जनयुद्धमा सहभागी सबै नेता र कार्यकर्ता अब एक हुनुपर्छ,  नभए घाटा हुन्छः प्रम दाहाल

Advertisement

काठमाडौं । माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धमा सहभागी नेता कार्यकर्ताहरु अब एउटै केन्द्रमा एकतावद्ध हुनुको विकल्प नरहेको बताएका छन् । 

मंगलवारबाट राजधानीमा शुरु भएको पार्टीको विधान अधिवेशन्मा उनले अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकतावद्ध हुनुपर्ने बताए । सच्चा कम्युनिष्टहरु एकतावद्ध हुन जति ढिलो हुन्छ, त्यति नै धेरै अहिलेको राजनीति परिवर्तनमा घाटा हुने दाहालले बताए । 

Advertisement

उनले आफूबाट भएका कमी, कमजोरीलाई आत्मालोचना र समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताए । दाहालले कम्युनिष्टहरुले आँट गर्दा र एक हुँदा समाजवादी क्रान्तिको नयाँ लहर श्रृष्टि गर्न सकिने जिकिर गरे । उनले क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्नेहरुको प्रतिवाद गर्न आवश्यक रहेको बताए । 

दाहालले सामाजिक रुपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरुलाई अपमान गर्ने छुट कसैलाई नरहेको बताए । उनले भने ‘आज हामी यो २९ औं दिवस मनाउँदै गर्दा हामीले आज यो राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा बसेर जनयुद्ध दिवस मनाउँदै छौँ । अर्कोतिर हिजोका राजा महाराजा र तिनका भरौटे भन्छु म । तिनीहरु बाहिर गणतन्त्रका बिरुद्ध संघीय गणतन्त्रकाबिरुद्ध दुःशाहसपूर्ण ढंगका गतिविधि गर्ने जमर्को गर्दैछन् । हामी ठिक त्यस्तो बेलामा जनयुद्धको यो २९ औं दिवस मनाउँदै छौँ । एक पटक फेरि हामी जाग्नुपर्ने, एक पटक एकतावद्ध हुनुपर्ने र दृढताकासाथ यसलाई अपमानित गर्न खोज्ने, ती महिला, दलित, जसले जनयुद्धमा अभुतपूर्व इतिहास कायम गरे, रेकर्ड बनाए र अहिले समावेशी र समानुपातिकताको एउटा चरणको पहिचान र अभ्यास गर्दैछन् । हामीले एउटा नयाँ संकल्प लिनुछ । त्यो दुःशाहस गर्नेकाबिरुद्ध प्रतिवाद गर्नुछ ।’ 

उनले थपे, ‘उनीहरुलाई त्यो छुट छैन । सचेत रुपले सामाजिक रुपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरुलाई अपमान गर्ने तिनीहरुलाई कुनै अधिकार छैन । त्यो घोषणा हामीले गर्नुछ । हामी एक भएर जाँदा त्यसलाई रोक्न सकिन्छ । हामीलाई पहिला पनि सखाप पार्न खोजेका थिए, भएनौँ । अहिले हामीलाई जसरी आरोपित गर्ने एउटा भाष्य बनाउन खोजिएको छ, क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्ने त्यसको प्रतिवाद गर्नैपर्छ । आजको दिन माओवादी जनयुद्धका सहभागी सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अब ढिलो नगरी हामी एउटै मोर्चा र केन्द्रमा एकतावद्ध हुन अपिल गर्दछु । ढिलो नगरौँ । जति ढिलो ग¥यौँ त्यति ठूलो क्षति र यो राजनीति परिवर्तनको त्यति ठूलो घाटा हुनसक्छ । त्यसकारण आउनुस्, बसौँ । समीक्षा गरौँ । कहाँ कमी भए, खुला कम्युनिष्ट मनले आत्मालोचना गरौँ । हामीले आँट गर्दा र एक हुँदा समाजवादी क्रान्तिको एउटा नयाँ लहर श्रृष्टि गर्न सकिन्छ ।’

दाहालले समाजवादको नयाँ अभियान शुरु गर्ने जमर्को गरिरहेको बताए । उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा समाजवादको भ्रुण रोप्ने अभियान रहेको बताए । 

Advertisement

Advertisement