रिद्धिसिद्धि सिमेन्टको कारोबार साढे पाँच अर्ब, भारतीय बजारतर्फ निर्यात बढाउँदै

Advertisement

काठमाडौं। रिद्धिसिद्धि सिमेन्टले सन् २०२३ मा पाँच अर्ब ४९ करोड १० लाख रुपियाँको व्यापार गरेको छ । यो व्यापार सन् २०२२ को भन्दा ९९ करोड रुपियाँ कम हो । 

रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार कम्पनीले सन् २०२२ मा छ अर्ब ४८ करोड १० लाख बराबरको व्यापार गरेको थियो भने सन् २०२१ मा छ अर्ब ३७ करोड बराबरको व्यापार गरेको थियो । 

Advertisement

आर्थिक मन्दीका कारण निर्माण कार्यमा सुस्तता आउँदा चालु आर्थिक वर्षमा रिद्धिसिद्धिसहित धेरैजसो सिमेन्ट कम्पनीको व्यापार घटेको छ । यस कम्पनीमा दुई चर्चित व्यावसायिक घराना शंकर ग्रुप र अम्बे ग्रुपको लगानी छ । 

रिद्धिसिद्धिले सिमेन्टसहित क्लिङकर समेत बिक्री गर्ने गरेको छ । आफ्नो उत्पादनको ७० प्रतिशत क्लिंकर उपयोग गरी आफैं उत्पादन गर्ने यो उद्योगले ३० प्रतिशत क्लिंकर भने बिक्री गर्ने गर्छ । 

हेटौंडाको रातमाटेमा उद्योग रहेको यो उद्योगले रिद्धिसिद्धि र मकवानपुर ब्राण्डको सिमेन्ट बिक्री गर्ने गर्छ । कम्पनीको उत्पादन क्षमता प्रतिदिन दुई हजार ७६० टन रहेको छ । कम्पनीको कुल ऋण १० अर्ब ७७ करोड रुपियाँ रहेको छ ।

रिद्धिसिद्धिले भारतबाट ओपीसी सिमेन्टमा भारतीय स्ट्यार्डड (गुणस्तर) प्राप्त गरिसकेको छ । भारतीय बजार नजिक रहेको कारण उद्योगले निर्यात गरी सो बजारबाट अधिकतम् फाइदा लिने प्रयास गर्दै आएको छ । 

Advertisement