बैंक र सिविफिनको नेतृत्व गर्दा म धेरै ‘टार्गेट’ भएँ, अब कृषि उत्पादनमा मात्रै लाग्छुः गोल्यान

Advertisement

काठमाडौं । वरिष्ठ उद्योगी पवन गोल्यानले अब आफू कृषि क्षेत्रमा केन्द्रीत हुने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बैंक र सिविफिन (बैंक तथा वित्तीय संस्था परिसंघ)को नेतृत्व गर्दा आफू धेरै ‘टार्गेट’मा परेको भन्दै त्यसलाई छोडेर कृषि क्षेत्रको विकास र कृषि उत्पादन बढाउन लाग्ने बताए । 

गोल्यानले सिविफिन र एनएमबि बैंकको अध्यक्षबाट केही साताअघि राजीनामा दिएका थिए । पैसा कमाउनका लागि कुनै आयातमूलक ‘ट्रेडिङ’ व्यापार नगर्ने प्रतिवद्धतासहित उत्पादनमूलक र निर्यातमूलक उद्योगहरु सञ्चालन गर्दै आएका उनी रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक पनि हुन् । चार हजारभन्दा बढीलाई रोजगारी दिएको यो उद्योग धेरैलाई रोजगारी दिने मात्रै नभएर ठूलो निर्यात उद्योगको रुपमा समेत पटक पटक सम्मानित हुँदै आएको छ । 

Advertisement

उद्योगी गोल्यानले बैंकिङ क्षेत्रमा आफूले २१ बर्ष बिताएको स्मरण गर्दै यति धेरै समय बैंकिङ क्षेत्रको नेतृत्व तहमा रहेर काम गर्ने दुई–तीन जना व्यक्तिमध्ये आफू पनि एक रहेको बताए । बैंकको अध्यक्ष तथा सिविफिनको अध्यक्षको रुपमा आफूले बोल्नुपर्ने सही कुरा बोल्दा अनावश्यकरुपमा ‘टार्गेट’मा पर्ने गरेको उनको अनुभव छ । गोल्यानले भने, ‘बैंकिङ क्षेत्रको हित र विकासका लागि मैले जे बोल्नुपर्ने हो, त्यही बोल्दा धेरैसँग छुचो हुनुपर्यो । धेरैको ‘टार्गेट’मा परें ।’ 

उनले रिलाइन्स पनि आफूले हेर्न छोडेकोले अब आफू कृषि क्षेत्रमा मात्रै केन्द्रीत हुने बताए । गोल्यानले भने, ‘मैले बैंकिङ क्षेत्रमा २१ बर्ष बिताएँ र बैंक वित्तीय संस्थालाई एक तहमा पुर्याएँ । अब म पूरै कृषिमा समर्पित हुन्छु । विगत पाँच बर्षदेखि नै यो क्षेत्रमा लागेको छु । अब पूरै समर्पित भएर लाग्छु । त्यसका लागि झापामा आरएण्डडी सेन्टर (अनुसन्धान तथा विकास केन्द्र) बनाएर काम गर्दैछौं । कुन ठाउँमा के उत्पादन हुनसक्छ ? त्यो अनुसन्धान गरेर आरएण्डडी सेन्टरमा बीउ र बेर्नाहरु उत्पादन गर्ने काम हुन्छ ।’ 

स्थानीय तहसँग मिलेर आफूहरुले कृषि उत्पादनको काम गर्ने बताउँदै गोल्यानले सोही क्रममा केही समयअघि कन्काई नगरपालिकासँग सम्झौता भएको बताए । कन्काईमा १२ वटा किसान समूहसँग मिलेर ५०–६० विघामा र पछि छ हजार विघा खेतीयोग्य जग्गामा काम गर्ने योजना रहेको उनले बताए । गोल्यानले अहिले बार्षिक ५० हजार मात्रै कमाइराखेको ठाउँमा दोस्रो बर्षदेखि घटीमा पाँच लाख आम्दानी गराउने योजना रहेको बताए । 

कृषिप्रधान भनिने देशमा कृषिजन्य उत्पादन बढ्दै जानु चिन्ताको विषय भएको बताउँदै समय परिस्थितिअनुसार कृषि क्षेत्रलाई पनि रुपान्तरण गर्दै लैजानु जरुरी रहेको बताए । उनले पहिलाको जस्तो कृषि प्रणाली अपनाएर नेपाललाई आत्मनिर्भर बनाउन नसकिने बताए । अबको कृषि उत्पादन आत्मनिर्भर भएर निर्यात पनि गर्ने खालको हुनुपर्ने बताउँदै सोही योजनाअनुसार गोल्यान समूहले काम गरिरहेको बताए । 

Advertisement

Advertisement