सामान्य युवाको खाताबाट साढे ९ करोडको कारोबार, क्रिप्टोको आशंकामा राजस्वले सुरु गर्यो अध्ययन

Advertisement

काठमाडौं । झापाका एक सामान्य व्यक्तिको खाताबाट अस्वस्भाविक कारोबार भैरहेको सूचना राजस्व अनुसन्धान विभागलाई पुग्यो ।

सूचना पाउनासाथ विभागको टोली ती अन्दाजी २६ वर्षिय युवाको घरमा पुग्यो । सामान्य देखीने ती युवा विभागको टोली पुग्दा बिहानको तरकारी पकाइरहेका थिए। ती युवालाई पक्राउ पुर्जि देखाएर विभागको टोलीले विभागको केन्द्रिय कार्यलय हरिहर भवन ल्यायो । ती युवाको परिचय मुद्दा दायार गर्नुभन्दा अघि विभागले गोप्य राखेको छ ।

Advertisement

विभागले ती युवाको मोबाइल फोन नियन्त्रणमा लिएर हेर्दा एनआइसी एशिया बैंक लगायत खाताहरुबाट अस्वभाविक कारोबार देखियो। यस्तै अर्का एक व्यक्तिको खाता दुरुपयोग गरी कारोबार गरेको भेटिएको छ। थप अनुसन्धान हुँदै जादाँ ती युवकले क्रिप्टोकरेन्सीको कारोबारमा सहभागी भएको भेटिएको छ।

ती व्यक्तिको मोबाइल सम्पूर्ण विवरण हेर्दा क्रिप्टोकरेन्सीमा सहभागी रहेको प्रमाणहरु भेटिएको छ। यस्तै आफू क्रिप्टोकरेन्सीको कारोबारमा सहभागी भएको स्वीकार गरिसकेका छन्। ती युवाले आफू गरिबीको कारण यस्तो कारोबारमा लग्नु परेको विभागका अधिकारीलाई बताएका छन् ।

अनुसन्धानमा सहभागी एक अधिकृतले भने, ‘व्यक्ति सामान्य देखिएपनि कारोबार अस्वभाविक देखिएको छ, सामान्य स्टेसनरी पसल राखेका यी युवाको कारोबार क्रिप्टोबाट भएको आधारहरु भेटिएका छन् ।’

ती युवाको थप सूचना संकलनका लागि मोबाइल फरेन्सिक ल्याबमा पठाइएको छ । ल्याबबाट आज मंगलबार नै रिपोर्ट आउने विभागको भनाई छ। मोबाइलमा भएको विवरणबाटै नै विभागले ९ करोड ३३ लाख बराबरको कारोबार भेटिसकेको छ। फरेन्सिक ल्याबबाट थप प्रमाणहरु संकलन हुने विभागको भनाई छ ।

फरेनन्सिक ल्याबबाट थप प्रमाणहरु आएपछि सरकारी वकिलको कार्यालयलाई रायका लागि पठाउने विभागको तयारी छ। विभागले पछिल्लो समय हुण्डी/ डिजिटल हुण्डीलाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाइरहेको छ ।

विभागले माघ ५ गते राजधानीका विभिन्न स्थानबाट ४ जनालाई २ करोड ३० लाख रुपियाँ सहित नियन्त्रणमा लिएको छ। यो विषयमा थप अनुसन्धान भैरहेको विभागले जनाएको छ । यसअघि विभागले बेटिङ तथा अवैध विदेशी मुद्रा कारोबार गरेको आरोपमा कैलालीका दिनेश खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरी मुद्दा दायर गरेको छ । तर उच्च अदालत पाटनले भने खड्कालाई धरौटीमा छाड्न आदेश दिइसकेको छ। पछि उपत्यका अपराध अनुसन्धान महाशाखाले खड्कालाई अवैध बेटिङमा सहभागी भएको आरोपमा पक्राउ गरिसकेको छ।

यसरी गर्थे क्रिप्टोको कारोबार

नेपालीहरु श्रमिकका रुपमा विश्वका विभिन्न मुलुकहरुमा पुगेका छन् । यसरी काम गर्न जाने नेपालीहरुले स्वदेशमा रहेका आफन्तजनलाई रकम पठाउन विशेष एजेन्ट भेट्ने गरेका छन् । कानुन संम्वत दर्ता भएर व्यावसाय गरिरहेका रेमिट्यान्स कम्पनीको भन्दा धेरै रेट दिएर विदेशी पैसा दलालहरुले लिने गर्दछन् । यसरी दलालहरुले रकम लिएपछि सो रकम बराबरको क्रिप्टोकरेन्सी नेपाली खेलाडीको एकाउन्टमा जम्मा गर्ने गर्दछ । यसरी क्रिप्टो खेल्नका लागि ती युवाले बाइनान्स एप डाउनलोड गरेका थिए । सो एपमा खाता खोली अन्य नेपालीलाई क्रिप्टो खरिद बिक्री गर्ने गरेको भेटिएको छ ।  यसरी जम्मा भएको रकम बराबर पुन विदेश काम गर्न गएका श्रमिकको घरमा पठाउने काम झापाका ती युवाले गर्ने गरेका छन् ।

यस्तो रकम ई-सेवा, खल्ति र कतिपय अवस्थामा बैंक एकाउन्टमै पनि जम्मा गरिदिने गरेका छन् । क्रिप्टोको कारोबार गर्नका लागि अमेरिकी डलर एकाउन्टको आवश्यक पर्छ । तर विदेशी दलालको सहयोग लिई नेपालीले खोल्ने बाइनान्स खातामा नेपाली रुपियाँ नै लिएर क्रिप्टोको खरिद बिक्री हुने गरेको छ ।

नेपालमा आउने अवैध सुनको भुक्तानी समेत क्रिप्टोकरेन्सीबाट कारोबार हुने नेपाल प्रहरीले विवरण सार्वजनिक गरिसकेको छ । यसरी क्रिप्टोको खरिद बिक्री गर्नु विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंकको २०७८ माघ ९ गतेको सूचना विपरित भएको विभागको दाबी छ । अब ती व्यक्ति विरुद्ध सरकारी वकिलको राय लिएर विभागले मुद्दा दायर गर्नेछ ।

undefined

Advertisement