जनाइएको छ । 

Advertisement

Advertisement