वीरगन्जको बजेट तीन अर्ब ४६ करोड

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटलाई रु तीन अर्ब ४६ करोड पुर्याएको छ ।

महानगरपालिको १४औं अधिवेशनमा चालू आव २०८०/८१ को वार्षिक बजेटमा रु २५ करोड थप गरी रु तीन अर्ब ४६ करोड पुर्याएको हो । चालू अधिवेशनले विनियोजन ऐन, २०८० मा समावेश भएको चालू आव २०८०÷८१ को वार्षिक बजेट रु तीन अर्ब ४६ करोड पुर्याउने प्रस्ताव गरिएको महानगरप्रमुख राजेशमान सिंहले जानकारी दिए ।

Advertisement

१४औं अधिवेशनको नगरसभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्था रहेका कार्यक्रम परिमार्जन गर्दै चालू आवको बजेट थप गरेको हो । यस्तै नगरसभाले विभिन्न योजना तथा कार्यक्रम परिमार्जन पनि गरेको छ । नगरसभाले खानेपानीका लागि महानगरवासीको चार हजार घरधुरीमा धारा जडान गर्न रु ८० लाख थप बजेट छुट्याएको महानगर प्रमुख सिंहले बताए ।

भारतीय दूतावाससँगको सहकार्यमा महानगरका चार हजार घरमा धारा जडानका लागि थप बजेट छुट्याइएको उनको भनाइ छ । दूतावासको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी हुने गरी धारा जडानको कार्य अघि बढाउन बजेटमै संशोधन गरेर महानगरले भुक्तानी गर्नुपर्ने २० प्रतिशत रकम विनियोजन गरेको महानगर प्रमुख सिंहले जानकारी दिए ।

यस्तै नगरसभामा विभिन्न विधेयक पनि पेस गरिएको छ । वीरगन्ज महानगरसभाको कार्यसञ्चालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवं संवद्र्धन विधेयक, संघसंस्था दर्ता तथा नियमनसम्बन्धी विधेयक सभामा पेस गरिएको छ ।

साथै, बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजतसम्बन्धी कार्यविधि २०७५ तेस्रो संशोधन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण संशोधन विधेयक पनि पेश गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जानकारी दिए । आवश्यक कानुन अभावमा काम गर्न असहज भएकाले सभामा विधेयक पेस गरिएको उनको भनाइ छ ।

Advertisement

Advertisement