सिंहदरबार घेर्न अघि बढेका लघुवित्त तथा मिटरब्याज पीडितलाई प्रहरीले रोक्यो

Advertisement

काठमाडौं । न्याय खोज्न भन्दै हप्तौंको पैदल यात्रापछि राजधानी काठमाडौं आइपुगेका लघुवित्त तथा मिटरब्याज पीडितहरुले शुक्रबार सिंहदरबार घेर्न अघि बढ्दा प्रहरीले रोकेको छ । 

विगत तीन दिनदेखि काठमाडौंमा धर्ना दिँदै आएका उनीहरु आज सिंहदरबार घेर्न भन्दै अघि बढेका थिए । भृकुटीमण्डपबाट सिंहदरबारतर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको हो । 

Advertisement

प्लेकार्ड बोकेर नारा लगाउँदै अघि बढेका पीडितहरुलाई प्रहरीले अघि बढ्न नदिएपछि सोही स्थानमा बसेर नाराबाजी गरेका छन् । कतिपय पीडितहरु सडकमा सुतेका थिए । 

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका आएका पीडितहरुलाई न्याय दिन जनदबाब बढ्दै गएको छ । मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा सुरु भएको यो आन्दोलन न्याय नपाएसम्म नरोकिने बताइएको छ । 

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरूको समस्या समाधान नभएको भन्दै पीडितहरू पुनः न्याय खोज्दै राजधानी आएका हुन् ।

Advertisement

Advertisement