नेपाल-कोरिया सम्बन्ध बिस्तारको ५० वर्षः जुगल हिमाल आरोहणको तयारी

Advertisement

काठमाडौं । नेपाल–कोरियाको सम्बन्ध बिस्तार भएको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाली हिमाली आरोही टिम र कोरियन आरोही टोलीले सिन्धुपाल्चोकस्थित जुगल–१ र जुगल–२ आरोहण गर्ने भएको छ । 

उक्त अवसरमा ऐतिहासिक कार्यक्रमको तयारी गरिएको कोरियन अल्पाइन महासंघको नेपालका लागि सम्पर्क कार्यालयका अध्यक्ष ङावाङिमा शेर्पाले बताए । शेर्पाका अनुसार आरोहण दलले समुन्द्री सतहबाट ६,५९० मिटर उचाई जुगल–१ र ६,५१८ मिटर उचाईको जुगल–२ आरोहण गर्नेछ । 

Advertisement

‘कृषि, उर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा साझेदारी सुदृढ बनाऔं’ भन्दै आगामी दिनमा पनि आपसी साझेदारीमा आधारित कार्यक्रममार्फत घनिष्ठ सम्बन्ध थप प्रगाढ हुने र द्विपक्षीय सम्बन्धले नयाँ उचाइ चुम्ने कोरियाली दुतावासको विश्वास रहेको छ । 

विश्व प्रख्यात हिमाल आरोही तथा ओम ओङ्गील ह्युमेन फाउन्डेसनको कार्यकारी निर्देशक ओम ओङ्गीलको नेतृत्वमा कोरिया र नेपालका गरी १४ जना आरोहीहरुले यी दुई हिमालहरु आरोहण गर्ने छन् । 

यसै सन्दर्भमा बेस क्याम्पसम्म ट्रेकिङका लागि अन्य ५० जना कोरियानहरु आउने छन् । जुगल गाउँपालिका, नेपाल पर्वतारोहण संघ, द ओम ओङ्गील ह्युमेन फाउन्डेसन र कोरियान अल्पाइन रेस्क्यु एशोसियसनको आयोजनामा हुने जुगल आरोहणको नाम ‘नेपाल कोरिया फ्रेण्डशिप एक्स्पेडिशन् २०२४’ राखिएको शेर्पाले बताए । 

नेपाल सरकार पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बार्ड, जुगल गाउँपालिका, नेपाल पर्वतारोहण संघ, कोरियन सञ्चालक संघ, नेपालस्थितको कोरियाको राजदूतावास र कोरियन अल्पाइन रेस्क्यु संघ र कोरियाको ओम ओङ्गिल ह्युमेन फाउन्डेसनको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।  

नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

सम्बन्धको ५० वर्षलाई झल्काउने लोगो समेत सार्वजनिक भएको र लोगोलाई नेपालस्थित कोरियाली दुताबास र नेपाल सरकार दुबैले प्रयोग गर्ने छन् । लोगोमा कोरिया र नेपाल दुबै देशका झण्डाको रङ र विशेषता समाबेश गरिएको छ ।

 ‘एभेरष्ट फ्रेण्डसिप कोरिया–नेपाल ५०औं वार्षिकोत्सव’ भन्ने नारा माउन्ट एभरेष्ट (सगरमाथा) नेपालको प्रतिनिधित्व गर्दै दुई देशबीचको मित्रता र साझेदारीलाई ‘अनन्त’ प्रवर्द्र्धन शब्द चयन गरिएको जुगल गाउँपालिका पर्यटन समितिको अध्यक्ष तथा आरोहण दलका सदस्य मिलन तामाङले जानकारी दिए ।

राजधानी काठमाडौंबाट नजिक रहेर पनि प्रचारमा नरहेको जुगल क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन यो ‘नेपाल कोरिया फ्रेण्डशिप एक्स्पेडिशन् २०२४’ ले ठूलो भूमिका निर्वाह गर्ने तामाङले बताए । यो हिमाल केही महिना अगाडि मात्र नेपाल सरकारले आरोहणका लागि खुल्ला गरेको र यसको प्रचार प्रसारका लागि उपयुक्त प्लेटफर्मको खोजिमा रहेको तामाङको भनाइ छ ।

आरोहण चैत २३ गते शुरु भई २०८१ बैशाख १५ गते काठमाडौं फर्किेन योजना छ । आरोहण दललाई प्रधानमन्त्रीले दुई देशको झण्डा हस्तान्तरण गरिने कार्यक्रम समेत रहेको नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार बैशाख २५ गते आरोही टोली काठमाडौं फर्केपछि नेपाल कोरिया कुटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठको उपलक्ष्यमा एक कार्यक्रम समेत आयोजना गर्ने तयारी भइरहेको छ । 

उक्त टिमको नेतृत्व कोरियन हिमाल आरोही ओम ओङ्गीलले गर्नेछ । विश्वका ८ हजार मिटर भन्दा अग्ला चुचुराहरू १६ वटाको उनले सफल आरोहण गरेका हुन् । उनले विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल र ल्होत्से सर, यालुङ खाङ हिमालहरु सफलतापूर्वक आरोहण गरेका हुन् । 

नेपाली टिममा पर्वतारोही तथा अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) दावा याङ्जुम शेर्पा, बागमती प्रदेश सदस्य तथा सगरमाथा आरोही सरल सहयात्री पौडेल, जुगल गाउँपालिकाको पर्यटन समितिको अध्यक्ष तथा आरोही मिलन तामाङ र पर्यटन व्यवसायी ङावाङिमा शेर्पा, विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देण्डी शेर्पा, हिमाल आरोही तथा माउन्टेन गाइड लामबाबु शेर्पा रहेने छन् ।  

राजधानी काठमाडौंबाट दोलालघाट, बलेफी, जलबिरे, तेम्बाथाङ, छेन्दाङ, नेपेमाछाल हुँदै बेस क्याम्प याङखर्क हुँदै आउने जाने २२ दिनको योजना तयार पारिएको छ । 
 

Advertisement