संसदीय समितिले दिएका निर्देशन शिघ्र कार्यान्वयन गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

Advertisement

काठमाडौं । संसदीय समितिले दिइएका निर्देशनहरुको शिघ्र कार्य सम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

समितिले मंगलवार आयोगका पदाधिकारीहरुलाई बोलाएर विगतमा दिएका निर्देशनहरुको कार्य सम्पादन छिटो गर्न ध्यानाकर्षण गराएको हो । कार्यान्वयन नहुँदा आम जनतामा समेत आशंका र दुविधा बढ्ने भएकाले समितिले दिएको निर्देशनको छिटो कार्य सम्पादन गर्न अख्तियारलाई निर्देश गरिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । 

Advertisement

बैठकले आर्थिक अनियमितता लगायतका भ्रष्टाचारको परिभाषा भित्र पर्ने गैरआर्थिक भ्रष्टाचारजन्य कार्यमाथि समेत प्रभावकारी रुपमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने गरी कार्य सम्पादन गर्न अख्तियारलाई भनिएको छ । अख्तियार तथा अन्य अनुसन्धान गर्ने सरकारी निकायहरुले कतिपय विषय र अवस्थामा बहुआयामिक अध्ययन, अनुसन्धान र अन्य देशसँग सूचना आदानप्रदान गर्नुपर्ने निष्कर्ष निकाल्दै आवश्यकताअनुसार बहुपक्षीय र द्विपक्षीय सम्झौता गरी संसदबाट अनुमोदन गराउने कार्यलाई प्राथमिकताका साथ गर्न, गराउन पनि समितिले सरकारलाई सचेत गराएको छ ।

पोखरेलले भने, ‘आर्थिक अनियमितता लगायतका भ्रष्टाचारको परिभाषाभित्र पर्ने गैरआर्थिक भ्रष्टाचारजन्य कार्यमाथि समेत प्रभावकारी रुपमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने गरी कार्य सम्पादन गर्न समेत समितिको बैठक अख्तियारलाई निर्देशन गर्दछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य अनुसन्धान गर्ने सरकारी निकायहरुले कतिपय विषय र अवस्थामा बहुआयामिक अध्ययन, अनुसन्धान र अन्य देशसँग सूचना आदानप्रदान गर्नुपर्ने हुन्छ ।’ 

उनले थपे, ‘सो कार्यका लागि आवश्यकताअनुसार बहुपक्षीय र द्विपक्षीय सम्झौता गर्नुपर्ने आवश्यकता हुन्छ । यद्यपि यस्ता सम्झौताहरु हुन नसकेका कारण अनुसन्धान कार्य प्रभावित हुन गएको देखिएकाले आवश्यकता  अनुसार बहुपक्षीय र द्विपक्षीय सम्झौता गर्ने, संसदबाट अनुमोदन गराउने कार्यलाई प्राथमिकताका साथ गर्न, गराउन समितिको यो बैठक नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई निर्देशन गर्दछ ।’

Advertisement

Advertisement