राजनीतिमा सुधार आई लगानीकर्ताको मनोबल नबढेसम्म शेयर बजारमा सुधारको अपेक्षा व्यर्थ

Advertisement

काठमाडौं । केही महिनादेखि बैंकहरुले ऋणको ब्याजदर घटाउँदै लगेका छन् । बैंकहरुमा लगानीयोग्य पुँजी प्रशस्त छ । सँगै नेपाल राष्ट्र बैंकले शेयर बजारमा हुने लगानीको जोखिम भार पनि कम गरेको छ । तर शेयर बजारमा सुधार आउन सकेको छैन् । किन होला ? 

अहिले यो प्रश्नले शेयर बजारका आम लगानीकर्तालाई पिरोलिरहेको छ । शेयर बजारमा सुधार आउन नसक्नुका धेरै कारणहरु छन् । पहिलो कुरा त अहिलेको आर्थिक मन्दीले शेयर बजारलाई मात्रै नभएर उद्योग व्यवसाय र समग्र अर्थतन्त्रलाई प्रभावित बनाएको छ । छिमेकी मुलुकहरुमा आर्थिक विकासको गति सन्तोषजनक भइरहेको छ । भौतिक पूर्वाधारहरु बनिरहेका छन् । पुँजी बजार लगातार बढिरहेको छ । तर नेपालमा भने त्यसको प्रतिकुल परिस्थिति छ । यसको पछाडि एउटै कारण देखिन्छ । त्यो हो नेपालको राजनीति । 

Advertisement

जबसम्म राजनीतिक स्थायित्व कायम हुन्न, तबसम्म त्यो देशको विकास हुन्न भन्ने कुरा नेपाल आफै उदाहरण छ । पछिल्लो समयमा झन देशको राजनीतिक बिग्रिँदै गएको छ । निजी क्षेत्र र आम लगानीकर्ताको मनोबल गिर्दै गएको छ । आर्थिक मन्दीले गर्दा उद्योग व्यवसायमा ठूलो असर परेको छ । साना उद्योगी व्यवसायीहरु आफ्नो पेशा, व्यवसायबाट पलायन हुने क्रम रोक्किएको छैन् । देशमा रोजगारी अवसर नदेखेर युवाहरु पलायन हुने क्रम झन तीब्र बनेको छ । उपभोक्ता घटेसँगै औद्योगिक उत्पादनको खपत पनि घटेर गएको छ । आयातमा पनि कमी आएको छ । आयातमा आधारित नेपालको राजश्व प्रणालीमा घट्दो आयात र घट्दो उपभोगको प्रभाव प्रष्ट देखिन्छ । लक्ष्यभन्दा निकै कम राजश्व संकलन भएपछि बजेट संशोधन गर्न अर्थमन्त्री प्रकाशशरण महत बाध्य भएका छन् । 

त्यसमाथि पछिल्लो समयमा विशेषगरी उद्योगी व्यवसायीको धरपकड, आलोचना, मुद्दा, उद्योगहरुमा विद्युतको लाइन काट्ने, अघोािषत लोडसेडिङका कुराहरु बढेका छन् । यस्ता घट्नाक्रमले पनि निजी क्षेत्र अहिलेको विषम परिस्थितिमा जोखिम मोलेर नयाँ लगानी गर्ने मनस्थितिमा छैन् । स्वदेशी लगानीकर्ताको नै मनोबल गिरेको अवस्थामा विदेशी लगानी थपिने गुञ्जायत देखिन्न । यी सबै पृष्टभूमिका शेयर बजारमा मात्रै सुधारको अपेक्षा नै व्यर्थ छ । शेयर बजारमा चलखेल गरेर कमाउनेहरुका लागि जहिले पनि समय अनुकुल नै रहे पनि आम लगानीकर्ता भने लामो समयदेखि ‘पर्ख र हेर’को परिस्थितिमा बस्न बाध्य छन् । 

कहिले काहीं लगानीकर्तालाई प्रभावित बनाउन ‘भोलुम क्रियट’ गरेर नेप्से परिसुचक बढाउने र घटाउने काम हुँदै आएको छ । बैंकहरुले आधार दर घटाउँदै गएको अवस्थामा शेयर बजारमा पनि क्रमिकरुपमा बढ्दै जानुपर्ने थियो । तर त्यो हुन सकेको छैन् । नेपालको शेयर बजारप्रति लगानीकर्ताहरुको बढ्दो अविश्वसनीयताले पनि यसमा काम गरेको देखिन्छ । एक मर्चेन्ट कम्पनीका सीईओ भन्छन्, ‘शेयर कहिलेकाहीं हुने वृद्धि ‘अर्गानिक’ नै छैन् । अप्राकृतिक खालको छ । त्यसैबाट थाहा हुन्छ शेयर बजारमा सुधार अवस्था छैन् भन्ने कुरा । एक दिन ह्वात्त बढाउने, अर्को दिन शेयर फाल्दिहाल्ने । फण्डामेन्टल खरीद बिक्री नै छैन् ।’ 

