लामो समयदेखि ज्योति समूहले बिक्री गर्दै आएको हिरो अन्ततः चौधरी ग्रुपले लान सफल

Advertisement

काठमाडौं । तीन दशकभन्दा लामो समयदेखि ज्योति समूहले बिक्री गर्दै आएको भारतीय अटोमोवाइल ब्राण्ड हिरोको आधिकारिक बिक्रेताको अधिकार चौधरी समूहले हात पार्न सफल भएको छ । यसअघि ज्योति समूहको नेसनल जनरल मार्केटिङ (एनजीएम) आधिकारिक बिक्रेता थियो । 

ज्योति समूहसँगको सम्वन्धमा तिक्तता बढ्दै गएसँगै आधिकारिक बिक्रेताको नवीकरण गर्न हिरो मोटोकर्पले ढिलो गर्दै आएको थियो भने यता चौधरी समूहले आधिकारिक बिक्रेता बन्न प्रयास गर्दै आएको थियो । हिरोको एसेम्ब्लिङ प्लानको समेत निर्माण गरेको ज्योति समूहले यस्तो प्लान्ट राखेपछि दिँदै आएको नाफा तथा सुविधा कटौती गर्ने हिरो मोटोकर्पले शर्त राखेको र त्यो कुरा आफूहरुले स्वीकार नगरेपछि उनीहरुले आधिकारिक बिक्रेताको लाइसेन्स नवीकरण गर्न आनाकानी गरेको बताउँदै आएको थियो । 

Advertisement

चौधरी समूहले हिरोका दुई पाँग्रे सवारी साधन बिक्रीका लागि लामो समयदेखि पूर्वाधार र जनशक्ति तयार गर्ने काम गरिसकेको थियो । यता ज्योति समूहले आफूहरुले हिरोको बिक्रेताको रुपमा अर्बौं रुयियाँ लगानी गरेको र एसेम्ब्लिङ प्लान बनाउँदा समेत करोडौं खर्च भएको भन्दै बिना कारण लाइसेन्स नवीकरण गर्दिन भन्ने हिरो मोटोकर्पले नपाउने अडान राख्दै आएको थियो । सोही अडानसहित ज्योति समूहले दायर गरेको मुद्दामा अदालतले गत बर्ष नै आधिकारिक बिक्रेता नवीकरण नगर्ने हिरो मोटोकर्पको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । 

यद्यपि आज हिरो मोटोकर्पले विज्ञप्ति जारी गर्दै आफूहरुले नेपालमा हिरो मोटोकर्पको नयाँ आधिकारिक बिक्रेताको रुपमा चौधरी समूहलाई छनौट गरेको घोषणा गरेको बताएको छ । मोटोकर्पले नेपालमा आफ्नो ब्राण्डको पुनस्थापना गरेको बताउँदै नयाँ आधिकारिक बिक्रेताको रुपमा चौधरी समूहसँग साझेदारी हिराको उत्पादनहरु एसेम्ब्लिङ गर्न आधुनिक प्लान्ट निर्माण हुने कुरा समेत उल्लेख गरेको छ । 

यस्तो प्लान्टबाट बार्षिक ७५ हजार युनिट उत्पादन हुने जनाउँदै हिरोले यो प्लान्ट नेपालको नवलपरासीमा रहने र आउँदो मार्च महिनाबाट उत्पादन सुरु हुने जनाएको छ । सो कम्पनीले चौधरी समूहसँगको साझेदारी आफूहरुलाई फलदायी हुने अपेक्षा लिएको बताउँदै खुशी जनाएको छ । आफूहरुको लाइसेन्स नवीकरण नभएको विषयमा ज्योति समूहका डा. रुप ज्योतिले कुनै प्रतिक्रिया दिन चाहेनन् । उनले अध्ययन गरेर मात्रै बोल्ने बताएका छन् । यसले दुई ठूला व्यापारिक घटनाबीचको सम्वन्ध भने चिसो हुनसक्ने देखिएको छ । 

Advertisement

Advertisement