लघु जीवन बीमाको व्यापारमा चार सय प्रतिशतभन्दा धेरैको वृद्धि

Advertisement

काठमाडौं । नयाँ कम्पनीको रुपमा आएका लघु जीवन बीमा कम्पनीको व्यापारमा चार सय प्रतिशतभन्दा धेरैको वृद्धि भएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा उनीहरुको व्यापारमा भारी वृद्धि देखिएको हो । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३० लाख रुपियाँको बीमाशुल्क संकलन गरेका लघु जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमाससम्म अर्थात चालु आवको पहिलो छ महिनामा दुई करोड ५२ लाख बीमाशुल्क संकलन गरेका छन् । 

Advertisement

यो ६ महिनामा क्रेष्ट माइक्रो लाइफको मात्रै व्यापार एक करोड रुपियाँभन्दा धेरै भएको छ । यस्ता लघु जीवन बीमा कम्पनी अहिले तीन वटा मात्रै छन् । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको व्यापार भने केही कम छ । 

क्रेष्ट माइक्रो लाइफका सीईओ प्रतापमान श्रेष्ठले लघुबीमा कम्पनीको तुलनामा लघु जीवन बीमा कम्पनीको व्यापार राम्रो रहेको बताए । उनले भने ‘अरु लघुबीमा कम्पनीको तुलनामा हाम्रो व्यावसाय राम्रो भएको छ । तर, हामीलाई यति व्यावसायले पुग्दैन । आगामी दिनमा व्यावसायको दायरा बढाउनु पर्नेछ । आगामी आर्थिक वर्षबाट हामी रणनीतिक योजनासहित नौला योजना ल्याउने योजना बनाएका छौं ।’

श्रेष्ठले नयाँ कम्पनी भएकाले आफूहरुले काम सुरु गरेको धेरै नभएकाले पनि व्यापार धेरै हुन नसकेको बताए । उनले लघु बीमा कम्पनीहरुले बजारको अध्ययन गरिरहेको र ग्रामीणस्तरबाट यसको महत्व बुझ्न सुरु भएको बताए । 

यस्तो छ लघु जीवन बीमाको ६ महिने व्यापार
क्रेष्ट माइक्रो लाइफले एक करोड ५७ लाख रुपियाँको बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफले ६६ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेको छ भने लिवर्टी माइक्रो लाइफले २८ लाख रुपियाँ बराबरको व्यावसाय आर्जन गरेको छ । यसरी हेर्दा पहिलो ६ महिनामा लघु जीवन बीमा कम्पनीहरुले दुई करोड ५२ लाख रुपियाँ बराबरको व्यावसाय आर्जन गरेका छन् ।

पहिलो त्रैमासमा जम्मा दुई वटा लघु जीवन बीमा कम्पनीहरु मात्रै सञ्चालनमा थिए । तीमध्ये गार्डियनले १९ लाख ३१ हजार रुपियाँ र क्रेष्ट माइक्रो लाइफले ११ लाख ३९ हजार रुपियाँ बीमाशुल्क आर्जन गरेका थिए । सो अवधिमा लिबर्टीले कारोबार शुभारम्भ गरेको थिएन् । त्यति बेला जम्मा ३० लाख रुपियाँ बराबरको व्यावसाय भएको थियो ।

सुरुवाती चरणमा लघुबीमा कम्पनीहरु ल्याउने बेलामा पूराना तथा ठूला बीमा कम्पनीहरु आफ्नो व्यावसाय खोसिने र चर्को प्रतिस्पर्धा हुने कुराले त्रासमा थिए । तर, अहिले लघुबीमाको व्यावसायिक अवस्था हेर्दा नियमनकारी निकायले नै व्यावसाय अन्यन्तै न्यून भएको र तीव्र गतिमा बढाउनुपर्ने बताएको छ । 

ठूला जीवन बीमा कम्पनीहरुले पहिलो ६ महिनामा ७४ अर्ब २२ करोड ६ लाख रुपियाँ बराबरको व्यावसाय आर्जन गर्दा लघुबीमा कम्पनीहरुले दुई करोड ५२ लाख रुपियाँ बराबरको व्यावसाय गरेका छन् । यसरी हेर्दा लघुबीमाले अर्बको व्यापार गर्न अझै केही समय कुनुृपर्ने देखिएको छ । 

Advertisement