खुम्बु गाउँपालिकाले हिमालका आधार शिविरहरु व्यवस्थापनका लागि कार्यविधि तयार गर्दै

Advertisement

काठमाडौं । खुम्बु पासाङ ल्हामु​ गाउँपालिकाले आधार शिविरहरु व्यवस्थापनको लागि कार्यविधि तयार गरेको जानकारी दिएको छ । गाउँपालिकाले खुम्बुस्थित सगरमाथा आधार शिविर र अन्य हिमालहरुको व्यवस्थापनको लागि कार्यविधि तयार गरी हिमाल आरोहणसँग सम्बन्धित् सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले जानकारी दिए । 

छलफलबाट प्राप्त सुझावलाई समेटेर कार्यविधिको मस्यौदा तयार गरेको बताउँदै उनले भोलि शनिबार बस्ने कार्यपालिका बैठकले यो कार्यविधि पास गर्ने बताए । सगरमाथा आधार शिविर र अन्य हिमालहरुको आधार शिविरको व्यवस्थापनमा एकरूपता ल्याउन यो कार्यविधिले सहयोग पुग्ने शेर्पाको आशा छ । कार्यविधि पास गरी आगामी वसन्त ऋतुबाट कार्यान्वयनमा ल्याइने उनले बताए । 

Advertisement

शेर्पाका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य हिमालहरुको गरिमालाई जोगाउँदै यस क्षेत्रमा हाल विद्यमान समस्या, चुनौतीहरुलाई व्यवस्थित गर्नको लागि कार्यविधिको मस्यौता तयार गरिएको हो । हिमालय क्षेत्र र हिमनदी मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको जग भएको बताउँदै उनले हाल मानवीय गतिविधिहरुबाट सिर्जित जलवायु परिवर्तनका असरले हिमाली क्षेत्रको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको बताए । 

खुम्बु क्षेत्रका आधार शिविरहरूमा हुने मानवीय गतिविधिलाई व्यवस्थित गर्नैपर्ने आवश्यकता बनेको बताउँदै शेर्पाले थपे, ‘फोहोर व्यवस्थापनलाई तीव्रता दिन, आधार शिविरमा देखिएको जलवायु परिवर्तनको असरलाई कम गर्ने प्रयासमा मानवीय क्रियाकलापलाई हिमाली क्षेत्रलाई बढी प्रभाव नपार्नेगरी गर्न गराउन र सहजीकरण गर्ने लगायतका महत्त्वपूर्ण विषयहरूलाई समेटेर आधार शिविर व्यवस्थापनको बलियो नीति निर्माण गर्न लागेका हौं ।’ यही वसन्त ऋतुबाट आधार शिविरमा आरोहण अवधिभरी पालिकाको सम्पर्क कार्यालय पनि स्थापना गरिने छ । 

Advertisement