अब हिमाल चढ्दा जडान गरिने चिप्सबारे विभागद्धारा सरोकारवालासँग छलफल

Advertisement

काठमाडौं । पर्यटन विभागले हिमाल आरोहणसँग सम्बन्धित सरोकारवालाहरुसँग हिमालको व्यवस्थापन र त्यसको सुरक्षाको बारे मंगलबार छलफल गरेको छ । 

यही वसन्त ऋतुदेखि सगरमाथा आरोहणलाई कसरी व्यवस्थापन गर्ने ? त्यसलाई कसरी सुरक्षित बनाउने ? भन्नेबारे छलफल गएको विभागका निर्देशक राकेश गुरुङले बताए । अबदेखि सगरमाथा आरोहणमा जाने आरोहीमा विद्युतीय चिप्स जडान गरिने कुराको पनि सहभागीलाई जानकारी गराएको उनले बताए । यस निर्णयप्रति सबैको सकारात्मक प्रतिक्रिया रहेको गुरुङले बताए । 

Advertisement

उनले भने, ‘अब सगरमाथा आरोहण गर्न जाँदा हरेक आरोहीले एजेन्सीले उपलब्ध गराउने चिप्स लैजानैपर्ने हुन्छ । आरोहीहरुले त्यसको प्रयोग गरे–नगरेको जाँच गर्न सगरमाथा आधार शिविरमा सगरमाथा प्रदुषण नियन्त्रण समितिसँग समन्वय गरी स्थलगत कार्यालय राखिने छ ।’ यस्तो चिप्सले आपतकालिन अवस्थामा खोजी र उद्दार गर्न र आरोहीलाई सुरक्षित गर्न सहयोग पुग्ने आशा गरिएको छ ।  

खुम्बु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले हिमालका आधार शिविरहरु व्यवस्थापनको लागि आफूहरुले नायाँ कार्यविधि बनाएको र यो यही वसन्त ऋतुदेखि कार्यान्वयन गरिने बताएका थिए । हिमाल आरोहणलाई व्यवस्थापन र सुरक्षित गर्न यो कार्यविधि बनाएको उनको भनाई छ । 

Advertisement