रक्सी खाएर आएर पढाएकाले खत्रीलाई निकाल्यौः प्रतिष्ठान, गलत आरोप लगाइयोः खत्री

Advertisement

काठमाडौं । नेपाल माउन्टेन एकेडेमी (नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान)मा करार सेवामा रही अध्यापन कार्यमा रहेका प्रतिकबहादुर खत्रीलाई आफूहरुले पढाउन रोकेपछि उनले ‘ब्ल्याकमेलिङ’ गर्न थालेको दावी गरेको छ ।

खत्रीले मादक पदार्थ र गाँजा खाएर पढाउन आउन थालेपछि विद्यार्थीले प्रशासनसँग गुनासो गरेकाले सोका आधारमा खत्रीलाई पढाउन रोक लगाएको प्रतिष्ठानका एक कर्मचारी बताए । 

Advertisement

उनले सामाजिक सञ्जालको दुरुपयोग गरी खत्रीले ‘ब्ल्याकमेलिङ’ सुरु गरेको भन्दै संस्थाको बदनाम गराएको बताए । खत्री नेकपा एमाले गुल्मीका नेता खड्गबहादुर खत्रीका छोरा हुन् । 

खत्रीले नक्कली फेसबुक एकाउन्ट बनाएर जथाभावी लेख्ने गरेको भन्दै प्रतिष्ठानका कर्मचारीले उनलाई यही नयाँ शैक्षिक सत्रबाट पढाउन रोक लगाएको बताए । खत्रीले पर्वतारोहण विषयमा बीएमएसका विद्यार्थीलाई पठाउने गर्थे । 

प्रतिष्ठानका अनुसार प्रतिकले ‘सेभ नेपाल माउन्टेन एकेडेमी’ नामक नक्कली फेसबुक एकाउन्ट खोली संस्थाका बारेमा भ्रामक प्रचार गरेको, विभिन्न नेतालाई फोन गराएर धम्क्याउने काम गरेका थिए । खत्रीलाई कुनै पनि शर्तमा फर्काउन नसकिने प्रतिष्ठानको भनाई छ ।  

यता खत्रीले भने प्रतिष्ठानले आफूलाई नहुने आरोप लगाएको बताएका छन् । उनले भने, ‘एकेडेमीको मास्टर अफ एडभेन्चर टुरिजम स्टडिजको म पहिलो ब्याजको विद्यार्थी हो । मास्टर अफ एडभेन्चर टुरिजम स्टडिजको ब्याजको पनि म टपर हुँ । म त्यहाँ पढै् आउने क्रममा मेरो क्षमता देखेर पहिलाको बोर्डका सदस्यहरुले मलाई अवसरहरु दिँदै जानुभयो । मैले राम्रो गरेपछि एकेडेमीमा मास्टरमा पढाउन पनि दिनुभयो । अहिले आएर नहुने आरोप लगाएर निकाल्ने प्रयास भएको हो ।’ 

खत्रीले आफूले काम गर्दै जाने क्रममा पर्यटनको कुनै पनि पृष्ठभूमि नै नभएकाहरुलाई डर हुन् थालेको र आफू आइसकेपछि उनीहरुको पद जान्छ भन्ने डरले निकाल्ने प्रयास गरेको बताए । उनले भने, ‘गएको असारमा क्याम्पस प्रमुखमा लागि आवेदन खुलेको थियो । एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले मलाई नै क्याम्पस प्रमुखमा राख्न पर्छ भनेका थिए । विद्यार्थीहरुबाट मैले रक्सी खाएर पढायो, त्यस्तो केही गर्यो भन्ने खालको आरोप लगाएको छ, त्यो कतै पनि सही छैन् । सबै आरोप नचाहिने हो ।’ 

आफू जुन संस्थामा पढेको हो, त्यो जोगियोस् भनेर आफू लागि परेको खत्रीले बताए । नेपालमा क्यान्सरको अस्पताल छुट्टै, मुटुको अस्पताल छुट्टै, पर्यटनमा पनि छुट्टै होस भनेर होस् भने आफ्नो चाहना हो र त्यसका लागि भूमिका खेल्दै पनि आएको हो भन्दै उनले एकेडेमीलाई ३१ बुँदामा सूचनाको हकको प्रयोग गरी सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाउँ भनेर मागेको तर उनीहरुले सबै सूचना नदिई लुकाएको बताए । अर्को पटक माग्दा पनि नदिएको खत्रीको भनाई छ । 

उनले भने, ‘पुस ११ गते सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि मागेको थिएँ । पुसको २५ गते सूचना दिएको थियो । तर, पूरा सूचना दिएन । कति त गलत सूचना पनि दियो । मैले त्यसपछि फेरि माघ १४ गते मागेको हो ।’ 

Advertisement