‘म प्रहरी हो’ भन्दै लुटपाट गर्ने तीन जना राजधानीको घट्टेकुलोबाट पक्राउ

Advertisement

काठमाडौं । राजधानीको घट्टेकुलोस्थित ३२ क्याफेमा भएको लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कपन बस्ने दोलखा शैलुङ्ग गाउँपालिका–१ घर भएका ३२ वर्षीय प्रमेश्वर खडका, रामेछाप मन्थली नगरपालिका–९ घर भएका २८ वर्षीय मिलन तामाङ भन्ने बिनोद सुन्दास र गोकर्णेश्वर नगरपालिका–५ डेरा गरी बस्ने ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका–४ घर भएका ३७ वर्षीय प्रेम राई छन् ।

Advertisement

उनीहरूले एक जना पीडितलाई आइतबार राति मिलन लामा नाम गरेको फेसबुक आईडीबाट आईफोन लगायतको इलेक्ट्रोनिक ग्याजेटहरू किन्छु भनेर सो क्याफेमा बोलाई सामान हेरिसकेपश्चात हामी प्रहरी हौं भनी डर, धाक, धम्की दिई लुटपाट गरी फरार भएका थिए । 

सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सिहंदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई न्यूरोडबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट नगद २१ हजार ४७० रूपियाँ, मोबाइल, राष्ट्रिय अनुसन्धान विभागको परिचयपत्र लगायतका सामानहरू बरामद भएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

Advertisement

Advertisement