सत्ता गठबन्धन फेरिंदा लुम्बिनी शिखर सम्मेलन स्थगित

Advertisement

दाङ । लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ । 

संघीय सत्ता गठबन्धन फेरिएपछि त्यसको असर प्रदेशमा परेको हुँदा उक्त  शिखर सम्मेलन स्थगित हुन पुगेको हो । 

Advertisement

आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन विशेष कारण देखाउँदै स्थगित गर्ने निर्णय गरेको हो । 

विशेष कारणबस सम्मेलन स्थगित गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए । 

बालबालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्ट्रिय ‘लौरेटस् एण्ड लिडर्स’ शिखर सम्मेलन २०२४ नाम राखिएको यो सम्मेलनका लागि प्रदेश सरकारले ७ करोड १० लाख रकम विनियोजन गरेको थियो । यसका लागि नोवेल शान्ति पुरस्कार विजेता ११ जना सहित विभिन्न देशका ३०० उच्च पदस्थ व्यक्तिहरु आउने निश्चित भएको थियो । 

यो सम्मेलनका लागि दातृनिकायका प्रतिनिधिहरु अधिकांश रुपन्देही आइसकेका थिए ।  

सम्मेलनबाट लुम्बिनीको ब्राण्डिङ गर्ने र लुम्बिनीका लागि स्रोत सुनिश्चिता गर्ने सरकारले बताउँदै आएको थियो तर सत्ता समिकरणमा आएको फेरबदलले लुम्बिनीमा एमाले–माओवादी लगायतका साना दलको सहभागितामा सरकार बन्ने निश्चित भएको र तत्काल अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्न नसक्ने अवस्थामा भएपछि स्थगित गरिएको हो ।  

Advertisement

Advertisement