दुई धार्मिक समुदायबीचको विवादका कारण रौतहटपछि वीरगञ्जमा पनि कर्फ्यू

Advertisement

काठमाडौं । दुई धार्मिक समूहबीचको विवाद उत्पन्न भएको भन्दै सीमा शहर वीरगन्जमा स्थानीय प्रशासनले सोमवार साँझदेखि कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सोमवार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको हो । 

हिन्दू र मुस्लिमबीचको विवादको कुरा उल्लेख नगरी स्थानीय प्रशासनको आदेशमा भनेको छ, ‘कसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ ऱ्याली गर्न एवं अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०।११।०७ गते बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन–२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ ।’

Advertisement

पर्साको छिमेकी जिल्ला रौतहटको ईशनाथ नगरपालिकास्थित मोतीपुरमा श्रीपञ्चमी पर्व मनाइसकेपछि सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर मुस्लिमहरुले अवरोध गरेपछि दुई समुदायबीच झडपको स्थिति बनेको थियो । त्यस्तै प्रकृतिको विवाद वीरगञ्जमा पनि देखिएपछि स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाएको हो । 

दुई धार्मिक समुदायबीचको तनावका कारण रौतहटमा गत पाँच दिनदेखि कर्फ्यू जारी रहेको बेला वीरगञ्जमा पनि सुरु भएको हो । स्थानीय प्रशासनले वीरगन्जको सीमा क्षेत्र पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा भन्सारको मितेरी पुलसम्म महानगरपालिका क्षेत्रमा कर्फ्यू लगाइएको हो ।

आजै दिउँसो प्रदर्शनकारीहरूले बजार बन्द गराउँदै हिंडेपछि ठाँउठाँउमा प्रहरीसँग झडप हुनुका साथै पसलहरूमा तोडफोड भएको थियो । त्यस क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । भिड तितरबितर पार्न प्रहरीले १० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो ।

Advertisement

Advertisement