सुन तस्करी प्रकरणमा नुवाकोटका प्रहरी प्रमुख पनि तानिए

Advertisement

काठमाडौं । सुन तस्करी प्रकरणमा नुवाकोटका प्रहरी प्रमुख सञ्जयसिंह थापा पनि तानिएका छन् । यससम्वन्धी छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही सिफारिसमा परेका उनको जिम्मेवारी खोसिएको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बिहीबार बुझाएको प्रतिवेदनका आधारमा उनलाई कारवाही प्रक्रिया अघि बढाइएको हो । प्रतिवेदनमा सुन तस्करीबारे अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको निष्कर्ष निकाल्दै त्यसक्रममा सीआईबी प्रमुख किरण बज्राचार्य, एसपी थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही सिफारिस गरिएको थियो । बज्राचार्य, दाहाल र कुँवरलाई यसअघि नै प्रहरी मुख्यालयमा तानिएको छ । 

Advertisement

थापा र दाहालमाथि सुन तस्करी प्रकरणका अभियुक्त जीवन चलाउनेसँग ६० लाख रुपियाँ मागेको आरोप समेत छ । सीआईबीमा हुँदा उनले सुन तस्करीबारे अनुसन्धानको नेतृत्व गरेका थिए । चलाउनेलाई एसपी थापाको कोठामा कागज गराएर अधिकृतहरुले छाडेका थिए । त्यसको केही दिनपछि ‘बाजेको सेकुवा रेष्टुरेन्ट’मा बोलाएर आफूलाई पैसा मागिएको जीवनले बयान दिएका छन् ।

Advertisement

Advertisement