ट्राफिक प्रहरीद्वारा यात्रुमैत्री अभियान सञ्चालन, पहिलो दिनमै ३०३ चालक कारबाहीमा

Advertisement

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुमैत्री अभियान सञ्चालन गरेको छ । यात्रुका लागि सुरक्षित, बिनाझन्झट, नठगिने हिसाबले गन्तव्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्न कार्यालयले १५ दिने यात्रुमैत्री अभियान बुधबारबाट सञ्चालनमा ल्याएको हो ।

अभियानअन्तर्गत ट्राफिकले यात्रुवाहक सार्वजनिक सवारीसाधनमा भाडादर राखे/नराखेको, जेष्ठ नागरिक, महिला तथा फरक क्षमता भएका व्यक्तिका लागि आरक्षित सिट पालना भए/नभएको, सवारीमा यात्रा गर्दा महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई हुने दुर्व्यवहारजस्ता विषयमा अनुसन्धान गर्ने जनाएको छ । त्यस्तै, भाडाका सवारीसाधनले बढी भाडा लिई ठगेको, यात्रुले भनेको स्थानमा जान नमानेको, अनाधिकृत राइड शेयर गरेको विषयमा समेत अनुगमन गरी कार्यान्वयन नगरेको पाइएमा आवश्यक कारबाही उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । 

Advertisement

यो अभियान चैत्र १४ गते सम्म सञ्चालन हुनेछ । यस अभियानमा प्रहरी निरीक्षकको नेतृत्वमा ४० जना प्रहरी कर्मचारी सादा पोसाकमा खटिने र आवश्यकताअनुसार स्थानीय प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयहरुबाट समेत थप जनशक्ति परिचालन गरिने पनि प्रवक्ता श्रेष्ठको भनाइ छ । 

त्यसैगरी, बुधबार भएको अनुगनमनका क्रममा सवारीसाधनमा भाडा दर नराख्ने २१७, आरक्षण सिट कार्यान्वयन नगर्ने ३५, यात्रु लिन इन्कार गर्ने ४३, लापरबाही तरिकाले सवारी चलाउने तथा यात्रीलाई हैरानी दिने ६ र बढी भाडा लिने २ गरी ३०३ वटा सवारीसाधन चालकलाई कारबाही गरिएको श्रेष्ठले जानकारी दिए । 

    

Advertisement