राजश्व लक्ष्यअनुसार नउठेपछि जथाभावी खर्च र रकमान्तर रोक्न अर्थमन्त्रीले गठन गरे कार्यदल

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले जथाभावी बजेट खर्च, रकमान्तर रोक्न र बजेट प्रणालीलाई प्रभावकारी बनाउन भन्दै कार्यदल गठन गरेका छन् । 

मन्त्री र कर्मचारीले बजेट प्रणालीभन्दा बाहिरबाट खर्च गर्न नमिल्ने व्यवस्था गर्न अर्थ मन्त्रालयले यस्तो कार्यदल बनाएको हो । 

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत कार्तिक १५ गते मन्त्रालयलाई लक्षित गर्दै २२ बुँदे कडा निर्देशन जारी भएपछि कर्मचारीहरु निर्णय गर्न हच्किन थालेका थिए । सोही समस्यालाई सम्बोधन गर्न अर्थमन्त्री महतले अख्तियारको निर्देशनअनुसार कानुन कार्यान्वयनका लागि कार्यदल बनाएका हुन् । 

मन्त्रालयले बजेट प्रणालीलाई प्रभावकारी बनाउन तीन वटा कार्यदल बनाएको छ । प्रणाली सुधार गर्नका लागि बजेट महाशाखाका उपसचिव टीकाराम भुसालको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन भएको छ । 

उक्त कार्यदलमा उपसचिव रमेश शर्मा, दिलिपकुमार केसी, ज्ञानेन्द्र ओझा, सूचना प्रविधि निर्देशक प्रशासन महाशाखाका शाखा अधिकृतहरु रघु पराजुली, रामकुमार श्रेष्ठ, मातृका नेपाल, बुद्धिप्रसाद पन्त, दिनेश खनाल, खेमेन्द्रमणि घिमिरे, कम्प्युटर इन्जिनियर अमर सुवेदी र विना श्रेष्ठ सदस्य छन्।   

कार्यदललाई मन्त्रालयगत बजेट सूचना प्रणाली, प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली सुधारका लागि सिफारिस गर्ने कार्ययोजना दिइएको छ । यस्तै, यो कार्यदलले बजेट प्रणाली सुरक्षाको अध्ययन गरी सुझाव पेश गर्नुपर्नेछ । त्यस्तै, कानुन बमोजिमको २५ प्रतिशत रकमान्तर अनिवार्य दायित्व खर्चको रकमान्तर त्रैमासिक संशोधन सम्बन्धमा सुझाव पेश गर्नु पर्नेछ । बजेट प्रणाली युजर म्यानुअल परिमार्जन गर्न कार्यदलले सुझाव दिनेछ ।   

यस्तै, मन्त्रालयले डिजिटल फाइलिङ व्यवस्थापनको कामलाई पनि अघि बढाउने भएको छ । अहिले लिखित रुपमा मात्रै फाइलिङ गरिँदै आएको छ । 

यसैगरी, रकमान्तर र अर्थ विविध शीर्षकबाट निकासासम्बन्धी कार्यलाई व्यवस्थित बनाउन अर्को कार्यदल गठन गरिएको छ । यो कार्यदलको संयोजकमा जगदिश्वर उपाध्याय छन् । यसको सदस्यहरुमा उपसचिवहरु टीकाराम भुषाल, पूर्णप्रसाद न्यौपाने, देवनारायण पौडेल, दिलिप केसी, ध्रुवप्रसाद पाण्डे, रमेश शर्मा, कम्प्युटर अधिकृतद्धय अमर सुवेदी र सुजिता जोशी सदस्य छन् भने शाखा अधिकृत मातृका नेपाल सदस्य सचिव छन् ।

यो कार्यदललाई रकमान्तर, स्रोतान्तर कार्यक्रम संशोधन, अख्तियारी संशोधन अबन्डामा रहेको रकम बाँडफाँट बजेट रोक्का तथा समर्पण गर्ने हालको प्रक्रियालाई थप सहज बनाउने जिम्मा दिइएको छ । यस्तै, अर्थ विविधबाट हुने थप निकासा तथा लिगानी विविधलाई व्यवस्थित बनाउने उपायहरु सिफारिस गर्ने कार्ययोजना यो कार्यदललाई दिइएको छ । 

Advertisement