‘नेपाल कल्चर फेस्टिबल’ फागुन अन्तिम साताः देशैभरको संस्कृति एउटै मञ्चबाट

बाँके ।  ‘नेपाल कल्चर फेस्टिबल’ आगामी फागुन २४ र २५ गते बाँकेको नेपालगन्जमा हुने भएको छ । देशैभरको संस्कृति एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले उक्त महोत्सव गर्न लागिएको हो । 
 
‘अन्तराल’ को आयोजना तथा व्यवस्थापनमा हुने उक्त महोत्सवमा स्थानीय संघसंस्थाले सहकार्य गर्ने भएका छन् । नेपाली मौलिक कलासंस्कृति, गीतसङ्गीत, नाच, लोकबाजा, वेशभूषा, खाना, भाषा र हस्तकलाको प्रवर्द्धन तथा प्रचारप्रसार गरिने सो महोत्सवका परिकल्पनाकार एवं ‘अन्तराल’का प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।  

“सुदूरपश्चिमको डेउडा नृत्य र गीतदेखि पूर्वी नेपालको लिम्बू संस्कृतिमा आधारित च्याब्रुङ्ग नाच र पालाम तथा तराइको थारू र अवधि नृत्य/गीतदेखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमाली भेगको शेर्पा संस्कृति झल्किने नृत्य, काठमाडौं उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजादेखि लाखे नाचसम्म एउटै ठाउँमा प्रस्तुत हुनेछ”, उनले भने । भाषा र संस्कृतिका अध्येता, गीत र नृत्यका अध्येता तथा चाडपर्व, रीतिरिवाजका जानकारबीच छलफल तथा अन्तरक्रिया गरिने उनको भनाइ छ । 

Advertisement

सबै जातजातिको संस्कृति प्रवद्र्धन गर्न तथा तिनको अध्ययन अनुसन्धान गर्नसमेत महोत्सव आयोजना गर्न लागिएको प्रमुख कार्यकारी शाहले बताए । “कतिपय परम्परागत बाजा, वेशभूषा र गहना लोप हुने अवस्थामा पुगेका छन्, पुराना पुस्ताका गीत नयाँ पुस्ताले नबुझ्ने स्थिति छ, सबैखाले संस्कृति र गीतसङ्गीतको साझा मञ्चका रुपमा फेस्टिबल आयोजना गर्न लागिएको हो”, उनले भने । ।  

महोत्सव नेपालगन्ज रङ्गशालामा आयोजना गरिने छ । उक्त महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका ब्यान्डदेखि चर्चित गायकगायिकाको साङ्गीतिक प्रस्तुति रहनेछ । “देश भनेको भूगोलमात्र  होइन, संस्कृति जोगिएन भने पहिचान मेटिँदै जान्छ”, कार्यकारी प्रमुख शाहले भन्नुभयो, “नेपाल कल्चर फेस्टिबलमा नेपालगन्जमा सिङ्गो नेपाल झल्किनेछ ।” रासस

Advertisement