रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो

Advertisement

रुकुम । रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो ।  जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ । 

सिस्ने–३ का ओमप्रकाश खड्काले दुई सय ५० धार्नी मह बिक्री गरेर यो याममा सात लाख ५० हजार रुपियाँ आम्दानी गरे । अब एक सय ४० धार्नी मह बिक्री हुन बाँकी रहेको उनी बताउँछन् । ‘यस वर्ष राम्रो मह उत्पादन भएको छ । मैले यो याममा मौरी घारबाट निकालेको मह सबै बिक्री भयो भने १२ लाख कमाउँछु,’ उनी भन्छन् । 

Advertisement

सोही वडाका अर्का मौरीपालक किसान कमलाल खड्काले पनि ६०  घारबाट एक सय ८० धार्नी मह निकालेका छन् ।  मह निकाल्न अझै दश  मौरीका गोला बाँकी छन् भने एक सय आठ धार्नी मह बिक्री भइसकेको छ । उनले बिक्री भएको महबाट तीन लाख २४ हजार रुपियाँआम्दानी गरे । अझै ७२ धार्नी मह बिक्री हुन बाँकी छ । यो याममा सात लाख रुपियाँबराबरको आम्दानी हुने उनको विश्वास छ । 

एक धार्नीमा साढे दुई किलो मह हुने गर्छ । एक किलो मह लाई १२ सयसम्ममा बिक्री हुने गरेको जनाइएको छ । यस क्षेत्रको मह रुकुम पश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज पोखरा र काठमाडौँलगायत सहरमा पुग्ने गरेको छ । 

सिस्ने –३ मा यो याममा ९० लाख रुपियाँबराबरको मह उत्पादन भएको वडाध्यक्ष हेराम खड्काले जानकारी दिए । अघिल्लो वर्षका तुलनामा यस वर्ष जिल्लामा दोब्बरले मह उत्पादन भएको एकीकृत तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी जानकारी दिए । 

गत वर्ष जिल्ला मा १२ सय मौरीका गोलाबाट छ सय मेट्रिक टन मात्र मह उत्पादन भएको थियो भने यस वर्ष १७ सय मौरीका गोलाबाट १२ सय मेट्रिक टन मह उत्पादन भएको प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । अझै पनि किसानको मह निकाल्ने काम जारी भएको हुँदा अहिल नै यति मह उत्पादन भएको छ भनेर भन्न नसकिने उनले बताए । 

उत्पादित महको ८० प्रतिशत मात्र बिक्री भयो भने पनि एक करोड १५ लाख २० हजार रुपियाँ आम्दानी हुने कार्यालयले जनाएको छ । 
 

Advertisement