संघीय सरकारले तीन करोडभन्दा कमका योजनामा लगानी गर्दैनः प्रधानमन्त्री

Advertisement

पर्सा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सङ्घ सरकारले रु तीन करोडभन्दा कमका योजनामा लगानी नगर्ने घोषणा गरेका छन् । 

उनले संघ, प्रदेश र स्थानीय तहबीच हुने योजनाको दोहोरोपनलाई रोक्न र जनतालाई विकासको प्रत्यक्ष अनुभूति गराउनका लागि रु तीन करोडभन्दा माथिको योजनामा मात्रै सङ्घीय सरकारले लगानी गर्ने बताए ।  

Advertisement

वीरगञ्जको नगरसभागृहमा आज आयोजना गरिएको प्रेस सेन्टर नेपालको २०औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकको उद्घाटन सभामा प्रधानमन्त्री दाहालले सबैको सल्लाहमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताए ।  

सरकारले एकपक्षीय ढङ्गले ल्याउने नीति तथा कार्यक्रमले काम नगरेको भन्दै उनले अब नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिबीच बृहत् छलफल र बहसबाट प्राप्त रायसुझावकै आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याउने बताए ।  

सरकारले पहिले पुराना योजनालाई पूरा गर्ने अनि मात्र नयाँ योजनामा लगानी गर्ने निर्णयमा पुगेकाले आगामी आवको बजेट पुराना योजनालाई सम्पन्न गर्ने दिशातर्फ उन्मुख हुने प्रधानमन्त्रीको भनाइ थियो । उनले पुराना योजना सम्पन्न नहुँदै नयाँ योजना ल्याएका कारण ऋणको भार मात्र थपिएको र आम जनताले विकासको अनुभूति नगरेको बताए ।  

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भए पनि आम जनताले विकासको अनुुभूति गर्न नसकिरहेकाले सरकार अब उत्पादन र रोजगार सृजनालाई मुख्य कार्ययोजनामा समेट्ने उहाँले बताउनुभयो । “सरकारले चाँडै देशभित्रका रुग्ण उद्योगलाई सञ्चालन गर्ने तयारीमा जुटेको छ”, उनले भने, “पहिलो चरणमा विराटनगरको जुटमिल, हेटौँडाको कपडा कारखाना, गोरखकाली टायर उद्योग, बुटवल धागो उद्योगलाई सञ्चालन गर्ने तयारीमा सरकार जुटेको छ ।”

उनले केही उद्योग सरकारी–निजी साझेदारी ढाँचामा सञ्चालन गर्ने र केहीको सञ्चालन नेपाली सेनालाई दिने गरी तयारी भइरहेको बताए । उनले त्यस्ता उद्योग सञ्चालन गर्न सके उत्पादन र रोजगार दुवै बढ्ने बताए ।  

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ: प्रधानमन्त्री
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताए । 

बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन भ्रमणपश्चात् स्थानीय व्यवसायीसँग आज अन्तरक्रिया गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउनेमा जोड दिए ।  

“निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,” प्रधानमन्त्रीले भने, “रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्व दिएर निजी–सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ ।”
    
‘सेज’ले उत्पादन र निर्यात प्रवद्र्धनमा सहयोग पु¥याइ देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

दरबार हत्याकाण्डको छानविन हुन्छः प्रधानमन्त्री
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।

बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएको प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी दिइएको छ । 

प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने  काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको स्पष्ट पारे । 

स्थानीय जनप्रतिनिधिले जनताको घरदैलोमा गएर गणतन्त्रको मर्म बुझाउनुपर्छः प्रधानमन्त्री
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र व्यवस्थाबारे बुझाउन स्थानीय तहका जनप्रतिनिधि जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् । जनतालाई गणतन्त्रको मर्म बुझाउनु नसकिएको भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।  

बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँग आज भएको छलफलमा प्रधानमन्त्रीले भने, “संविधानमा व्यवस्था भएका अधिकारबारे आम जनसमुदायलाई बुझाउन स्थानीय तहले नागरिकको प्रत्येक घरसम्म पुग्ने गरी जागरण अभियान वा घरदैलो कार्यक्रम सञ्चालन गर्नुस् ।”

संविधानले मधेसका नागरिक, महिला, दलितलगायत उत्पीडित वर्ग र समुदायको पहिचान र अधिकारको प्रबन्ध गरेको स्पष्ट पारे । उनले भने, “आम जनसमुदायसम्म संविधानको मर्म र व्यवस्थालाई जसरी प्रस्तुत गर्नुपथ्र्यो, जसरी स्वामित्व लिनुपथ्र्यो, त्यसो हुन सकेको छैन । यसलाई जनतासम्म व्यवस्थित रूपमा बुझाउने जिम्मेवारी तपाईंहरूको हो ।”

    

 

    

Advertisement