इयूले लगाएको उडान प्रतिबन्ध हटाउँछौँः पर्यटनमन्त्री तामाङ, के गरे पहिलो निर्णय ?

Advertisement

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (इयू)ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा बुधबार पदबहाली गर्दै मन्त्री तामाङले इयूले नेपालको हवाई क्षेत्रमाथि गरेको प्रतिबन्ध हटाउन पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको हवाई क्षेत्रमा इयूले सन् २०१३ देखि लगाएको उडान प्रतिबन्ध हटाउन योजनाबद्ध पहल गर्नेछु । यो चाँडैनै हट्छ भन्ने विश्वास लिएको छु ।”
     
इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै उडान सुरक्षा चासो (कालोसूची) मा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो सूची (एसएससी) मा राखेकामा सन् २०१७ जुलाईदेखि हटाएको थियो । नेपालले पछिल्लो पटक हवाई सुरक्षा दरमा वृद्धि गरेकाले इयूको सुरक्षासूचीबाट हट्ने विश्वास गरिएको छ ।

Advertisement

मन्त्री तामाङले नेपालको हवाई सेवालाई सुदृढ र प्रभावकारी बनाउन योजनाबद्ध काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घीयताको मर्म र भावना अनुरुप मुलुकको पर्यटन नीतिलाई समयसापेक्ष बनाइने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री तामाङले पर्यटन व्यवसायी एवं विज्ञ सरोकारवालासँग छलफल गरेर पर्यटन क्षेत्रको विकास तथा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनेबारे योजनाबद्ध कार्यक्रम अगाडि बढाइने बताउनुभयो । सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका साथै मन्त्रालयसँग सम्बन्धित कामलाई प्रभावकारी बनाइने उहाँको भनाइ थियो ।

पर्यटनमन्त्रीको पहिलो निर्णय    
नवनियुक्त पर्यटनमन्त्री तामाङले मन्त्रालयमा पदबहाली लगत्तै हवाई नीति, २०६३ लाई संशोधन गर्ने प्रयोजनका लागि अध्ययन समितिको निर्णयमा हस्ताक्षर गर्नुभयो । अध्ययन समितिको प्रतिवेदनअनुरुप पर्यटन ऐनलाई समयसापेक्ष परिमार्जन गर्ने मस्यौदा बनाउने र त्यसलाई सरकारले आवश्यक निर्णय गर्नेगरी मन्त्री तामाङले पहिलो निर्णय गर्नुभएको पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेले बताउनुभयो । पर्यटन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठिन उक्त समितिले सङ्घीयताको भावना अनुरुप समय सापेक्ष हवाई नीतिको मस्यौदा तयार गर्नेछ ।

मुलुकको ४१औं पर्यटनमन्त्री तामाङ
नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ मुलुकको ४१औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ । पर्यटन मन्त्रालयको विवरणमा २०३४ सालमा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री हुनुभएको थियो । त्यसयता मुलुकले ४१ पर्यटनमन्त्री पाइसकेको छ । 

विसं २०२० मा नुवाकोटको पञ्चकन्यामा आमा श्रीमाया तामाङ र बुबा माइते तामाङको कोखबाट जन्मनुभएका तामाङ २०६६ सालमा युवा तथा खेलकुदमन्त्री बन्नुभएको थियो । उहाँ २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसअघि माओवादी केन्द्रकै पोलिटब्युरो सदस्य सुदन किराँती मुलुकको ४०औँ पर्यटनमन्त्री बन्नुभएको थियो ।

मध्यम निम्न वर्गीय किसान परिवारमा जन्मिनुभएका मन्ज्त्री तामाङले नुवाकोटकै अमर ज्योति उच्च मावि खरानीटारमा औपचारिक शिक्षा लिनुभएको हो । उहाँ केही वर्ष अध्यापनमा सक्रिय हुनुभयो ।

चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय तामाङ २०३६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहनुभयो । विसं २०३९ मा अनेरास्ववियु छैटौँको नुवाकोट सचिव हुनुभयो । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका ९संसद् सदस्य० हुनुभएको थियो । विसं २०७४ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।  विसं २०५८ मा नेकपा ९माओवादी० को केन्द्रीय सदस्य बन्नुभएको थियो ।

Advertisement

Advertisement