लोकप्रिय नेता इमरानलाई रोक्न पाकिस्तानी सेनाको छायाँमा मोवाइल सेवा बन्द गरी चुनाव

Advertisement

काठमाडौं । लोकप्रिय नेता इमरान खानलाई रोक्न विभिन्न अस्त्र अपनाउँदै पाकिस्तानी सरकारले चुनाव सम्पन्न गरेको छ । सेनाको छायामा मोवाइल सेवा बन्द गरेर गरिएको चुनावी निष्पक्षता र परिणामलाई लिएर धेरै आलोचना र आशका भइरहेको छ ।  

पाकिस्तानमा मतदान भइरहेको बेला सरकारले मोबाइल फोनमा कल गर्ने र इन्टरनेट चलाउने सुविधा बिहीवार दिनभरिका लागि बन्द गरिदिएको थियो ।

Advertisement

चुनावको पूर्वसन्ध्यामा भएका हिंसात्मक घटनाका कारण यस्तो कडा कदम चाल्नुपरेको पाकिस्तानी अधिकारीहरुले तर्क गरेका छन् । शान्ति सुरक्षा कायम राख्न र सम्भावित खतराहरूको सामना गर्न यस्ता सुरक्षा उपायहरू आवश्यक रहेको उनीहरुको भनाई छ । मोबाइल कल तथा डेटा सेवा पूर्णरूपमा बन्द गरिएको छ । 

पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको छोरा बिलावल भुट्टो जरदारीले सरकारी कदमको विरोध गरेका छन् । साथै, उनको पार्टी पाकिस्तान पिपल्स पार्टी सरकारी कदमको विरोधमा निर्वाचन आयोग र अदालत गएको छ । 

धाँधलीको आरोप–प्रत्यारोपमाझ भइरहेको निर्वाचनको परिणाम विश्वसनीय हुन नसक्ने विश्लेषकहरूले बताएका छन् । सेनाको दबाबमा सरकारले इमरान खान र उनको पार्टीलाई रोक्न निष्पक्ष चुनाव नगराएको भन्दै उनीहरुले आलोचना गरिरहेका छन् । 

पूर्व प्रधानमन्त्री एवं पूर्व क्रिकेट कप्तान इमरान खानलाई अविश्वासको मतमार्फत् सत्ताच्यूत गरिएको करिब दुई वर्षपछि आज चुनाव भएको हो । चुनावमा पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपल्स पार्टी पीपीपी मुख्य प्रतिस्पर्धी मानिएका छन् । गोप्य सुचना लिक गरेको र भ्रष्टाचारको आरोपमा इमरान खानलाई अहिले जेल पुर्याइएको छ । उनलाई १४ वर्षको जेल सजाय सुनाइएको छ । 

करिब १२ करोड ८० लाख मतदाता रहेको पाकिस्तानको अहिलेको चुनावमा इमरान खान अध्यक्ष भएको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीलाई उसको पुरानो चुनाव चिन्ह ‘क्रिकेटको ब्याट’ प्रयोग गर्नबाट प्रतिबन्ध लगाइएकोले उम्मेदवार छान्न समेत कठिन भएको छ । 

सेनासँग खानको सम्बन्ध विग्रिएपछि उनको राजनीति संकटमा परेको हो । पाकिस्तानको ३३६ सिटमध्ये कम्तीमा १६९ सिट जित्नेले बहुमत पाउँछ ।

Advertisement