विद्युत प्राधिकरणमा विद्युत चुहावट कम देखाउन ‘डमी’ ग्राहक, च्यानल खरीदमा अनियमितता

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट कम देखाउन र आम्दानी बढी देखाउन ‘डमी’ ग्राहक खडा गर्ने गरेको पाइएको छ । 

प्राधिकरण स्रोतअनुसार उपकार्यकारी निर्देशक मनोज सिलवालको निर्देशनमा सडक बत्ति र विभिन्न मठमन्दिरको नाममा ‘डमी’ ग्राहक खडा गरिएको र तिनीहरुमा मिटर जडान पनि नगरी मनपरी ढंगले युनिट खपत देखाउने र प्राधिकरणको ‘ब्यालेन्स सिट’मा विद्युत बिक्री देखाउने गरिएको छ । 

Advertisement

यसो गर्दा जति प्रतिशत चुहावट देखाउनुपर्नेछ, त्यही किसिमले ‘डमी’ ग्राहकको खपत देखाइन्छ । प्राधिकरणले हरेक बर्ष विद्युत चुहावट प्रतिशत घटाउँदै लगेको दावी गर्ने गरे पनि वास्तविकता त्यस्तो नरहेको प्राधिकरण स्रोतको भनाई छ । विद्युत वितरण सञ्जाल बढेसँगै खपत बढेकाले पनि चुहावटको प्रतिशत कम देखिएको हो । तर वास्तविक चुहावटको परिमाण भने घट्न सकेको छैन् । 

कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफल बनाउने नाममा सिलवालले मिथ्या तथ्यलाई घिसिङको कार्यक्षमता देखाउन प्रयोग गरेको जनाइएको छ । चुहावट गरेको, संस्था नाफामा गएको देखाउँदा कार्यकारी निर्देशकलाई मासिकरुपमा अतिरिक्त लाखौं भत्ता आउँछ । 

यस किसिमको फर्जी कार्य गर्नेमा प्राधिकरणको भक्तपुर वितरण केन्द्र, जनकपुर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्रलगायत छन् । यसबाहेक ‘टेक्निकल स्पेसिफिकेसन’भन्दा बेग्दै पाँच करोड रुपियाँ हाराहारीका पोल च्यानलहरुको गैरकानुनी भुक्तानी गरिएको छ । 

नेपालगञ्ज क्षेत्रीय कार्यालयअन्तर्गत खरीद भएका यी च्यानलहरु ‘टेक्निकल स्पेसिफिकेसन’भन्दा फरक भएकाले प्राधिकरणले प्रयोग गर्न नमिल्ने ठहर हुँदाहुँदै पनि कमिसनको लोभमा भुक्तानी भएको थियो । ती च्यानल अहिले कवाडीको मूल्यमा बिक्री गर्न लागिएको छ । 

स्रोतको भनाई छ, ‘केन्द्रीय स्टोरबाट १५ करोडभन्दा बढीको जिन्सी सामान हराएको छ । काभ्रेबाट सयौंको संख्या स्टिलका पोलहरु गायव बनाइएको छ । यस्ता भ्रष्टाचारको समेत छानविन हुन सकेको छैन् । यो च्यानल खरीदमा भएको पाँच करोडको भ्रष्टाचार झन के हुन्थ्यो ’’ उजुरी पर्दासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जानकारी हुँदासमेत विभागीय मन्त्रीको मौनता रहस्यमय रहेको उनले बताए ।

प्राधिकरणले भने यी हरेक गैरकानुनी र बदनियतपूर्ण कार्यमा अख्तियारको सहमति लिएर गर्ने गरेको बताउने गरेको छ । अख्तियारमा मनोज सिलवालका नातेदार किशोर सिलवाल आयुक्त छन् । सोही नाता सम्वन्धकै कारण मनोज सिलवाल संलग्न भएर गरिएका निर्णय एवं कार्यमा प्राधिकरणकै कर्मचारी र ट्रेड युनियनका नेताहरुले समेत बोल्ने आँट गर्दैनन् । 
 

Advertisement