अन्धकारमुक्ति सहकारीमा अर्थमन्त्री, ‘राष्ट्र बैंकले मानेन, छुट्टै नियमन निकाय बनाउँदैछु’

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताएका छन् । शुक्रबार रामपुरमा अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा उनले बचतकर्ताहरुको विश्वास दुरुपयोग गर्नेहरुलाई कारवाही गर्ने बताएका हुन् । 

महतले भने, ‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरु एकक्षणका लागि कानुनको दायराबाट भाग्ला, तर सधैं भाग्न सक्दैन । सर्वसाधारणको बचत दुरुपयोग गर्नेहरु कानुनको कठघरामा आवश्य आउँछन् । मेहनत गरेर जम्मा गरेको बचत केही व्यक्तिलाई दुरुपयोग गर्न छुट छैन ।’

Advertisement

निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहभागिता बिना देशको आर्थिक र सामाजिक रुपान्तरण सम्भव नभएको बताउँदै उनले थपे, ‘स्थानीयले मेहनत गरेर कमाएको बचत सहकारीमा जम्मा भएको हुन्छ, त्यसले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । त्यसकारण सहकारीलाई हामीले प्रवर्द्धन, व्यवस्थापन र नियमन गरियो भने नेपालको आर्थिक रुपान्तरणको हतियार बन्छ । नियमनको अभावमा समस्या आए, तर अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था उदाहरण बनेको छ । देशैभरि सहकारी यसरी नै उदाहरण बनेर काम गर्नुपर्ने पर्छ ।’

महतले स्थानीय तहका स–साना बचत परिचालन गर्ने, स–साना आवश्यकता पूर्ति गर्ने, जीविकोपार्जनसँग यसलाई जोड्ने र स्थानीय तहकै जो सदस्य छ, उनीहरुले नै नेतृत्व लिने सहकारीको मूल अवधारणा रहेको बताउँदै यसैकारण यसलाई सहकारी मन्त्रालयअन्तर्गत राखिएको, यसलाई नियमन गर्न नेपाल राष्ट्र बैंक जस्तो कुनै नियमक निकाय खडा नगरिएको बताए । 

उनले भने, ‘हेर्दाहेर्दै यसले विशाल रुप लिएछ । कतिपय ठाउँमा ब्राण्डको रुप लियो । देशैभरि फैलियो । त्यसका व्यवस्थापक को छन् ? सदस्यहरुलाई नै थाहा हुँदैन । यसको नियमक निकाय नभएर यस्तो भएको हो । जसका कारण केही सहकारीमा समस्या देखियो ।’ मन्त्री महतले बजेट निर्माणका बेला सहकारी हेर्ने छुटै नियमक निकाय गठनको कुरा गरेको र त्यो प्रक्रिया अगाडि बढेको बताए । 

राष्ट्र बैंकले ‘हामी सबै हेर्न सक्दैनौं’ भनेपछि वैकल्पिक नियमक निकाय गठनको तयारी गरिएको बताए । महतले सहकारीको विषय राष्ट्रिय रुपमै प्रश्न उठेको बताए । तर अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था पारदर्शी ढंगले बचतकर्ताको एक–एक पैसाको सुरक्षा गर्न सफल भएको उनको दावी छ । यस संस्थाका ११ हजार सदस्य रहेका छन् । 

Advertisement

Advertisement