त्रियुगा नदी नियन्त्रणको काम अलपत्र, छ अर्बको स्वीकृत आयोजनामा बजेट शून्य

Advertisement

काठमाडौं । अघिल्लो वर्ष निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नदी नियन्त्रण आयोजनाको काम यो वर्ष बिचैमा अलपत्र परेको छ । यो नदी नियन्त्रण हुन नसक्दा जिल्लाकै सबैभन्दा ठुलो विकराल समस्या बन्न पुगेको छ । सदरमुकाम गाईघाट हुँदै उदयपुरको त्रियुगा, चौदण्डीगढी, बेलका र सप्तरीको सप्तकोशी नगरपालिकाको उत्तरपूर्व क्षेत्र भएर सप्तकोशीसम्म जोडिएको करिब एक सय किलोमिटर त्रियुगा नदी नियन्त्रणको काम आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको हो । सरकारले छुट्टै गुरुयोजना बनाएर क्रमागत रूपमा बजेट विनियोजन गर्ने गरी काम सुरु गरेको भए पनि चालु आवका लागि भने बजेटको सुनिश्चितता नहुँदा तटबन्ध निर्माणको अलपत्र परेको हो ।

छ वर्षभित्रमा नदीको दुवै किनाराको गरी एक सय किलोमिटर लामो तटबाँध निर्माण सम्पन्न गर्न आठ अर्ब १५ करोड रुपियाँको लागत स्टिमेट गरिएको छ । निर्माणाधीन आयोजनामा सरकारले चालु आवका लागि बजेटको स्रोत सुनिश्चित नगरेपछि निर्माणको काम बिचैमा ठप्प भएको सो आयोजनाले जनाएको छ ।

Advertisement

उदयपुरको बेलका नगरपालिका–१, आमवासीस्थित त्रियुगा नदी व्यवस्थापन आयोजना कार्यालयका आयोजना प्रमुख डिभिजन इन्जिनियर विजयकुमार रेग्मीले भने, ‘अर्थ मन्त्रालयले २०७७ साल माघ १६ गते यस आयोजनाका लागि एक अर्ब ९६ करोड रुपियाँको स्रोत सुनिश्चित गरेकामा एक अर्ब ५७ करोड रुपियाँको मात्र ठेक्का लागेको र बाँकी रकम पुनः ठेक्का लगाउन पत्राचार गर्दा अर्थ मन्त्रालयले अहिलेसम्म स्वीकृति दिएको छैन ।’

क्रमागत रूपमा नियमित निकासा हुनुपर्ने रकम पनि अर्थ मन्त्रालयले चालू आवका लागि थप विनियोजन नगरेको र गत वर्ष निर्माण सम्पन्न भएको कामको १२ करोड ५९ लाख ८० हजार रुपियाँ भुक्तानी दिन बाँकी रहेकामा आठ करोड ५५ लाख रुपियाँ मात्र अहिलेसम्म पठाएकाले तटबन्ध निर्माणको काम अगाडि बढाउन नसकिएको उनको भनाइ छ । उनले भने, ‘गत वर्षकै चार करोड चार लाख रुपियाँ भुक्तानी दिन बाँकी छ ।’

बर्सातको समयमा नागरिकको जनधनको सुरक्षाका लागि बाढीबाट हुन सक्ने सम्भावित क्षतिलाई तत्काल रोकथामको आकस्मिक काम गर्दा चार करोड ७२ लाख रुपियाँ खर्च भएको तर त्यो रकमसमेत अहिलेसम्म निकासा नहुँदा स्थानीयस्तरमा काम गर्न कठिन भएको डिई रेग्मी बताउँछन् ।

स्वीकृत डिपिआर अनुसार हालसम्म १९ मिटर बेसमा साढे तीन मिटर उचाइ र माथिको भाग पाँच मिटर चौडाइ रहेको दुवैतर्फ गरी करिब २३ किलोमिटर लामो बाँध बनाएर एकातर्फ छ मिटरको स्लोभमा तारजाली लगाउने र अर्कातर्फ मलिलो माटो बिछ्याएर चपरी लगाउने काम सम्पन्न भएको छ तर सोही प्रकृतिको ७७ किलोमिटर तटबन्ध बनाउन अझै बाँकी रहेकाले योजनालाई निरन्तरता दिन नसकिए अघिल्लो वर्ष निर्माण भएको बाँधको पनि अस्तित्व सङ्कटमा पर्ने उनले बताए । 

नदी नियन्त्रण नहुँदा हरेक बर्खायाममा सयौँ बिघा खेतीयोग्य जमिन कटान गरी दर्जनभन्दा बढी परिवारलाई सुकुमवासी बनाउँदै आएको छ । नदी नियन्त्रणको काम सम्पन्न भएपछि उकास हुने जग्गामा १० हजार घरधुरीका करिब ५० हजार जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने आयोजना प्रमुख रेग्मीको भनाइ छ । 

त्रियुगा नगरपालिकाको होक्से कालीखोलादेखि सप्तकोशीसम्म करिब ५० किलोमिटर नदीको एक हजार तीन सय वर्गकिलोमिटर जल बहाव क्षेत्र रहेको छ । प्रतिसेकेन्ड ३५ लाख लिटर पानीको बहाव रहेको र चुरे तथा महाभारत पहाडमा मुहान भएका यसका २५ वटा अरू सहायक खोला खहरे रहेका छन् । तर छ वर्षमा आठ अर्ब १५ करोड रुपियाँ खर्च हुने गरी निर्माण गरिएको आयोजनाका लागि कम्तीमा पनि वार्षिक एक अर्ब ५० करोड रुपियाँको अनुपातमा बजेट विनियोजन हुनुपर्छ । त्यसो हुन नसकेको र ऋण अनुदानमा आयोजना सञ्चालन गरिँदा निर्माण व्यवसायीलाई भुक्तानी दिन पनि कठिन हुने र गरेको कामले पनि निरन्तरता नपाउने हुँदा योजना सम्पन्न गर्नमा असहज हुने नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतले बताए । 

Advertisement

Advertisement