केही खर्च भए पनि बर्षेनी बीमांकीय मूल्यांकन लघुबीमाको अनिवार्य आवश्यकता होः श्रेष्ठ/भण्डारी

Advertisement

काठमाडौं । लघुबीमा कम्पनीहरुले तीन बर्षमा बीमांकीय मूल्यांकन (एक्चुरियल भ्यालुयसन) गराउँदा आफूहरुलाई समस्या भएकाले प्रत्येक आर्थिक वर्षको अन्तिममा यस्तो मूल्यांकनको बाटो खोल्न नेपाल बीमा प्राधिकरणसँग माग गरेको बताएका छन् । 

यस्ता लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले हरेक आर्थिक बर्षको अन्तिममा यस्तो मूल्यांकन नगर्दा जोखिम मूल्यांकन गर्न कठिनाई पर्ने भएकाले आफूहरुले तीन बर्षमा गर्नुपर्ने बीमांकीय मूल्यांकन हरेक बर्ष पनि गर्न सकिने व्यवस्थाका लागि प्राधिकरणसँग माग गरेको बताएका छन् । लघुबीमाको मागअनुसार इच्छाअनुसार हरेक बर्ष पनि बीमांकीय मूल्यांकन गर्न सकिन्छ । 

Advertisement

यसअघि प्राधिकरणले नयाँ स्थापना भएका लघुबीमा कम्पनीहरुको कारोबार सानो हुने र खर्च गर्ने क्षमता पनि कम हुने भएकाले तीन बर्षमा बीमाकंीय मूल्यांकन गर्दा हुने सुविधा दिएको थियो । अहिले सो व्यवस्थामा संशोधन गरी हरेक बर्ष लघुबीमाले यस्तो मूल्यांकन गराउनसक्ने भएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा सीईओहरुले ‘एक्चुरियल भ्यालुयसन’ गर्न अतिरिक्त खर्च लाग्ने भए पनि सो मूल्यांकन आफ्नो आवश्यकता बनेको बताएका छन् । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ प्रतापमान श्रेष्ठले तीन बर्षमा बीमांकीय मूल्यांकन गर्दा आफूहरुलाई ‘टेक्निकल’ समस्या हुने गरेकाले हरेक बर्ष मूल्यांकन गर्ने व्यवस्था माग गरेको बताए । 

उनले भने, ‘पहिला प्राधिकरणले लघुबीमालाई बीमांकीय मूल्यांकन महङ्गो हुने भन्दै तत्कालका लागि तीन वर्षमा मूल्यांकन गर्न मिल्ने व्यवस्था गरेको थियो । हामीले पनि त्यहीअनुसार अघि बढ्ने निर्णय गरेका थियौं । त्यस्तो निर्णयले हामीलाई ‘टेक्निकल’ समस्या देखियो । ‘टर्म पोलिसि’मा अनएक्सपायर्ड रिक्स (असमाप्त जोखिम) धेरै हुने भएकाले त्यस्ता पोलिसिमा बर्षेनी बीमांकीय मूल्यांकन गर्न आवश्यक देखियो ।’ 

कुनै पनि विधिबाट कोषबाट आर्थिक वर्षको अन्तिममा फाइनल हिसाब नभए लघुजीवन बीमा कम्पनीहरुको जोखिम मूल्यांकन नहुने र वर्षैपिच्छे जोखिम बढ्ने मात्रै भएकाले हरेक बर्ष मूल्यांकन जरुरी भएको उनको भनाई छ । श्रेष्ठले थपे, ‘त्यस्तो समस्या देखापरकाले प्रत्येक आर्थिक वर्षको अन्तिममा आफूहरुले बीमांकीय मूल्यांकन गर्ने भनेको हो । लघु जीवन बीमा कम्पनीहरुको समस्यालाई हेरेर प्राधिकरण पनि सहजीकरण गर्न तयार भएको छ ।’ 

उनले बीमांकीय मूल्यांकन गर्ने कुरा आफूहरुलाई बढी खर्चिलो हुने भए पनि लघुबीमाको बीमालेख संख्या थोरै हुने भएकाले ठूला बीमा कम्पनीको तुलनामा केही सस्तो हुने बताए । श्रेष्ठले कम्पनीको संस्थागत विकासका लागि पनि केही पैसा खर्च गर्न आफूहरु तयार रहेको बताउँदै यसले  कम्पनीको सुशासन र पारदर्शीतामा मद्दत गर्ने व्यक्त गरे । 

त्यस्तै, गार्डियन लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ चिरायु भण्डारीले कम्पनीको क्षमता थाहा पाउन वर्षौनी बीमांकीय मूल्यांकन आवश्यक रहेको बताए । उनले भने, ‘बीमा कम्पनीहरुको आर्थिक स्थितिको लेखाजोखा गर्न बीमांकीय मूल्यांकन आवश्यक छ । बीमा कम्पनीले सुरुमै एक्चुरी नियुक्त गर्नुपर्ने प्राधिकरणकै व्यवस्था छ ।’

एक्चुरीले लघुबीमा कम्पनीको हिसाब किताब समयमै हेर्दा वास्तविक ‘फिगर’ आउँछ भन्दै भण्डारीले बीमा प्रोडक्ट बनाउन नै एक्चुरी आवश्यक हुने भएकाले त्यस्ता एक्चुरीबाटै हिसाब किताब गराउँदा धेरै खर्च नहुने बताए । लघुबीमा कम्पनीहरु सुरुवाती चरणमा रहेकाले पनि उनीहरुको वास्तविक सक्षमता थाहा पाउन ‘एक्चुरियल भ्यालुयसन’मा हुने केही खर्च समस्या नहुने उनले बताए । 

भण्डारीले लघुबीमा कम्पनीरुले प्रविधीमैत्री रुपमा आफ्नो काम कारबाही अघि बढाईरहेकाले पनि एक्चुरी भ्यालुयसन गर्न सहज हुने आशा व्यक्त गरे । 

Advertisement