‘फण्डामेन्टल’ माग र आपूर्ति भई अनुमानयोग्य ढंगले चलेको भए शेयर बजार अहिले निकै माथि पुगिसकेको हुने थियो । तर बैंकहरुको ब्याजदर घट्दाघट्दै पनि आज (मंगलबार) शेयर बजार परिसुचक नेप्से अनुमानविपरित ३० अंकले घटेको छ । यो प्रवृत्ति हेर्दा शेयर बजारमा अझै स्खलन हुने देखिन्छ । जबरजस्ती तानेर बजार माथि उचाल्न ठूला खेलाडीहरु पनि अहिले मानसिकरुमपा तयार नरहेको अहिलेको बजारले देखाउँछ । 

अर्कोतर्फ लगानी गर्न जागरुप मध्यम वर्ग हो । तर कतिपय त्यस्ता मानिससँग पैसाको अभाव छ । आर्थिक मन्दीका कारण पेशा, व्यवसायमा प्रभाव पर्दा, उधारो पैसा नउठ्दा, सहकारीमा भएको बचत फिर्ता गर्न नसक्दा पनि लगानी गर्न नसक्ने अवस्थामा उनीहरु छन् । पैसा भएका मानिस पनि जोखिम मोलेर लगानी गर्न अग्रसर छैनन् । जबसम्म उनीहरुमा आत्मविश्वास बढ्दैन्, तबसम्म शेयर बजार दिगोरुपमा उचालिने संभावना छैन् । 

शेयर बजारलाई प्रभावित पार्ने विभिन्न पक्षमा आईपीओ र एफपीओ पनि छ । पछिल्लो समयमा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने गलत प्रवृत्ति मौलाएर गएको छ । यस्तो शेयरमा लगानी गरेसँगै पैसा कम्पनीहरुले लाने तर लगानीकर्तासँग लगानीयोग्य पुँजीको अभाव हुँदै जाने परिस्थिति बनेको छ । लगानीकर्तालाई नगद लाभांशको सट्टा बोनस शेयर दिने, हकप्रद शेयर निष्काशन गर्ने र गराउने कार्यले बजारमा अधिक मात्रामा आपूर्ति हुने तर माग नहुने परिस्थिति निर्माण गरिएको छ । व्यवसायमा पनि गिरावट भएको परिस्थितिले गर्दा अधिकांश सुचीकृत कम्पनीका लगानीकर्ता एकल अंकको पनि तुच्छ प्रतिफलमा चित्त बुझाउन बाध्य छन् ।  

यसमा जनताको लगानी मात्रै संकलन गरेर निहीत व्यवसायिक फाइदा उठाउने तर लगानीकर्तालाई प्रतिफल दिनुपर्ने दायित्व नबुझ्ने कम्पनीका सञ्चालकहरु जति दोषी छन्, त्योभन्दा बढी अदूरदर्शी नियामक निकायका निर्णयकर्ताहरु छन् । सुचीकृत कम्पनीका सञ्चालकहरुले आफ्नो लगानी अशुलउपर गरेकै हुन्छन् । तर सानो सानो लगानी गर्ने लगानीकर्ताहरु भने न पुँजीगत लाभबाट लाभान्वित हुने न मुनाफाबाट लाभान्वित हुने परिस्थिति छ । यो कुनै न कुनैरुपमा संगठित ठगी र अपराध हो । तर आम लगानीकर्ताको पक्षमा बोल्दिने राज्यको संस्थागत संयन्त्र छ । न लगानीकर्ताको नेतृत्व गर्नेहरुले नै यस्तो गलन कुरामा बोल्छन् । 

यी सबै परिस्थितिमा सुधार ल्याउन बलियो र स्याथी प्रकृतिको सरकार, सबल राजनीति नेतृत्व नै आउनुपर्ने जरुरी देखिन्छ । त्यो नहुँदासम्म नेपालको शेयर बजारमा मात्रै नभएर देशको समग्र आर्थिक विकासले गति लिन नसक्ने अहिलेसम्मको अनुभवले देखाएको छ । 

Advertisement

Advertisement