गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने जहाजलाई इन्धनको मूल्यमा छुट !
फाइल तस्बिर

Advertisement

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने जहाजलाई हवाइ इन्धनको मूल्यमा छुट दिइने भएको छ । 

नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार वायुसेवा कम्पनीहरुलाई आकर्षित गर्न हवाइ इन्धनको मूल्यमा छुट दिने तयारी भएको हो । भैरहवा आउने जहाजलाई इन्धनको मूल्यमा छुट दिनपर्छ कि भन्ने बारे छलफल अघि बढेको बताउँदै उनले भने, ‘तेल दिने नेपाल आयल निगमले हो । पर्यटन मन्त्रालय मार्फत निगमलाई अनुरोध गर्ने तयारीमा छौं ।’ 

Advertisement

भैरहवामा हवाइ इन्धनको मूल्य कम गर्ने कुरामा निगमले पनि दायित्व सम्झनुपर्ने र काठमाडौंमा तेल ल्याउँदा ढुवानी खर्च लाग्छ । त्यसका आधारमा भैरहवा आउने जहाजलाई इन्धनको मूल्य घटाएमा वायु सेवा कम्पनीहरुलाई राहत हुने उनको भनाइ छ । 

हाल हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ एक सय ३६ रुपियाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडान तर्फ १.०३५ डलर प्रतिलिटर रहेको छ । पेट्रोल, डिजेल र मटितेलको मुल्य काठमाडौं भन्दा भैरहवामा प्रतिलिटर ३ रुपियाँ सस्तो छ । ढुवानी भाडाका आधारमा काठमाडौं र भैरहवामा मूल्य फरक फरक रहेको हो । तर हवाइ इन्धनको मूल्य भने काठमाडौं र भैरहवामा एउटै छ ।
 

Advertisement