राजधानीमा एकातिर राप्रपाको जनप्रदर्शन, अर्कोतिर लघुवित्त पीडितको प्रदर्शन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेको संघीय गणतान्त्रिक व्यवस्थाबिरुद्धको आन्दोलनका कार्यक्रम शुरु गरेको छ । राप्रपाले आज काठमाडौंसहित देशभर आन्दोलन शुरु गरेको हो । 

भृकुटीमण्डपमा भेला भई उनीहरुले राजसंस्था पुनः स्थापना, हिन्दू अधिराज्य कायमलगायतका माग उठाए । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा जनप्रदर्शन अघि बढाइएको हो । 

Advertisement

भृकुटीमण्डपबाट र्याली निस्केर नगर परिक्रमासहित भृकुटीमण्डपमै आमसभा भएको थियो । राप्रपाले आज सबै जिल्लामा प्रदर्शनसहित प्रधानमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई मागपत्र प्रश्तुत गरेका छन् । राप्रपाको ४० बुँदे मागपत्रमा राजसंस्था पुनःस्थापन, प्रदेश खारेजी, हिन्दूराज्य पुनःस्थापना लगायतका राजनीति माग तथा जनजीविकाका विषयहरू समेटिएका छन् । 

आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने राप्रपाले बताउँदै माग सम्बोधन नभए आन्दोलन चर्काउने, प्रदेश सांँसद र साँसद पद पनि त्याग गर्ने चेतावनी दिएका छन् । मागमा अभिभावकीय संस्थाको रुपमा राजसंस्था हुनुपर्ने, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र हुनुपर्ने, धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौति गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने र बैंकको ब्याज एकल अंकमा झार्नुपर्नेलगायत छन् । 

आजै देशभरबाट हिँडेर राजधानी आएका लघुवित्त पीडितहरुले बालुवाटारमा प्रदर्शन गरे । विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर आएका उनीहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन् । 

न्याय खोज्न भन्दै आएका पीडितहरुले लघुवित्त तथा वित्तीय शोषण बिरुद्धको संघर्ष समितिको ब्यानरमा प्रदर्शन गरेका थिए । लघुवित्त पीडितहरुले लघुवित्त संस्थाहरुले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट न्याय पाउनको लागि काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेको बताए । 

हजारौंको संख्यामा रहेका पीडितहरु गौशालाबाट कालोपुल हुँदै बालुटारसम्म पुगेका थिए । सरकारले समिति बनाएर केही काम नगरेको भन्दै उनीहरुले पुनः सरकारलाई झक्झकाउन काठमाडौं आउनुपरेको बताए । 

पीडितहरुले हाम्रो माग पूरा गर,राष्ट्र बैंकका गभर्नर राजीनामा दे, लघुवित्त ऋण मिनाहा गर, दिदी बहिनी ठग्न पाइँदैन, धितो लिलाम फुकुवा गर, वित्तीय संस्था खारेज गर, वित्तीय आतंक बन्द गर जस्ता नारा लगाएका थिए । 

Advertisement

Advertisement