विदेशी खुशी पार्न हतारमा मुद्दा नचलाउन सम्पत्ति शुद्धीकरण विभागलाई संसदीय समितिको निर्देशन

Advertisement

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ । 

बिहीवार बसेको समितिको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी भएको छलफलपछि विभागलाई यस्तो निर्देशन दिइएको हो । समिति सभापति रामहरी खतिवडाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न निर्देशन दिने निर्णय भएको बताए । 

Advertisement

विभागले प्रमाणहरुलाई राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरु विभागको कामबाट आतंकित हुने वातावरण नबन्ने गरी मुद्दा अघि बढाउन आग्रह गर्दै उनले नेपालमा उद्योगी व्यापारी लगायत अन्य मानिसहरु आंतकित हुने वातावरण राजश्व अनुसन्धानले र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्नु नहुने बताए । 

खतिवडाले राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयले कसैको छविमा पछिसम्म असर पर्ने काममा हात नहाल्न आग्रह गरे । उनले भने, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्नुहोला । प्रमाणहरु राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरु विभागको काम हेरेर आतंकित हुने वातावरण नबनोस् । नेपालमा उद्योगी व्यापारी लगायत अन्य मानिसहरु आंतकित हुने वातावरण राजश्व अनुसन्धानले र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि नगरोस् ।’

उनले बेनामी रुपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा हाल्ने विषयलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले यो विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान र राजश्व अनुसन्धान विभागले ध्यान दिन आग्रह गरे । 

Advertisement

Advertisement