जनताको शेयर लगानी भएको निजी कम्पनीलाई पनि सार्वजनिक निकायमा राख्नुपर्ने सुवालको तर्क

Advertisement

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो—आफ्नो जिल्ला विकास नगर्ने हो भने देश विकास हुन नसक्ने बताएका छन् । 

बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बारेको छलफलमा उनले निर्वाचनकै बेला जितेपछि काठमाडौं बस्छौँ, यहाँको विकासको आशा नगर्नु जनता भन्न सक्नुपर्ने बताए । 

Advertisement

जनतासँग इमान्दारिताकासाथ भनेर बस्दा फरक नपर्ने सुवालको कटाक्ष थियो । उनले अहिलेसम्म नेताहरुले गर्दै आएको काम यही भएको बताउँदै भने, ‘विधेयकको दफा २ को खण्ड (च) को उपखण्ड ५ मा सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था भन्ने छ । सार्वजनिक निकाय भन्नाले जनताको शेयर भएको पनि सार्वजनिक निकाय हो । जनताको शेयर लगानी भएको निजी कम्पनी र संस्थान पनि सार्वजनिक निकायमा राख्नुपर्छ । जनतासँग शेयर उठाएपछि त हजारौँ हजार जनताको शेयर भएको कम्पनी कसरी सार्वजनिक होइन् । निजी हुन सक्दैन । निजी भए शेयर नउठाउनु । आफ्नो आफ्नो जिल्ला विकास नगर्ने हो भने देश कहिले विकास हुँदैन् ।’ 

सुवालले थपे, ‘कि हामीले निर्वाचनमै बोल्नुपर्छ, हामी जितेपछि काठमाडौं बस्नलाई हो, यहाँको विकासको आशा नगर्नु जनता हो भन्नुपर्छ । इमान्दारिताकासाथ भनेर आएर बसे हुन्छ, जनतालाई धोका पो दिन मिल्दैन त । बोलेर आउनु त । तपाइँहरुले बोलेकै यही हो गर्ने यही हो । जिल्लै स्वर्ग बनाइदिन्छु भन्ने, आएर काठमाडौंमा झ्याप्प बसिहाल्ने यो मिलेन ।’

सांसद सुवालले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २ को खण्ड (च) को उपखण्ड ५ मा सार्वजनिक संस्थालाई सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था भनेर व्याख्या गरिएको भन्दै जनताको शेयर लगानी भएको निजी कम्पनी र संस्थान पनि सार्वजनिक निकायमा राख्नुपर्ने माग गरे । 

Advertisement

Advertisement