शेखर कोइरालाको गुनासोः हामी कहिलेसम्म कम्युनिष्टहरुको पछि लागेर हिँड्ने ?

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले आफूहरु सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो ? भनि पार्टी नेतृत्वलाई प्रश्न गरेका छ्न् । सो पार्टीको महासमिति बैठकमा कोइरालाले सभापति शेरबहादुर देउवालाई यस्तो प्रश्न गरेका हुन्  । 

जिल्ला जिल्लामा पार्टीका साथीहरुले आफूलाई सो प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले काँग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी सोमवार (भोलि)बाट शुरु हुने महासमिति बैठकमा गम्भीर रुपमा छलफल हुनपर्ने बताए । 

Advertisement

पार्टी महासमिति बैठकको अघिल्लो दिन आईतावर (आज) काठमाडौंमा आयोजित चियापान कार्यक्रममा बोल्दै कोइरालाले जनमत घटिरहेका बेला सरकारमा बसेका छौं भनेर काँग्रेसले खुशी हुनुपर्ने कुनै कारण नभएको बताए । उनले महासमिति बैठकमा निर्वाचन प्रणालीमा सुधार ल्याउने विषयमा पनि महासमिति बैठकमा छलफल गर्नुपर्ने बताए । 

कोइरालाले विद्यमान निर्वाचन प्रणालीले कुनै पनि राजनीतिक दलको बहुमत आउन नसक्ने भएकाले त्यसमा सुधार गरेर अघि बढ्न काँग्रेसले सबै राजनीतिक दलसँग छलफलका लाग अग्रसरता दिनुपर्ने बताउ । उनले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा रहेको उल्लेख गर्दै रेमिटयान्स अर्थतन्त्रको विकल्प खोज्ने गरी निष्कर्षमा पुग्न पनि काँग्रेस महासमिति बैठकले ठोस निर्णय लिनुपर्ने बताए । 

कोइरालाले भने, ‘म जिल्लाजिल्ला घुम्दाखेरी साथीहरुको एउटै प्रश्न हुन्छ– के हामी सधैं कम्युनिष्ट पछि लागेर हिँड्ने हो ? यो प्रश्न उठाइरहनु हुन्छ । हामीले एक्लै चुनाव कहिले लडने हो भनेर सोध्नुहुन्छ । यस पटकको दस्तावेजमा पनि एउटा कुरा के छ भने हामीले स्थानीय तहमा, प्रदेशमा र केन्द्रमा हामी सरकारमा छौं । बहुमतमा छौं चारैतिर । तर हाम्रो भोट प्रतिशत घट्दै गइरहेको अवस्था छ । त्यो किन घट्यो ? भन्ने कुरा अत्यन्त गम्भीर छ । आज यो ठिक लाग्ला हामीलाई । के भने सरकारमा छँदैछौं भनेर ठिक लाग्ला । तर भोलि हाम्रा सन्ततीहरुले हामीहरुलाई सोच्ने छन कि छैनन् भन्ने पनि हामीले बुझन जरुरी छ ।’ 

उनले थपे, ‘भोट प्रतिशत ३४–३५ प्रतिशतबाट घटदैघटदै २७ प्रतिशतमा आएको छ क्यारे हाम्रो । साढे ७ प्रतिशत भोट घटेको छ । यो किन घटिराखेको छ भनेर हामीले विश्लेषण गरिराखेका छैनौं । हामी के मा रमाइराखेका छौ भने केन्द्रमा सरकारको नेतृत्व त हामीले गरेको छैन । तर १० वटा मन्त्रालय त हामीसित छ । यो कुरालाई तपाई महासमितिका साथीहरुले अत्यन्तै गम्भिर रुपले छलफल गर्नुहोला । र, महासमिति बैठकमा पनि यी कुराहरु राख्नु हुनेछ भन्ने विश्वास लिएको छु । दोस्रो कुरा हामीहरुको निर्वाचन प्रणाली नै यस्तो प्रकारको छ । यो निर्वाचन प्रणालीले कुनैपनि दललाई बहुमत दिन सक्दैन । बहुमत आउन पनि सक्दैन । एकातिर हामीहरु संसदीय प्रणाली भन्छौं । अर्कोतिर बहुमतको सरकार हामीले पाउन सक्दैनौं, हुन सक्दैन । के निर्वाचन प्रणालीमा हामीले केही परिवर्तन गर्नुपर्छ कि ? भन्नेतिर पनि हामी जानुपर्छ ।’ 

कोइरालाले मुलुकको अर्थतन्त्रको सूचकांक राम्रा छ भनेर प्रधानमन्त्री स्वयंले भने पनि जनताले त्यस्तो अनुभुति गर्न नसकेको बताए । 

Advertisement