मेडिसिटिद्धारा मृगौला प्रत्यारोपको एक बर्षको सफलता सार्वजनिक, खानपानमा विचार गर्न आग्रह

Advertisement

ललितपुर । मेडिसिटि अस्पतालले मृगौला प्रत्यारोपणको एक बर्षको सफलता सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालले गएको एक बर्षमा २३ जना बिरामीको सफल मृगौला प्रत्यारोपण गरेको जानकारी दिएको हो । 

त्यस क्रममा मृगौला प्रत्यारोपणमा संलग्न मेडिकल टिम र अस्पतालका उच्च अधिकारीहरुले आफ्नो अनुभव सुनाएका थिए । पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कूल जनसंख्याको १० प्रतिशत (करिब ३० लाख) मानिसमा कुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । 

Advertisement

यीमध्ये तीन लाख मानिसमा मृगौलाको दीर्घरोग रहेको, हरेक वर्ष नेपालमा मृगौलाका तीन हजार नयाँ बिरामी डायलासिसका लागि थपिने गरेको मेडिसिटिका चिकित्सकहरुको भनाई छ । उनीहरुले खानपिनमा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै हरेक मानिसले नियमित स्वास्थ्य चेकजाँच गर्न जरुरी रहेको पनि सुझाव दिएका थिए  । दुबै मृगौला खराब भइसकेपछि गरिने डायलासिस पनि जिन्दगीभर गनुपर्ने हुन्छ । यसको उपयुक्त उपचार मृगौला प्रत्यारोपण नै मानिन्छ । तर यसका लागि खर्च महंगो र उपचार लामो हुन्छ । 

मेडिसिटिले २०७९ माघबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरेको थियो । हालसम्म उसले १७ वर्षको युवादेखि ६५ वर्षका बृद्धको सफलरुपमा मृगौला प्रत्यारोपण गरेको, मृगौलाका बिरामीलाई आफ्नै आमाले छोरालाई, श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई, भिनाजुले सालीलाई, सासूले ज्वाईंलाई र सानोबुबाले छोरीलाई मृगौला दिएको अस्पतालले उदाहरण पेश गरेको छ । 

यस्ता बिरामीको मृगौला प्रत्यारोपणका लागि ‘ब्रेन डेथ’ भएकाहरुको अंग दान गरिदिए ठूलो मानवीय कल्याण हुने भए पनि परिवारलाई सो कुरा बुझाउन गाह्रो हुने गरेको चिकित्सवकहरुले अनुभव बताए । मेडिसिटिका नेफ्रोलोजी तथा मृगौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाशं बिरामीहरुको मृगौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको बताए ।

उनले भने, “हामीले मृगौला प्रत्यारोपण गरेका २३ जनामा अधिकाशं उच्च रक्तचाप र मधुमेहकै कारण मृगौला बिग्रेर उपचारका लागि आएका थिए । अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमा प्रोटिनको मात्रा बढि भएर लिकेज हुन थालेपछि मृगौला बिग्रेर जान्छ ।” कामका लागि  विदेश जान युवाहरुको बढी मात्रामा मृगौलाको समस्या देखिने गरेको बताउँदै डा. पौडेलले निकै गर्मीमा काम गर्ने तथा पानीको कमी, पानीको सट्टा कोकाकोला जस्ता पेय पदार्थको अधिक सेवन जस्ता कारण खाडी मुलुकमा काम गर्न गएकाहरुमा मृगौलाको समस्या बढेको बताए । 

मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले मेडिसिटिमा १५ लाख रुपियाँमा मृगौला प्रत्यारोपण हुने बताउँदै यो खर्च भारतमा भन्दा निकै सस्तो रहेको र नेपालकै अस्पतालहरुमा भन्दा महंगो नरहेको दावी गरे । उनले मृगौला प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरे पनि निजी क्षेत्रका अस्पतालले गर्दा नदिने नीति हटाउनुपर्ने बताए । 

डा. काफ्लेले भने, “यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मृगौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन् ।” उपचार खर्चका हिसावले आफूहरुकोमा महंगो भन्ने कुरामा सत्यता नरहेको बताए । उपचारका लागि अस्पतालमा भास्कुलर सर्जन, युरोलोजी, नेफ्रोलोजी , एनेस्थेसिया, ट्रान्सप्लान्स सर्जनको समूह मिलेर काउन्सिलिङ देखि अप्रेसन गर्ने गरिएको बताउँदै अस्पतालले पत्रकार सम्मेलनमा सोसम्वन्धी चिकित्सकहरुले पनि आफ्नो अनुभव सुनाएका थिए । 

Advertisement

Advertisement