नेपाल वायुसेवा र विमानस्थल सुधारसम्बन्धी प्रतिवेदन कार्यान्वयन नगरेकोमा सरकारको आलोचना

Advertisement

काठमाडौं । संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारको लागि हालसम्मका अध्ययन प्रतिवेदनहरु कार्यान्वयन नगरेकोमा सरकारको आलोचना गरेको छ । 

समितिले यी प्रतिवेदनहरु यथाशिघ्र समितिमा पेश गर्न सरकारलाई निर्देशन पनि दिएको छ । संंसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले निगम तथा विमानस्थलहरुको सुधारका लागि हालसम्म भएका अध्ययन, अनुसन्धानसम्बन्धी सम्पूर्ण प्रतिवेदन पेश गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिने निर्णय गर्यो । 

Advertisement

बैठकमा समितिले सो सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँती र निगमका पदाधिकारीसँग छलफल गरेको थियो । समितिको बैठकमा भएको छलफलको आधारमा निगम र विमानस्थलहरुको सुधारसम्बन्धि हालसम्मको अध्ययन प्रतिवेदन छिटो भन्दा छिटो समितिमा पेश गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति राजकिशोर यादवले बताए । 

त्यसैगरी समितिले प्र्र्रधानमन्त्री कार्यालयको विधेयक शाखामा अड्केर बसेको नागरिक उडड्यनसम्बन्धि विधेयकबारे गम्भीर चासो व्यक्त गर्दै त्यसको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन सरकारलाई सचेत गराए । 

सभापति यादवले भने, ‘नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधार तथा समग्र विषयमा के–कस्ता अध्ययन, अनुसन्धानहरु भएका छन्, तिनको प्रतिवेदनहरु समिति समक्ष यथाशिघ्र पेश गर्न मन्त्रालय र नेपाल नेपाल वायुसेवा निगमलाई निर्देशन दिने । यो भन्दा अगाडिको बैठकमा माननीय मन्त्रीज्युले नै नागरिक उडड्यनसम्बन्धि विधेयक क्याविनेटमा पठाइसकिएको जानकारी गराएको स्थिति छ । हाम्रो सचिवालयले प्रधानमन्त्री कार्यालयको विधेयक हेर्ने शाखामा त्यो विधेयकबारे चासो राख्दा स्पष्ट जवाफ आएको छैन । त्यसैले मन्त्रालयले त्यो विधेयकको स्थितिको बारेमा के हो ? मन्त्रालय कुन दिनमा निर्णय गरेर त्यहाँ पठाएको हो, त्यो डेट सहित यो समितिमा उपलब्ध हुनुप¥यो । यदि हामीले यहाँ प्रधानमन्त्रीलाई नै तालुकदार मन्त्रालयले त्यहाँ पठाईसकेको हो भने के कारणले त्यसका पछाडि कुन त्यस्तो शक्तिले काम गरिरहेको छ कि त्यो विधेयक जहाँ जानुपर्ने हो, त्यहाँ गइरहेको छैन । मन्त्रीले त्यो विधेयकको स्टाटस के हो, त्यो चाहीँ समितिलाई जानकारी चाहिएको छ ।’

बैठकमा समितिका सदस्यहरुले नेपाल वायुसेवा निगमको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै यसको सुधारका लागि ठोस कदम नचालेकोमा सरकारको आलोचना गरेका थिए । 

Advertisement

Advertisement