बालकुमारी घटनामाको छानविनमा दोषी ठहर हुँदा समेत मन्त्री ज्वालाले राजीनामा नदिएपछि विरोध

Advertisement

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । विपक्षी दलहरुले आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै अवरोध गरेर ज्वालाको राजीनामा माग गरेका हुन् । एमालेका सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे  । 

उनले भने, ‘पुस १३ गते सिंगो देशलाई शोकमा डुबाउने घटना भयो । सरकारले आयोग बनायो । आयोगको निष्कर्ष बहालवाला भौतिक मन्त्रीको लापरबाहीको कारणले त्या घटना भयो र दुई युवकको मृत्यु भयो भन्ने छ ।’ 

Advertisement

कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसर र चक्रपथ सडकमा प्रदर्शन गर्ने क्रममा मन्त्री ज्वालाको गाडीमा आगजनी भएको थियो । प्रदर्शनमा प्रहरीको गोली लागेर अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

उक्त घटनासम्वन्धमा छानविन गर्न गठित समितिले मन्त्री ज्वाला पनि दोषी रहेको प्रतिवेदन दिँदा पनि उनले न राजीनामा दिएका छन्, न प्रधानमन्त्री दाहालले कारबाहीस्वरुप बर्खास्त गरेका छन् । सोही कुरामा विरोध जनाउँदै आज संसदमा आवाज उठेको हो । बर्तौलाले भने, ‘ ‘आयोगले सरकारको मन्त्री दोषी भन्यो । तर, मन्त्री पदमा बहाल हुनुहुन्छ । त्यसकारण घटनामा जोडिएका मन्त्रीलाई अविलम्ब हटाइयोस् । बर्खास्त गरियोस् ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा मागे । उनले भने, ‘छताछुल्ल प्रमाण भएको व्यक्ति कारबाहीमा नपरेको’ भन्दै सरकारको नियतमाथि नै शंका लागेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले पनि मन्त्री ज्वालालाई हटाउन माग गरे । उनले भने, ‘छानबिन आयोगले मन्त्री ज्वाला दोषी ठहर गरिसकेको छ । उनलाई मन्त्रीबाट हटाउन राप्रपा माग गर्दछ ।’

Advertisement

Advertisement