राजश्व संकलन लक्ष्यअनुसार नभएको बेला आयोगले १८ खर्बको सिलिङ तोकेपछि अर्थमन्त्री अलमलमा

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुनै विवाद नभएको दाबी गरेका छन् । शुक्रवार पत्रकार सम्मेलन गर्दै उनले केही सञ्चार माध्यममा प्रधानमन्त्रीसँग छलफल नगरी अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दा विवाद बढेको भन्ने आएपनि त्यस्तो कुनै विवाद नरहेको जिकिर गरे । 

प्रधानमन्त्रीसँग आफ्नो हेरक विषयमा निरन्तर रुपमा संवाद भइरहेको जनाउँदै महतले प्रधानमन्त्रीसँग केही विषयमा फरक मत हुनु स्वभाविक भएको बताए । उनले अर्थ मन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र निर्देशनका आधारमा काम गरिरहेको दावी गरे । 

Advertisement

महतले संसद्ले पारित गरेको बजेट अर्थ मन्त्रालयले घटाउन वा कटौती गर्न नसक्ने बताए । उनले अर्थमन्त्रालयले बजेट कटौती वा आकार नघटाएको भन्दै आम्दानी र खर्चको अनुमानित मात्रै गरेको बताउँदै सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेकामा मन्त्रालयले अर्धवार्षिक मूल्यांकन गरी १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुनसक्ने संशोधित लक्ष्य राखेको बताए । 

मन्त्री महतले बजेट कटौति गर्ने अर्थ मन्त्रालयको कुनै सोच नभएको बताए । माघ मसान्तसम्म भएको आम्दानी र खर्चका आधार संशोधित लक्ष्य सार्वजनिक गरिएको उनले बताए । महतले सरकारले बजेटमा राखेको लक्ष्य अनुसार पुँजीगत खर्च र राजश्व संकलन नभएको बताए । 

मन्त्रायले खर्च कम गर्ने, राजश्व संकलन कम गर्ने नीति नभएर अनुमान गरेभन्दा बढी खर्च र राजश्व संकलन गर्ने लक्ष्य रहेको बताउँदै उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाअनुसार अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक मूल्यांकन गरिएको बताए । 

महतले भने, ‘सरकारको करिव १० प्रतिशत राजश्व वृद्धि भएको छ । राजश्व झर्यो भनेर पनि समाचारहरु आए । सरकारले निर्धारण गरेको लक्ष्य अनुसारको राजश्व संकलन कठिन भएको छ भनेका छौं । बजेट विनियोजन कार्यान्वयनको सवालमा पुँजीगत खर्च, वित्त व्यवस्थापन खर्च, चालु खर्च र साधरण खर्चमा कस्तो उपलब्धी गरौं । कति प्रतिशत खर्च गरौं । आगामी ६ महिनामा कति खर्च गर्ने सम्भावना छ भनेर मन्त्रालयले भनेको हो । मन्त्रालयले कुनै बजेट कटौती गरेको भनेर जसरी बाहिर कुरा आए, मन्त्रालयले बजेट कटौती गरेको होइन । जति संभव हुन्छ, बढीभन्दा बढी खर्च गर्न कोसिश गर्छौं । राजश्व पनि जति सम्भव हुन्छ । त्यो उठाउन कोशिस गछौं ।’ 

उनले भने, ‘संसदले पारित गरेको विषय बीचमा बजेट कटौती र संशोधन गर्न सक्दैनौं । तर खर्च र आम्दानी कति हुन सक्छ । ६ महिनाको आधारमा आगामी ६ महिनाका कति के गर्न सकिन्छ त्यसको अनुमान मात्रै पेश गरेका छौं । प्रधानमन्त्री र अर्थमन्त्रीको कुरा मिलेको छैन भन्ने बाहिर कुरा आएको छ । प्रधानमन्त्रीलाई जानकारी नदिई बजेट कटौती गरियो । बजेटको बारेमा प्रधानमन्त्रीसँग छलफल भएको छ । हाम्रो निरन्तर संवाद छ । अनावश्यक रुपमा वादविवाद छ । प्रधानमन्त्रीसँग अर्थमन्त्रीको समन्वय भएको छैन भन्ने जुन हुँदै नभएको प्रचार भएको छ । प्रधानमन्त्रीसँग त्यस्तो कुनै विवाद छैन । यस्तो किसिमको भ्रम छर्नुको अर्थ पनि छैन ।’

महतले राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेट १८ खर्ब रुपियाँको ल्याउन सिलिङ तोकेर सिफारिस गरेको बताए । उनले आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्बको ल्याउन सिफारिस गरेको बताउँदै बजेट निर्माणका लागि प्रधानमन्त्री र स्रोत अनुमान समिति र अर्थ मन्त्रालयको समेत सहभागितामा आवश्यक छलफलबाट नै बजेटको सिलिङ तोकिएको बताए । 

प्रधानमन्त्रीले एउटा सिलिङ र अर्थ मन्त्रालयले अर्को तथ्याङ्क राख्ने विषय नभएको महतले बताए । उनले सम्भावना, चुनौति र आवश्यकताको विषयमा खुला रुपमा छलफल भएको बताए । राजश्व संकलन लक्ष्यअनुसार हुन नसकेको बेला योजना आयोजले बढी सिलिङ तोकेको उनले महतले संकेत गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल थप आन्तरिक तथा विदेश ऋण लिएर भए पनि ठूलो आकारको बजेट बनाउनुपर्ने पक्षमा छन् भने महत त्यो जोखिम लिनहुन्न भन्ने पक्षमा छन् ।  

मन्त्री महतले भने, ‘बजेट सिलिङमा प्रधानमन्त्रीले भनेको कुरा अर्थ मन्त्रालयले मानेन, अर्कै भन्यो भन्ने कुरा आएको छ । त्यो पनि अर्थमन्त्रालयको प्रणालीमा स्वस्थकर छलफल हुन्छ । सम्भावना,चुनौती र आवश्यकताको विषयमा खुला रुपमा छलफल हुन्छ । प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुुहुन्छ । अर्थ मन्त्रालयले कुरा राखेर निष्कर्षमा पुग्छौं । योजना आयोगको संयोजकत्वमा बजेट सिलिङ तोक्ने समिति छ । त्यसमा अर्थमन्त्रालयको पनि प्रतिनिधित्व हुन्छ । बजेटका कति सम्भावना छ भन्ने कुरालाई मध्यनजर राखेर सम्भव हुने विषयमा छलफल हुन्छ ।’ 

उनले मुलुकको आवश्यकता र स्रातको दृष्टिकोणबाट छलफल भएर बजेट सिलिङ तोकिएको भन्दै बजेटको सिलिङको विषयमा दुविधा वा विवाद नभएको उल्लेख गरे । 

Advertisement

Advertisement